Techie IT
बुधबार, जेठ २२,२०८२

नेपाली कांग्रेस प्रदेश ‘ख’ को दुई दिने भ्रमण , संगठन र एकतामा नयाँ ऊर्जा – सभापति तिमिल्सीना


काठमाडौं, जेठ

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ प्रदेश ‘ख’ को आयोजनामा सम्पन्न दुई दिने अन्तरजिल्ला अवलोकन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मकवानपुरको दामनमा जेठ १५ र १६ गते सम्पन्न उक्त कार्यक्रममा करिब १०० जना कांग्रेसका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

कार्यक्रमका प्रमुख सहभागी तथा प्रदेश ‘ख’ का सभापति विष्णुभक्त तिमिल्सीनाले संगठन निर्माण र आपसी भाइचाराको भावना मजबुत बनाउन यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “संगठन सुदृढीकरण, कार्यकर्ताबीचको सम्बन्ध मजबुत पार्ने र भावी योजनाहरूमा साझा धारणा बनाउन यस्तो प्रकारको अवलोकन भ्रमणले महत्वपूर्ण भूमिका खेल्छ।”

तिमिल्सीनाले पार्टीभित्रको आत्मीयता, संवाद र सहकार्यलाई विस्तार गर्न अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।

भ्रमणमा पूर्व रक्षा मन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता भिमसेनदास प्रधान, बाग्मती प्रदेशका नेता हरिहर अधिकारी, क्षेत्र नं. ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेश ‘ख’ का सभापति विष्णुभक्त तिमिल्सीना, तारकेश्वर नगरपालिकाका मेयर तथा नगर सभापति कृष्ण हरि महर्जन, सचिवद्वय झंकनाथ घिमिरे र सिता घिमिरे, कोषाध्यक्ष विनोद देवकोटा, सह-सचिव हिरालाल महर्जन लगायत पार्टीका विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो।

टोखा र तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, महिला संघका पदाधिकारीहरू, तथा अन्य जनप्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले संगठन भित्रको एकता र आपसी समझदारीलाई थप बलियो बनाएको आयोजकहरूले जनाएका छन्।

औपचारिक कार्यक्रममा नेता भिमसेनदास प्रधानले वर्तमान संविधानबाटै राजसंस्थालाई फर्काउने कुरा गर्न सकिने बताए। तर, संविधानको उल्लंघन गर्दै राजसंस्थाको पुनःस्थापना गर्न खोजिए त्यसविरुद्ध सबै प्रजातान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिकार गर्ने चेतावनी पनि दिनुभयो। उहाँले पूर्व राजकुमारी हिमानीलाई राजनीतिक पार्टी खोलेर दुई-तिहाई बहुमतसहित राजतन्त्र फर्काउने बाटो रोज्न सुझावसमेत दिनुभयो।

त्यस्तै, बाग्मती प्रदेशका नेता हरिहर अधिकारीले मुलुकको रक्षा र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको उल्लेख गर्नुभयो। क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले इमान्दार कार्यकर्ताको उचित मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक यात्रामा धैर्यताको महत्वमा जोड दिनुभयो।

प्रदेश सभापति विष्णुभक्त तिमिल्सीनाले संगठन निर्माण र भाइचाराको भावना बलियो बनाउन यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। सचिवद्वय झंकनाथ घिमिरे र सिता घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रममा मनोरञ्जनात्मक गतिविधिहरूको समेत आयोजना गरिएको थियो। त्यस्तै, जेठ १५ गते परेको तारकेश्वर नगरपालिका वडा नं. ६ का सभापति रबि केसीको जन्मदिन विशेष कार्यक्रमका रूपमा मनाइएको थियो। सहभागीहरूले सभापति केसीलाई शुभकामना व्यक्त गर्दै जन्मदिनको खुसी साटासाट गरेका थिए।

नेपाली कांग्रेस क्षेत्र नं. ६ प्रदेश ‘ख’ कार्यसमिति नेपाली कांग्रेसको विधानअनुसार निर्वाचन प्रोफाइल तयार गर्ने पहिलो समिति हो। सभापति विष्णुभक्त तिमिल्सीनाको नेतृत्वमा गठन भएको कार्यसमितिले निरन्तर प्रशिक्षण, अवलोकन भ्रमण, र संगठन सुदृढीकरणका कार्यक्रम गर्दै आएको छ। काठमाण्डौं उपत्यकासहित बाग्मती प्रदेशमै सक्रिय कार्यसमितिको रूपमा यस क्षेत्रीय इकाईले सशक्त पहिचान बनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस प्रदेश ‘ख’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:06 am6:57 pm +0545