Techie IT
बिहीबार, वैशाख २५,२०८२

बुवाकाे दाहसंस्कार गरेर फर्किँदै गरेका छाेरा त्रिशुलीमा खसेर बेपत्ता, ५ आफन्तकाे मृत्यु


आज त्रिशुलीमा खसेकाे ट्याक्सीमा सवार ६ जना  आफ्ना परिवारका सदस्यकाे दाहसंस्कार गरी फर्किँदै गरेकाे खुलेको छ । क्यान्सर राेगले मृत्यु भएका शंकर राेकाकाे दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेकाे ट्याक्सी त्रिशुलीमा खसेकाे हाे ।

शुक्रबार काठमाडौँ पशुपतिमा शंकरकाे दाहसंस्कार गरिएकाे थियाे । उनकाे परिवारका ६ जना आज त्रिशुलीमा खसेकाे गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सीमा शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए । त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए ।

हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।

मृतकमध्ये जुनमायाको परिवार गोरखा नगरपालिकाको वडा नम्बर ४ मा बस्छन् । जुनमायाको श्रीमान पहिल्यै बितिसकेका छन् । हरिमायाको घर गोरखाकै ७ नम्बर वडा हो भने कान्छी छोरी अञ्जनाको घर गोरखाकै वडा नम्बर १४ मा रहेको वडा नम्बर ४ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शंकरका आफन्त काठमाडौँबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दाहसंस्कार गरेर फर्किँदै गरेका छाेरा त्रिशुलीमा खसेर बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:17 am6:42 pm +0545