Techie IT
बिहीबार, असार ५,२०८२

एमाले जनसंगठनमाथि पार्टीको लगाम, संस्थागत निर्णयबिना कुनै काम नगर्न निर्देशन, पदाधिकारी तहको निर्णय अमान्य


काठमाडौं, असार ५ । नेकपा एमालेले तोकिएको कमिटीबाट संस्थागत निर्णयबिना कुनै पनि काम नगर्न जनसंगठनहरुलाई निर्देशन दिएको छ । बुधवार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकबाट निर्णय गरी प्रमुख भानुभक्त ढकालले सवै जनसंगठनहरुलाई अवदेखि संस्थागत रुपमा निर्णयबिना कुनै पनि काम नगर्न निर्देशन दिनुभएको हो ।

नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले जनसंगठनमा बैठक नै नबस्ने, बैठकको निर्णय पनि उलटफेर गर्ने र महाधिवेशनबाट पारित बिधान समेत आफूखुसी तोडमोड गरेर प्रकाशन गर्ने गरेको पाइएको भन्दै यस्तो कठोर निर्णय लिएको हो ।

 

‘हाम्रा जनसंगठनहरुमा अवदेखि संस्थागत निर्णयबिना कुनै पनि काम नगर्ने निर्णय भएको छ । यही निर्देशन बैठकले जनसंगठनका अध्यक्ष र पदाधिकारीहरुलाई दिइएको छ । अवदेखि सवै जनसंगठनमा संस्थागत निर्णयबिना काम भएको र त्यही आधारमा बिवाद देखियो भने नेतृत्व नै कार्वाहीको भागिदार हुनुपर्छ,’ बैठकको निर्णय सुनाउँदै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका जनसंगठन प्रमुख भानुभक्त ढकालले भन्नुभयो । ढकालका अनुसार जनसंगठनको बेथिती रोक्ने निश्कर्षमा पार्टी पुगेको भन्दै अवदेखि पदाधिकारी तहको निर्णय अमान्य घोषित गरिएको छ ।

कतिपय जनसंगठनमा संस्थागत निर्णय नगरी आफुखुशी कामहरु गर्दै जाँदा केही महिनापछि समस्या आएको अनुभवका आधारमा यस्तो निर्णय लिइएको ढकालले जानकारी दिनुभयो । ‘कुनै जनसंगठनमा अध्यक्ष र महासचिवको मन मिल्ला, कुनैमा अध्यक्ष उपाध्यक्षको मन मिल्ला, कतै अध्यक्ष र सचिवको मन मिल्ला । त्यस्तो बेला अनौपचारिक निर्णय गरेर अवदेखि संगठनका काम नगर्नाेस । मन नमिलेका दिन ती सबै निर्णयले विवाद निम्त्याउछन । त्यसैले जतिसुकै मन मिले पनि नमिलेपनि औपचारिक र तोकिएको कमिटीबाट संस्थागत निर्णय गरेर मात्रै काम गर्नाेस,’ बैठकको निर्णय सुनाउँदै प्रमुख ढकालले भन्नुभयो ।

यसैगरी बैठकले आगामी १५ दिनभित्र महाधिवेशनबाट पारित बिधान, निर्वाचित केन्द्रीय समिति र सवै प्रतिवेदनहरु जस्ताको तस्तै बुझाउन पनि निर्देशन दिएको छ । कतिपय जनसंगठनका पदाधिकारीले मनपरी रुपमा बिधान तोडमोड गरेको र केन्द्रीय समिति पनि महाधिवेशनबाट निर्वाचित भन्दा अर्कै नाम राखेको गुनासो आएकोले यस्तो निर्णय लिनुपरेको प्रमुख ढकालले बताउनु भयो ।

प्रमुख ढकालले कतिपय जनसंगठनमा बस्ने नयाँ वा पुराना पदाधिकारीलाई पनि राजनीतिक र व्यावसायिक प्रशिक्षण नपुगेको महसुष आफूलाई भएको पनि बताउनु भएको छ संगठन कसरी सञ्चालन गर्ने ?, विधि कसरी बनाउने ?, बैठक कसरी सञ्चालन गर्ने ? पार्टीका आधारभुत ज्ञानहरु कसरी प्राप्त गर्ने भन्ने कुरा जनसंगठनका पदाधिकारीलाई जानकारी दिनुपर्ने देखिएको उहाँले बताउनु भयो ।

प्रमुख ढकालले जनसंगठनले पार्टीको ‘चेन अफ कमाण्ड’ पनि बुझ्नु पर्ने, जनसंगठन भन्दामाथि इन्चार्ज हुने, इन्चार्ज भन्दामाथि जनसंगठन संयन्त्र हुन्छ भन्ने कुराको आधारभुत ज्ञान पदाधिकारीलाई राख्न पनि प्रमुख ढकालले निर्देशन दिनुभयो ।

जनवर्गीय संगठनहरुले मुलत पार्टीका गतिविधीलाई ब्यापक बनाउने र पार्टीप्रति आकर्षण गराउने काम गर्नुपर्नेमा त्यो कामतिर ध्यान कम गएकोतर्फ पनि उहाँले सचेत गराउनु भयो ।

जनसंगठनमा आवद्ध भएको कार्यकर्ता उमेर र ज्ञानका हिसाबले पनि सधैं सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो । ‘कतिपय महाधिवेशनमा पद लिने बेलामा भेटिने काम गर्ने बेलामा भेटिदैनन । कतिपयले पद पनि मैले लिने काम पनि मैले गर्ने भन्ने हुन्छ र ? भन्ने जस्ता प्रश्न पनि गर्छन। त्यसैले यस्ता कार्यकर्तालाई प्रशिक्षित गराएर पद लिए बापत अरु भन्दा बढी काम आफूले गर्नुपर्दछ भन्ने भावना विकास गराउन जरुरी छ,’ ढकालले भन्नुभयो ।

एमाले जनसंगठन समन्वय संयन्त्रले गत पुसयता केन्द्रीय महाधिवेशन भएका १६ वटा जनसंगठनका इन्चार्ज, निवर्तमान अध्यक्ष र अध्यक्षसहित २३ वटै जनसंगठनका अध्यक्ष र महासचिवलाई सहभागी गराइ बैठक गरेको हो । बैठकले निर्वतमान अध्यक्षलाई विदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै एकजुट बनेर लाग्नुपर्ने आवश्यकता औल्याउँदै संगठनभित्र मौलाएको बेथिति चिर्न र एमालेलाई एमाले बनाउने जनसंगठनको परिचय बदल्न निर्देशन दिनुभएको थियो ।

‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन । यसले संगठन र पार्टीको बिस्तार हुदैन ।’

‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौं मानिस सडकमा आउथे । अहिले किन मानिसहरु शिथिल भएका छन ? आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन । उनीहरुले यो भूमिका निवार्ह गर्नुपर्दछ,’ एमालेको अनुगमन बिभाग प्रमुखसमेत रहनुभएका उपाध्यक्ष पौडेलको निर्देशन थियो ।

‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन । यसले संगठन र पार्टीको बिस्तार हुदैन ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले जनसंगठनमाथि पार्टीको लगाम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Light Rain with Thunder
5:06 am7:03 pm +0545