Techie IT
आईतबार, वैशाख २१,२०८२

सुमनाले एक महिनाअघि दिएको राजीनामा न स्वीकृत, न अस्वीकृत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामाबारे पार्टी नेतृत्व अनिर्णीत बनेको छ । एक महिना अगाडि नै उनले सभापति रवि लामिछानेलाई बुझाएको राजीनामालाई स्वीकृत र अस्वीकृत दुवै गरिएको छैन ।

केही समययता सभापतिप्रति असन्तुष्ट बन्दै आएकी सुमनाले ‘एक व्यक्ति एक पद’ को हवाला दिँदै सहमहान्त्री पद त्यागेकी थिइन् । रवि लामिछाने पार्टी सभापतिका रूपमा पुन सक्रिय भएकै दिन चैत १७ गते उनले राजीनामा बुझाएकी हुन् । तर, दुवै पक्षको सहमतिमा यो विषयलाई ‘होल्ड’ मा राखिएको थियो ।

राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि नबढ्दै सभापति लामिछाने चैत २२ गते उच्च अदालतको आदेशमा पुन पक्राउ परे । अहिले उनी भैरहवा कारागारमा छन् । रवि कारागार गएको १५ दिनपछि मिडियामा सुमनाको राजीनामाको समाचार लिक भयो । रास्वपामै सुमनासँग इगोको लडाइँमा रहेकी एक नेतृले यो खबर बाहिर ल्याइदिएकी थिइन् । र, त्यही दिन सुमनाले पार्टीको म्यासेन्जर ग्रुपमा आफ्नो राजीनामा नै हालिदिइन् ।

 

राजीनामा पत्रमा सुमनाले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न आफू सहमहामन्त्रीबाट अलग हुन चाहेको बताए पनि आफ्ना असन्तुष्टिहरू लुकाउन सकेकी छैनन् । उनले पदाधिकारी भएर पनि पार्टीको निर्णय बाहिरबाट थाहा पाउनु परेको गुनासो गरेकी थिइन् । साथै, जनताले रास्वपाबाट धेरै आशा राखेको भए पनि पार्टीले डेलिभरी दिन सक्ने क्षमता शून्य भएको उनको राजीनामा पत्रमा उल्लेख छ ।

सुमनाको मुख्य असन्तुष्टि चाहिँ सभापतिले पक्राउ परेपछि पार्टीबाट अलग नभएको भन्ने थियो । उनले सहमहामन्त्रीबाट राजीनामा दिएर सहानुभूति बटुल्ने ध्येय राखे पनि त्यो सार्थक भएन । बरु उल्टै कठिन समयमा सभापतिको साथ छोडेर अर्को ओत खोज्न थालेको आरोप लाग्यो । त्यसपछि सुमना अहिले केही ‘सफ्ट’ भएको स्रोत बताउँछ । यद्यपि, उनी राजीनामाबाट पछि हटेकी भने छैनन् ।

उनीसँग निकट एक नेताले भने, ‘पार्टीले उहाँको राजीनामा स्वीकृत गरेको छैन र उहाँले पनि यसका लागि ताकेता गर्नुभएको छैन । तर यसको अर्थ उहाँ निर्णयबाट पछि हट्नुभएको चाहिँ होइन ।’

रास्वपाले किन एक महिनासम्म राजीनामा स्वीकृत गरेन भन्ने प्रश्न छ । रास्वपामा अहिले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले सम्हालिरहेका छन् । सभापतिको अनुपस्थितिमा उनका सबै जिम्मेवारी र अधिकार कार्यवाहक सभापतिमा सर्ने रास्वपाको विधानमा छ । त्यसैले विधानतः डीपीले नै राजीनामा स्वीकृत गर्न सक्छन् । तर, उनले यसमा कुनै निर्णय लिएका छैनन् ।

राजीनामा स्वीकृत गरेपछि अर्को सहमहामन्त्री बनाउनुपर्ने हुन्छ । त्यसमा फेरि नयाँ आकांक्षीहरु जन्मिने र अनावश्यक प्रतिस्पर्धा हुने भएकाले कार्यवाहक सभापतिले निर्णय नलिएको हुन सक्ने एक नेताको भनाइ छ ।

‘राजीनामा स्वीकृत गर्न प्रक्रियागत समस्या छैन । सभापति अनुपस्थित रहेको अवस्थामा अर्को सहमहामन्त्री बनाउन सकस हुने भएकाले निर्णय नलिनुभएको हो कि रु’ उनले भने ।

कार्यवाहक सभापति निकट स्रोतले भने सुमना अहिले संसदीय भूमिकामा सक्रिय हुनु परेकाले उनीसँग बसेर छलफल हुन नसकेको बतायो ।

स्रोतले भन्यो, ‘राजीनामा स्वीकृत गर्नुभन्दा अगाडि राजीनामा दिने व्यक्तिसँग बसेर छलफल गर्ने हाम्रो अभ्यास हो । अहिले उहाँ संसदीय भूमिकामा केन्द्रित हुनु परेको र कार्यवाहक सभापति पनि व्यस्त हुनुभएकाले छलफल हुन सकेको छैन । त्यही भएर ढिलाइ भएको मात्र हो । छलफल भएपछि टुंगोमा पुग्छ ।’

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने आन्तरिक समझदारीअनुसार नै सुमनाको राजीनामा आएको र यो विषय जटिल नरहेको बताए । सुमना अहिलेसम्म पार्टीको सहमहामन्त्रीको भूमिकामा नै सक्रिय रहेको उनको दाबी छ ।

‘उहाँको राजीनामा विचाराधीन अवस्थामा नै छ । उहाँ सहमहामन्त्रीको भूमिकाबाट अहिलेसम्म अलग हुनुभएको छैन । सरकारी पद हुन्थ्यो भने उहाँले राजीनामा गरेपछि तत्कालीन निर्णय लिइहाल्नुपर्थ्यो । त्यस्तो अवस्था होइन ।

हामीले छलफल गर्न बाँकी रहेकाले काम गर्दै गर्नुस् भनेका छौँ । उहाँ आजको दिनसम्म सहमहामन्त्रीकै रूपमा काम गरिरहनुभएकै छ । उहाँको फोकस चाहिँ पार्टीभन्दा संसद नै हो । त्यहीरुपमा क्रियाशील हुनुहुन्छ । राजीनामा स्वीकृत वा अस्वीकृत गर्ने विषय अहिले प्राथमिकतामा नै छैन,’ बुर्लाकोटीले भने ।

आपसी सल्लाहमा राजीनामा फिर्ता हुन सक्ने पनि उनले बताएका छन् । ‘(राजीनामा फिर्ता) हुन सक्छ । सल्लाहमा यसो गरौँ न भनेपछि त्यही अनुसार जाने त हो । यो नभए पनि उहाँले अर्को जिम्मेवारी लिएर काम गरिराख्नु हुन्छ नि,’ उनले भने ।

बुर्लाकोटीको यो दाबी विपरीत रास्वपा स्रोतले भने सुमना पार्टीको काममा सक्रिय नरहेको बतायो । ‘उहाँ पार्टीभित्र अहिले सक्रिय देखिनुभएको छैन । सांसदको भूमिकामा भने पहिलेजस्तै प्रभावशाली रूपमा नै हुनुहुन्छ,’ स्रोतले भन्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #न अस्वीकृत, #सुमनाले एक महिनाअघि दिएको राजीनामा न स्वीकृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545