नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा गजेन्द्र थपलिया महासचिवमा डा . दिपेन्द्र श्रेष्ठ , अन्य को को ?

काठमाडौं, जेठ १९ – नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्। हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। परिषद्को ९६ पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी बिपिन कुमार चित्रकारले १०२ मत पाए। सचिव पदमा प्रा.डा. इश्वरी कडरियाले १६१ मत ल्याएर निर्वाचित भइन्, जबकि डा. अर्जुन कुमार सिंहले ९६ मत प्राप्त गरे।
महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल र आर्थिक सचिव कृष्ण कुमार लम्साल भने सर्वसम्मत रूपमा चयन भएका पदाधिकारी हुन्। अध्यक्षमा निर्वाचित भएपछि गजेन्द्र थपलियाले आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताउँदै परिषद्लाई आफ्नो परिवारभन्दा पनि प्रिय रहेको उल्लेख गरे। उनले सबैको साथ, समर्थन र विश्वासप्रति आभार व्यक्त गरे।
निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक जीवनमा प्रभाव पार्ने काम गरेको बताए। अब नेतृत्व परिवर्तनसँगै परिषद्को भूमिका झनै सशक्त र संस्थागत हुनुपर्नेमा उनले जोड दिए। अधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। उनले परिषद्को बौद्धिक भूमिकाको प्रशंसा गर्दै समाजमा सही विचारको नेतृत्व गर्न बुद्धिजीवी वर्ग अग्रपंक्तिमा रहनुपर्ने धारणा व्यक्त गरे। ओलीले “तपाईंहरू बुद्धि बेचेर खाने वर्ग मात्र होइन, समाजलाई मार्गदर्शन गर्ने बौद्धिक वर्ग हो” भन्दै गलत अभ्यासहरूलाई चुनौती दिन आग्रह गरे। साथै, प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको सन्देश दिँदै राजतन्त्र पुनःस्थापनाको प्रस्तावलाई असान्दर्भिक ठहर गरे। “लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बेला राजतन्त्रको कुरा उठाउनु अनुचित हो,” उनले स्पष्ट धारणा राखे।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी वर्गको राष्ट्र निर्माणमा नीति, योजना र चरित्र निर्माणमा महत्त्वपूर्ण योगदान हुने उल्लेख गरे। उनका अनुसार एमालेमाथि चौतर्फी आक्रमण हुनुको कारण पार्टीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढ अडान लिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल बुद्धिजीवी परिषद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्