Techie IT
सोमबार, जेठ २०,२०८२

सार्वजनिक सुनुवाईमा ऐतिहासिक प्रतिबद्धता: टोखा मेयरद्वारा जन्मदेखि मृत्युसम्मको सेवा योजनाको घोषणा


काठमाडौं। टोखा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नागरिकहरूका गुनासो, सुझाव तथा सरोकारका विषयमा प्रत्यक्ष संवाद गरेको छ । कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, मैजुँहिटी, टोखा, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा न्युज 24 टेलिभिजनको ‘सिधा कुरा मेयरसँग’ कार्यक्रम पनि प्रत्यक्ष प्रशारण गरिएको थियो, जसले जनप्रतिनिधि र नगरवासीबीचको संवादलाई थप प्रभावकारी बनायो ।

कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीहरूलाई “जन्मदेखि मृत्युसम्म सेवा दिने” प्रतिबद्धता व्यक्त गर्दै, नगरवासीको जन्मदर्तादेखि मृत्युपछि हुने कार्यसम्म नगरपालिकाको सेवा नागरिकको जीवनभर सँगै रहने बताउनु भयाे । उहाँले  ज्येष्ठ नागरिकहरूको समस्या समाधानलाई प्राथमिकतामा राख्ने, महिलाहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिइने, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकास, खेलकुद, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

त्यसैगरी टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले एक उदाहरणीय कदमकाे खुलासा गर्दै आफुले पाउने सवारी सुविधा नलिई, सो बजेटबाट नगरपालिकामा दमकल खरिदका लागि रकम प्रदान गरेको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, “नगरवासीको सुरक्षाका लागि मेरो व्यक्तिगत सुविधा आवश्यक छैन, दमकल प्राथमिकता हो।” कार्यक्रमस्थलमै यो निर्णयले उपस्थित सबैको ताली पाएको थियो ।

कार्यक्रममा वडाध्यक्षहरू, सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख, स्थानीय समाजसेवी, महिला समूह, युवा प्रतिनिधि, पत्रकारहरू लगायतको उल्लेख्य उपस्थिति थियो । यस कार्यक्रममा उपस्थित नागरिकहरूले फोहोरमैला व्यवस्थापन, ढल तथा सडकको समस्या, खानेपानीको अभाव, सुशासन, पारदर्शिता, स्वास्थ्य तथा शिक्षा सेवा सुधार, सरकारी योजनाको पहुँचमा असमानता, लगायतका विविध विषयमा प्रश्नहरू उठाएका थिए ।

टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नागरिकका प्रश्नहरूको तथ्यमा आधारित स्पष्ट जवाफ दिँदै नगरपालिकाले स्रोत साधन सीमित भए पनि दक्षता, पारदर्शिता र प्रविधिको माध्यमबाट सेवा प्रवाहमा सुधार ल्याउन लागिपरेको जानकारी दिनुभयाे । उहाँले आगामी बजेटमा जनप्रतिक्रियामा आधारित योजना प्राथमिकता दिने बताउनु भयाे ।

कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने मात्र होइन, विश्वास र उत्तरदायित्वको संस्कृति विकासमा पनि योगदान पुर्‍याएको सहभागीहरूले बताएका थिए । नागरिक सहभागिता र प्रत्यक्ष संवादमार्फत नीति निर्माणमा योगदान पुगोस् भन्ने उद्देश्यसहित आयोजित यो सार्वजनिक सुनुवाईले स्थानीय शासन प्रणालीलाई अझ जवाफदेही र संवेदनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक सुनुवाईमा ऐतिहासिक प्रतिबद्धता: टोखा मेयरद्वारा जन्मदेखि मृत्युसम्मको सेवा योजनाको घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am6:56 pm +0545