एमाले बैठकमा पिरामिड शैलीको जनवादी अभ्यास, केन्द्रीय सदस्यका सुझाव लिखित अभिलेख बन्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यसपटक विगतको भन्दा फरक शैलीमा जनवादी अभ्यास भएको छ ।
विगतमा एमाले बैठकमा अध्यक्ष र महासचिवले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेपछि सदस्यहरूले त्यसमा आफ्ना केही सुझाव वा विमति भए राख्ने प्रचलन थियो । ती प्रतिवेदनमा समस्या र समाधान दुवै नेतृत्वले नै उल्लेख गरेको हुन्थ्यो ।
औपचारिकताका लागि परिमार्जनसहित प्रतिवेदन पारित भएको भनेर बैठक सकिने गरेकोमा यस पटक फरक शैलीको प्रयोग भएको हो । यो बैठकमा नेतृत्वले पार्टीभित्र देखिएका सांगठनिक,वैचारिक र आचरणलगायतका समस्या प्रस्तुत गरेको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले फरक फरक प्रस्ताव पेश गर्दै समस्या समाधानको लागि राय सुझाव केन्द्रीय सदस्यबाट मागेका छन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्य यज्ञराज सुनुवारले विगतमा नेताका प्रतिवेदन पढेर सदस्यले सुझाव दिन्थे । यस पटक भने नेताले समस्या चित्रण गरेर,त्यसको समाधान के हुन्छ भनी केन्द्रीय सदस्यलाई गृहकार्य नै दिएका छन् ।
सुनुवारले भने- हाम्रो पार्टीमा यस पटक फरक ढंगले पूर्ण लोकतान्त्रिक जनवादी अभ्यास भएको छ । नेतृत्वले पार्टी जीवनमा देखिएका समस्या प्रस्तुत गरेको छ । तलबाट सदस्यहरूले ती समस्याको समाधान कसरी गर्ने भन्ने राय सुझाव दिएका छन् । व्यक्तिगत र सामूहिक सुझावहरूले पार्टीमा उन्नत लोकतन्त्रको अभ्यास समेत भएको छ ।
केन्द्रीय सदस्यहरूलाई ९ वटा समूहमा विभाजन गरेर २ दिनसम्म छलफल भएको छ । आजको बैठकमा ९ वटै टोलीका नेताहरूले सदस्यहरूबाट प्राप्त सुझाव प्रतिनिधिमूलक ढंगले राख्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।
अझ रोचक चाहिँ के पनि छ भने, यस पटक एमालेले केन्द्रीय कमिटीका सबै सदस्यबाट लिखित धारणा समेत मागेको छ । समूहगत छलफलमा आफ्नो राय सुझाव राखेका सदस्यहरूले त्यसलाई लिखितरुपमा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।
एमाले संगठन विभागका सचिव समेत रहेका नेता माधव ढुंगेलका अनुसार प्रत्येक सदस्यका लिखित सुझावहरूलाई केन्द्रीय कार्यालयको टिम र सचिवालयले अध्ययन गरेर सबैको सुझाव समेटिएका प्रतिवेदन तयार हुनेछन् । ती प्रतिवेदन स्थायी कमिटी बैठकमा लगेर पारित गरिने ढुंगेलले बताए ।
के छन् साझा सुझाव ?
केन्द्रीय कमिटीमा छलफलका क्रममा पार्टीभित्र नीति र मूल नेतृत्वमा समस्या नभए पनि सांगठनिक अराजकता र नेता कार्यकर्ताको अनि कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर बन्दै गएको आम धारणा आएको सुनुवारले बताए ।
उनले भने- हाम्रो नीति सिद्धान्त मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादमा कुनै विमति छैन । पार्टीको मूल नेतृत्व केपी शर्मा ओलीलाई मान्ने र उहाँले सही नेतृत्व दिनुभएको छ भन्नेमा पनि कसैको फरक मत छैन । तर जिल्ला अधिवेशनहरूमा देखिएको अराजकता,अनुशासनहीनता र अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई राम्रो गरेन भन्ने धारणा नै आएको छ । यसका साथै नेता र कार्यकर्ता अनि कार्यकर्ता र जनताबीचको सम्बन्धमा पनि समस्या देखिएको छ ।
पार्टी अधिवेशनहरूमा देखिएका अस्वस्थ प्यानलबन्दी, जनसंगठनहरुमा देखिएको अराजकता र नेता कार्यकर्तामा आर्थिक तथा सांस्कृतिक मामिलामा भएका विचलनप्रति निर्मम बन्नुपर्ने सुझाव सबै समूहमा आएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्