Techie IT
सोमबार, जेठ २०,२०८२

टोखा-छहरे सुरुङमार्गको प्रवेशविन्दु अवसर, यस्ता छन् नगरपालिकाका प्रमुख प्रगतिहरू


टोखा, काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले आर्थिक वर्ष २०८१/८२ को हालसम्मको प्रगति विवरण सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरेका छन्। टोखा नगरपालिका कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा साविकका झोर महाङकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु गरी पाँचवटा गाविस मिलेर बनेको नगरपालिकाको जनसंख्या १,३३,७५५ रहेको र यस नगरपालिका १७.११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उल्लेख छ ।

उनका अनुसार हालसम्म कुल विनियोजन रकममध्ये ३९.४० प्रतिशत खर्च भइसकेको छ भने आर्थिक वर्षको अन्त्यसम्म खर्चको दर अझै बढ्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’मार्फत १,५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने दीर्घरोग विरुद्धको अभियानमा ८०० जनाले सेवा लिएका छन्। किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप ८,३२७ जनालाई लगाइएको छ। त्यस्तै, ‘गर्भवती सुत्केरी घरभेट कार्यक्रम’ अन्तर्गत ८९० जनालाई पीएनसी जाँच र न्यानो झोला वितरण गरिएको छ।

‘टीबी फ्रि’ अभियानअन्तर्गत ११ वटै वडामा माइक्रोप्लानिङ सम्पन्न गरिएको छ भने ९,१२१ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिएको छ।

सामाजिक सुरक्षातर्फ ३,४६९ जना जेष्ठ नागरिकलाई परिचयपत्र, २२२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। ३९२ जना सामाजिक संस्थाको दर्ता, नवीकरण तथा सिफारिस गरिएको छ भने ११ वटा संस्था र ४१० वटा टोल विकास संस्थाको दर्ता तथा नवीकरण गरिएका छन्।

आर्थिक तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हाटबजार स्थापनादेखि कोशेलीघर निर्माण, रैथाने खाजा महोत्सव, सीप परीक्षणसहितको सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको छ। सडक निर्माण, विस्तार, मर्मत र स्तरोन्नति, यात्रु विश्रामगृह निर्माण, सडक नाली तथा ढल निर्माण, नदी तथा खोला किनाराको कोरिडोर निर्माण, सार्वजनिक जग्गा संरक्षण, साथै सांस्कृतिक सम्पदाको निर्माण, पुनर्निर्माण र जीर्णोद्धार कार्यहरू पनि सम्पन्न गरिएका छन्।

नगरपालिकाका सबै घरहरूमा मेट्रिक स्टेट एड्रेसिङ सिस्टम जडानको प्रक्रिया अघि बढिरहेको छ। सूचीकृत मेलमिलापकर्ताहरूलाई मेलमिलापसम्बन्धी तालिम दिइएको छ भने जिल्ला अदालतको सहकार्यमा न्यायिक पहुँच विस्तार कार्यक्रम, एकीकृत कर अभियान, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यसमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले जानकारी गराए।

टोखा नगरपालिकामा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै उनले राजधानीमा अवस्थित सहरी नगर हुनु, आन्तरिक आम्दानीको उच्च सम्भावना हुनु, टोखा–छहरे सुरुङ मार्गको प्रवेशबिन्दु टोखामा पर्नु, बाह्य चक्रपथले छोएको हुनु र नदी करिडोर निर्माणले यातायात व्यवस्थापनमा सहजता ल्याउनु प्रमुख अवसरका रूपमा रहेको बताए।

त्यस्तै, भू-उपयोग क्षेत्र वर्गीकरण, विपद् संवेदनशील विकास, मुआब्जा वितरण गरी समयमै पूर्वाधार निर्माण गर्नु, कृषियोग्य जमिनको संरक्षण, कृषि उपजमा अत्यधिक विषादी नियन्त्रण गर्नु, सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारीको सुनिश्चितता र सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउनु वर्तमान चुनौतीहरू भएको उल्लेख बिसीको प्रगति विवरणमा गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा-छहरे सुरुङमार्गको प्रवेशविन्दु अवसर, #यस्ता छन् नगरपालिकाका प्रमुख प्रगतिहरू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am6:56 pm +0545