Techie IT
मंगलबार, वैशाख २३,२०८२

एमाले धनुषाको अधिवेशन तनावग्रस्त, बाक्लो संख्यामा प्रहरी परिचालन


जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ अधिवेशनमा दुई समूहबीच कुटाकुट भएपछि अधिवेशनस्थल जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।

विधान विपरीत उम्मेदवारी परेको विषयमा विवाद भएपछि दुई समूहबीच कुटाकुट भएको हो । कुटाकुटको क्रममा कुर्सी हानाहान समेत भयो । त्यसपछि दुवै समूह प्रदर्शनमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको छ ।

तनावपछि अहिले निधि भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । निधि भवन परिसर र सभा हलमा करिब सयौँको संख्यामा प्रहरी परिचालन भएको देखिन्छ ।

 

मधेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’ समूहले विधान विपरीत परेको उम्मेदवारी खारेज गर्नुपर्ने भन्दै निर्वाचन समितिमा उजुरी दिएको थियो । तर एमाले सचिव रघुवीर समूहले खारेज गर्न नहुने अडान लिएका छन् ।

अहिले निधी भवनको सभा हलमा मण्डल, अरगरिया र झा समूहका अधिवेशन प्रतिनिधिहरू धर्ना बसेका छन् । धाँधलीरहित निष्पक्ष र शान्तिपूर्ण ढङ्गले निर्वाचन हुनुपर्ने अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

निधि भवन बाहिर भने रघुवीर समूहका अधिवेशन प्रतिनिधिहरू प्रदर्शन गरिरहेका छन् । एक नेताका अनुसार अहिले दुवै पक्षका नेताहरू आपसमा बसेर विवाद समाधान गर्ने वातावरण बनेको छ । सम्भवतः आज मतदान स्थगित हुनेछ ।

बिहान ८ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय निर्वाचन समितिले तोकेको थियो । तयारी नपुगेको भन्दै बिहान १० बजेबाट मतदान सुरु हुने भनियो । तर उम्मेदवारमा विवाद भएर कुटाकुट भएपछि अब मतदान प्रक्रिया अनिश्चित बनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले धनुषाको अधिवेशन तनावग्रस्त, #बाक्लो संख्यामा प्रहरी परिचालन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545