Techie IT
आईतबार, असार ८,२०८२

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल


दाङ,  जेठ ६ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताउनुभयो । “यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेप बिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो”, उहाँले भन्नुभयो, “यो प्रयासमा चित्त नबुझ्नेहरू अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन् ।”

साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उहाँले जानकारी दिनुभयो । विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको उहाँले बताउनुभयो । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उहाँको भनाइ छ ।

संसद्मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उहाँको धारणा छ । “आफूमाथि लागेको आरोपका विषयमा संसद्मा बोल्न पाउनुपर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, सङ्घर्ष भएको हो”, उहाँले भन्नुभयो, “एउटा पार्टीको सभापतिले म माथि लागेको आरोपलाई संसद्मा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु उचित होइन ।”

नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथि अतिक्रमण मुख्य समस्या रहेको उहाँको भनाइ छ । नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उहाँले बताउनुभयो । अब नेपालमा व्यवसायी गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ ।   उहाँले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #महासचिव पोख्रेल, #विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ :


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:07 am7:03 pm +0545