Techie IT
मंगलबार, असार ३,२०८२

हर्क साम्पाङकाे श्रमदान एक्सपाेज ! आसेपासेलाई डोर हाजिरी भराएर भुक्तानीका लागि बील पेस


विराटनगर । धरानकाे मेयरमा निर्वाचित भएदेखि हर्क साम्पाङ ब्राण्डिङ गर्दै आएको चिज हो  ‘श्रमदान’ । विकासका काममा आफैँ नेतृत्व गरेर श्रमदान गराएकोमा उनको प्रशंसा हुने गरेको छ । उनीसँग श्रमदानका लागि भन्दै देशका विभिन्न ठाउँ, विदेशीसँगै सेलिब्रेटीसमेत पुग्ने गरेका छन् ।

तर, श्रमदान भनेर प्रचार गरिएको एक आयोजनामा साम्पाङले  उपभोक्ता समितिमार्फत बील पेस गर्न लगाइ डोर हाजिरी फाराम भराएर ज्याला दिएकाे भेटिएकाे छ । प्रक्रियाअनुसार आम भेला गरेर उपभोक्ता समिति गठन गर्नुपर्ने हुन्छ । तर, मेयर साम्पाङले आफू निकट र समर्थकलाई श्रमदानका नाममा बोलाएर उपमहानगरपालिकाबाट ज्याला भुक्तानी गराउने गरेको पाइयाे । ‘श्रमदाता’ भनिएकाहरूको डोर हाजिरी फाराम पनि फेला परेको छ ।

साम्पाङले सर्दु खोला नियन्त्रणका लागि धरान-१६ मा चलाएको श्रमदान अभियानका १५ जनालाई डोर हाजिरी भराई १ लाख ४८ हजार ५ रूपैयाँ भुक्तानीका लागि कार्यालयमा पेस गरेका छन् । तर, अनुगमन समितिका संयोजकसमेत रहेका उपमेयर आइन्द्रविक्रम बेघाले निकासा रोकेपछि विवाद बढेको छ । यही विवादमा सोमबार उपमेयरलाई हर्कका समर्थकले कार्यालयमै हातपात गर्न खोजेका थिए ।

मेयर साम्पाङले धरान १६ को बहुभाषिक विद्यालय संरक्षणका लागि चलाएको श्रमदान अभियानबाहेक धरानमा बनाउने भनिएको साबुन फ्याक्ट्री र बेसार उद्योग सञ्चालनका लागि चलाएको श्रम अभियानमा पनि समर्थकलाई डोर हाजिरी बील पेस गर्न लगाएका थिए । उपमहानगरबाट त्यसको ज्याला निकासा भइसकेको छ ।

कार्यालय स्रोतका अनुसार अधिकांश श्रमदानमा सहभागीमध्ये निकटकाहरूको डोर हाजिरी भर्ने गरिएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले डोर हाजिरीको विषय आफूलाई थाहा नभएको दावी गरे । उनले स्थानीय तहमा विकासे आयोजना सम्पन्न गर्दा उपभोक्ता समिति गठन हुने र उपभोक्ता समितिमार्फत काम गराँउदा डोर हाजिरी गराउनु पर्ने व्यवस्था भए पनि फाइल आफूकहाँ नभएकाले यसै भन्न नसक्ने नेपाल प्रेसलाई बताए ।

लेखा स्रोतले भने योजनामा श्रमदान जुटाउनुपर्ने प्रतिशत बराबरको काम सम्झौता र प्राविधिक मूल्यांकनको आधारमा भुक्तानी दिन मिल्ने बतायो ।

स्रोतले भन्यो, ‘जस्तै १ लाखको योजना छ र २० प्रतिशत श्रमदान भनेको छ भने १ लाख २० हजारको काम देखिनुपर्छ । अनिमात्र १ लाख निकासा दिन मिल्छ ।’

तर, हर्कका समर्थकले भने आफूखुसी उपभोक्ता समिति गठन गरी डोर हाजिरी बनाइ भुक्तानीको दबाब दिँदै बील बुझाउने गरेका हुन् ।

मेयरमा विजयी भएसँगै साम्पाङले खानेपानीको समस्या समाधान गर्ने भन्दै श्रमदान अभियान चलाएका थिए । त्यस्तै धरानका जङ्गलमा बिरुवा रोप्न, साबुन फ्याक्ट्री निर्माण, बेसार उद्योग सञ्चालन, पार्क निर्माणका लागि पनि अभियान चलाए ।

साम्पाङको श्रमदान अभियानलाई भन्दै देश र विदेशबाट लाखौं आर्थिक सहयोगसमेत उठ्ने गरेको छ । त्यो रकमबाट निर्माण सामग्री खरिद गरेको साम्पाङले बताउँदै आएका थिए । डोर हाजिरी गरी भुक्तानी मागेर बील नै पेस भएपछि उनको अभियान प्रचारका लागि मात्रै भएको भन्दै आलोचना बढेको छ ।

मेयर साम्पाङले भने ठूला लागतका आयोजना श्रमदान अभियानका कारण कममा सम्पन्न हुने गरेको दाबी गरेका छन् । आज बिहान भएको पत्रकार सम्मेलनमा उनले श्रमदान अभियानमा पनि उपभोक्ता समिति बन्ने गरेको जिकिर गरे ।

आज दिउँसो फेरि अर्को भिडीमार्फत् साम्पाङले डोर हाजिरीको फोटो फेसबुकमा राखेर विरोधीले अफवाह फैलाएको जिकिर गरेका छन् ।

भिडिओमार्फत् उनले त्यो कागज रेकर्ड राख्नमात्र गरिएको बताएका छन् ।

‘श्रमदान भन्ने, भुक्तानी लिने भन्दै अफवाह फैलाइरहेका छन् केही विरोधीहरू । सम्बन्धित दलकै साथीहरू । यति बराबरको योगदान श्रमदाताले गर्‍यो भन्ने हाम्रो प्रक्रिया हुन्छ । १० लाखको श्रमदान र ७ लाखको तारको जाली किन्यो भन्ने कसरी मूल्यांकन गर्ने त ? त्यसको लागि उठाइएको हो । टिप्पणीमा श्रमदाताले भुक्तानी नलिने भन्ने लेखिएको छ । अरु पनि थुप्रै काम गरेका छौं । यति रकम बराबरको काम श्रमदानबाट गरियो भन्ने रेकर्ड राख्न गरिएको हो । पार्टीगत इगो र बिगार्ने/बिग्रिने खालको काम नगर्नुस् । लेखामा आएर हेर्दा हुन्छ रेकर्ड’, उनको प्रष्टीकरण दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हर्क साम्पाङकाे श्रमदान एक्सपाेज ! आसेपासेलाई डोर हाजिरी भराएर भुक्तानीका लागि बील पेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am7:02 pm +0545