Techie IT
शुक्रबार, असार ६,२०८२

इटहरीका मेयरको सवारी खरिद मोह- रित्तै गुड्छन् नगर बस, हेभी गाडी पनि थन्किए


विराटनगर । श्रोत अनुमानलाई बेवास्ता गर्दै वर्षेनि घाटाको बजेट बनाएको इटहरी उपमहानगरपालिकाले ३ वर्षमा १२ करोड रूपैयाँको सवारीसाधन खरिद गरेको छ । यीमध्ये अधिकांश हेभि सवारी छन् ।

उपमहानगरले इन्फास्ट्रक्चर एम्बुलेन्स सञ्चालन गर्ने नाममा महँगो मूल्यमा मिनी ट्रिपर, भ्राइबेटर रोलर, मोटर गार्डर र रोड वासर किनेको छ । यस्तै उपमहानगर आफैँले सञ्चालन गर्न ४ वटा नगर बस खरिद गरिएको छ ।

विभिन्न योजनाका उपभोक्ताले अघिल्लो वर्षमा काम गरेको भुक्नानी नपाइरहेको अवस्थामा जनता क्याम्पसलाई बस अनुदान पनि दिइएको छ । पब्लिक क्याम्पसलाई बस अनुदान दिएको विषयमा उपमहानगरले आलोचनासमेत खेपिरहेका छन् । एउटा दमकल, २ वटा शव बहान, हिडेक ट्रक, ए ग्रेडका एम्बुलेन्स पनि यही समयमा किनिएको छ ।

उपमहानगरले किनेका प्रयोगविहीन विद्युतीय नगर बस ।

एउटा ट्रक नगर प्रहरीले प्रयोग आएको छ । रोड वासरलाई बेलाबेला सडक छेउका बिरुवामा पानी हाल्न प्रयोगमा ल्याउने गरिएको उपमहानगरका अधिकारी बताउँछन् ।

पूर्वाधार निर्माणसँग सम्बन्धित सवारीसाधन ग्यारेजमै थन्किएका छन् । ती सवारी आक्कल झुक्कलमात्र प्रयोगमा ल्याइन्छ । नगरपालिका परिसरमा अधिकांश समय थन्क्याएर राखिने यी समान खरिदको औचित्य पुष्टि नभएको भन्दै विरोध भइरहेको छ ।

रोलर प्रयोगमा नआएपछि केही मेयर हेमकर्ण पौडेलले भाडामा लगाउने तयारी गरेका थिए । तर, वडाअध्यक्षहरूले विरोध गरेपछि भाडामा यो कार्य रोकियो । वडा नम्बर १६ का अध्यक्ष तेजु चौधरीलगायतले भाडामा लगाउन नहुने भन्दै चर्को विरोध गरेका थिए ।

के हो इन्फास्ट्रक्चर एम्बुलेन्स ?

मेयर पौडेलेले चुनावी घोषणापत्रमै तत्काल सडकको मर्मत सम्भारका लागि ‘इन्फास्ट्रक्चर एम्बुलेन्स’ किन्ने उल्लेख गरेका थिए । यही उद्देश्यका लागि भनी २३ लाख ७८ हजार ९९९ रूपैयाँमा मिनी ट्रिपर किनियो । ५४ लाख ५० लाख रूपैयाँमा सिङ्गल ड्रम भाइब्रेट रोलर, ९३ लाख ९९ हजार ९९९ रूपैयाँमा मोटर गार्डर, ६६ लाख ५० हजार रूपैयाँमा रोड वासर पनि खरिद गरियो ।

इन्फास्ट्रक्चर एम्बुलेन्स लामो समय सञ्चालनमा आउन नसकेको पौडेल स्वीकार्छन् ।  यसमा वडाअध्यक्षहरूको विरोध कारण देखाउँछन् उनी । ‘अहिले हामीले चलाउन थालेका छौं । हामीसँग रोडमा समस्या आयो भने मर्मत गर्नका लागि इन्जिनियरसहितको टोली तयारी अवस्थामा रहन्छ’, मेयर पौडेलले नेपाल प्रेससँग भने ।

रित्तै गुड्दै छ नगर बस

६ करोड ३६ लाख ८६ हजार ८ सय रूपैयाँमा किनिएका ४ वटा विद्युतीय बस अहिले इटहरीका सडकमा रित्तै गुडिरहेको छ । अव्यवहारिक रुट साथै दिनभरमा १/२ पटक आउने भएकाले यात्रुहरू सफारी नै प्रयोग गर्छन् । यात्रुविनै गुडिरहेको बसको सञ्चालन खर्च भने कार्यालयले व्यहोरिरहेको छ ।

राष्ट्रिय जागृति माविलाई पनि बस दिने गरी खरिद प्रक्रिया अघि बढेकोमा शिक्षा मन्त्रालयबाट स्वीकृति यो रोकिएको छ । ३१ लाख ५० हजार रूपैयाँका दरले दुई वटा शव बहान किनेको छ । ती शव बहान भने सञ्चालनमा छन् । इटहरी नगर अस्पताललाई दिइएको ८३ लाख रूपैयाँका २ वटा एम्बुलेन्स पनि सञ्चालनमा छन् ।

अहिले इटहरी उपमहानगरमा साना-ठूला ३१ वटा सवारीसाधन छन् । त्यसका लागि ३१ जना चालकलाई नियुक्ति गरिएको छ । तीमध्ये १४ जना हेभी सवारी चालक रहेका छन् । सवारी निमित नभए पनि उनीहरूको तलबभत्ता र सुविधामा लाखौं खर्च हुँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इटहरीका मेयरको सवारी खरिद मोह- रित्तै गुड्छन् नगर बस, #हेभी गाडी पनि थन्किए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545