२५ वर्षपछि थानकोटमा क्षेत्रीय सम्मेलन: जेसीजको रजत जयन्ती अवसरमा सात सयभन्दा बढी युवाको सहभागिता, पर्यटन र नेतृत्व विकासमा नयाँ आयाम

२५ वर्षपछि पहिलोपटक थानकोटमा नेपाल जेसीजको क्षेत्र ‘ग’ सम्मेलन आयोजना हुँदैछ। थानकोट जेसिजले आफ्नो रजत जयन्तीको अवसर पारेर आयोजना गर्न लागेको दुईदिने यो ऐतिहासिक सम्मेलन जेठ १६ र १७ गते (जेसी तालिकाअनुसार असोज १६ र १७) भव्य रूपमा सम्पन्न हुने छ। सम्मेलनले युवा नेतृत्व, सामाजिक उत्तरदायित्व, व्यवसायिक जागरण र चन्द्रागिरिको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
थानकोट जेसिजका अध्यक्ष विराज शाहीका अनुसार, “यो केवल थानकोट जेसिजको कार्यक्रम होइन, समग्र जेसीज समुदाय र चन्द्रागिरि नगरपालिकाको गौरवको विषय हो। सम्मेलनले चन्द्रागिरिको पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्याउनेछ।”
उद्घाटन चन्द्र ढकालबाट, थिम सेमिनारमा विशिष्ट वक्ताहरू
कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्नेछन्। उद्घाटनको दिन थानकोट बजारबाट कोटसम्म शान्ति र्याली आयोजना गरिनेछ। त्यसपछिको औपचारिक समारोह अन्तर्गत ‘थिम सेमिनार’ सञ्चालन हुनेछ।
थिम सेमिनारमा संविधानविद तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य, चर्चित अभिनेता तथा सामाजिक अभियन्ता दीपकराज गिरी, इगभरनेशनका कार्यकारी प्रमुख दिपेश विष्ट लगायत विशिष्ट वक्ताहरूले युवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका विषयमा विचार राख्नेछन्।
पर्यटन भ्रमणदेखि व्यक्तित्व विकास तालिमसम्म
दोस्रो दिन सम्मेलनका सहभागीहरू चन्द्रागिरि क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको भ्रमणमा सहभागी हुनेछन्। दहचोकस्थित कालुपाण्डे समाधिस्थल, चन्द्रागिरि हिस्लस लगायत स्थानहरूको अवलोकनपछि साधारण सभा र संसदीय प्रणालीबाट बैठक सञ्चालन गरिनेछ।
कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता, व्यापार प्रवर्द्धन कार्यक्रम, “समाजमा जेसिज किन?” विषयमा विचार गोष्ठी, र युवालाई लक्षित तालिमहरू सञ्चालन गरिनेछ।
सात सय युवाको सहभागिता, स्मारिका विमोचन र मायाको चिनो वितरण
सम्मेलनमा सात सयभन्दा बढी युवाहरूको सहभागिता रहने बताइएको छ। नेपाल जेसिजका संस्थापक अध्यक्ष सिनेटर नन्ददास अमात्य, राष्ट्रिय अध्यक्ष रजनी थापा, केन्द्रीय पदाधिकारीहरू, क्षेत्रीय र स्थानीय नेताहरूको उपस्थिति रहनेछ।
सम्मेलनको अवसरमा थानकोट जेसिजले ‘शोणितपुर स्मारिका’ विमोचन गर्नेछ भने विभिन्न विजनेस पार्टनरहरूलाई मायाको चिनो प्रदान गरिनेछ। सम्मेलनमा सहभागी आम नागरिकहरूले रु. १५०० तिरेर भिजिटर पास प्राप्त गरी सहभागी हुन सक्नेछन्। जेसिज सदस्यहरूका लागि खाना र आवासको व्यवस्था आयोजकले गर्ने जनाएको छ।
सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट
सम्मेलन निर्देशक तथा थानकोट जेसिजका पूर्व अध्यक्ष मोहनलाल डाँगीले भने, “२५ वर्षपछि थानकोटमा सम्मेलन गर्न पाउनु गौरवको विषय हो। हामी यसलाई नेपाल जेसिजको इतिहासमै स्मरणीय बनाउने गरी तयार भएका छौं।”
त्यस्तै नेपाल जेसिज क्षेत्र ‘ग’ का राष्ट्रिय उपाध्यक्ष कृष्ण सापकोटाले सम्मेलन सबै हिसाबले उत्कृष्ट बनाउने दाबी गर्दै भने, “थानकोट सम्मेलनले युवाहरूको नेतृत्व क्षमता, सामाजिक चेतना र संगठनात्मक अभ्यासमा ऐतिहासिक उदाहरण स्थापित गर्नेछ।”
राष्ट्रिय उपाध्यक्ष संगम कार्कीले पनि कार्यक्रमलाई ‘ऐतिहासिक, सभ्य र भव्य’ बनाउन सबै तहबाट समन्वय र सहयोग भइरहेको जानकारी दिए।
नेपाल जेसिज अन्तर्गत १७८ शाखा क्रियाशील छन् भने थप ६ शाखा प्रस्तावित अवस्थामा छन्। क्षेत्र ‘ग’ मा मात्र काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दोलखा जिल्लामा गरी ३८ शाखाहरू छन्।
चन्द्रागिरि नगरपालिकाको साथ–सहयोग
आयोजकहरूले चन्द्रागिरि नगरपालिकाको समर्थनप्रति आभार प्रकट गर्दै सामाजिक संघ–संस्था र उद्योग व्यवसायीहरूले कार्यक्रमको तयारीमा सहकार्य र साथ दिएको उल्लेख गरेका छन्। आयोजकहरूका अनुसार, “यो सम्मेलन युवामैत्री कार्यक्रम भएकाले चन्द्रागिरि नगरपालिकासँगको सहकार्यले अझ प्रभावकारी नतिजा दिनेछ।”
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्