Techie IT
शुक्रबार, असार ६,२०८२

४५ सार्वजनिक संस्थानमध्ये २८ नाफामा हुँदा १५ वटा घाटा, २ वटा बन्द


काठमाडौं । नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कूल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कूल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कूल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव २०८०/८१ मा जम्मा ७ वटा सार्वजनिक संस्थानबाट मात्र लाभांश प्राप्त भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पनि आर्थिक वर्ष २०७९/८० मा जस्तै जनोपयोगी, सेवा र वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको छ भने औद्योगिक, सामाजिक र व्यापारिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन ।

कुल प्राप्त लाभांश मध्ये जनोपयोगी क्षेत्रको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट मात्र ७४.५६ प्रतिशत प्राप्त भएको छ । वित्तीय क्षेत्रका सार्वजनिक संस्थानबाट १ अर्ब ९० करोड ५७ लाख लाभांश प्राप्त हुँदा सेवा क्षेत्रबाट ३४ करोड २२ लाख रुपैयाँ मात्र लाभांश प्राप्त भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #२ वटा बन्द, #४५ सार्वजनिक संस्थानमध्ये २८ नाफामा हुँदा १५ वटा घाटा, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545