१४औं राष्ट्रपति रनिङशिल्डको उपाधि तारकेश्वर नगरपालिकालाई

काठमाडौँ, जेठ १४ गते । काठमाडौं जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ् शिल्ड खेलकुद प्रतियोगिता-२०८२ मा तारकेश्वर नगरपालिकाले सफलता प्राप्त गर्दै उपाधि उचाल्न सफल भएको छ।
तारकेश्वरले कुल ३९ स्वर्ण, २५ रजत र १९ कांस्य पदक सहित फराकिलो अन्तरले टिम च्याम्पियनको उपाधि जित्यो। दोस्रो स्थानमा गोकर्णेश्वर नगरपालिका १३ स्वर्ण, ८ रजत र १० कांस्य पदकसहित रहँदा तेस्रो स्थान चन्द्रागिरि नगरपालिकाले ६ स्वर्ण, १४ रजत र २५ कांस्यसहित हात पारेको छ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिता यही जेठ ९ गतेदेखि सुरु भई तारकेश्वर नगरपालिकाकी उप-प्रमुख सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा समापन भएको हो।
छ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो।
समापन समारोहमा प्रमुख अतिथि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी रहेका थिए। साथै नगरपालिकाका शिक्षा प्रमुख पदम खत्री, प्रतियोगिता संयोजक राजेन्द्र तिमिल्सिना, विभिन्न विधाका संयोजकहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, प्रशिक्षक, खेलाडी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
१३औं संस्करणमा पनि च्याम्पियन बनेको तारकेश्वरले यसपटक पुनः आफ्नो उत्कृष्टता दोहोर्याउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो।
उप–प्रमुख बुर्लाकोटीले विजेता खेलाडीहरूलाई बधाई दिँदै अबको १५औं संस्करणका लागि पनि अहिलेदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले सबै खेल संयोजक, प्रशिक्षक, विद्यालय, अभिभावक र नगरबासीहरूको योगदानले नै तारकेश्वरलाई यो सफलतासम्म पुर्याएको बताउनुभयो।
कार्यव्यस्तताका कारण समापन समारोहमा उपस्थित हुन नसकेका नगर प्रमुख कृष्णहरि महर्जनले सामाजिक सञ्जालमार्फत समस्त विजयी खेलाडी, प्रशिक्षक, संयोजक तथा नगरवासीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ।
नगर प्रमुख कृष्ण हरि महर्जनको फेसबुक स्टाटस:
‘हार्दिक बधाई!!!
तारकेश्वर नगरपालिकालाई काठमाडौं जिल्ला कै प्रथम स्थान ल्याउन अविरल खटिनु हुने महानुभावज्यूहरू र खेलमा सहभागी खेलाडी भाइबहिनीहरूमा हार्दिक बधाई एवम् शुभकामना !!!
तारकेश्वर नगरपालिका १४औं राष्ट्रपति रनिङ् शिल्डमा प्रथम हुनु एक नगरवासीका लागि प्रतिष्ठा र गर्वको विषय हो। हाम्रो समाजमा अझै पनि पूर्वाधारलाई मात्र विकास र परिवर्तनको रूपमा लिने चलन छ, तर आज यस नगरपालिकाले सम्पूर्ण खेलकुद जगतमा प्रथम हुने उपलब्धि हासिल गरेको छ।
यसमा सक्रिय भूमिका निर्वाह गर्नुहुने जनप्रतिनिधि ज्यू, कर्मचारी, खेलकुद समिति, खेल संयोजक, विधागत खेल संयोजक तथा प्रशिक्षक, खेलमा सहभागिता जनाउने र उत्कृष्ट खेल प्रस्तुति गर्नुहुने खेलाडी भाइबहिनीहरू तथा खेलमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हौसला प्रदान गर्नुहुने महानुभावज्यूहरूको समर्पण र सहभागिता कारण यो परिणाम निस्किएको हो।
बिजेता खेलाडी तथा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हृदयदेखि बधाई छ।’
क्याटेगोरी : समाचार
ट्याग : #१४औं राष्ट्रपति रनिङशिल्डको उपाधि तारकेश्वर नगरपालिकालाई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्