Techie IT
बिहीबार, वैशाख २५,२०८२

गठबन्धन सरकारको कारण मुलुक फ्रस्टेसनको जञ्जालमा फस्दै, असफल राष्ट्र बन्दै : आनन्द पोखरेल


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले अहिले समाजको सबैभन्दा ठुलो चुनौती निराशको भएको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले त्यो निराशा र फ्रस्टेसन हरेक व्यक्तिमा भएको बताउनुभयो । ‘सिङ्गो मुलुक फ्रस्टेसनको जञ्जाल भित्र फस्दै छ, यो नैराश्यता चिर्न सकिएन भने मुलुक बचाउन सकिँदैन, मुलुक असफल राष्ट्रतिर जान्छ’, उहाँले भन्नुभयो ।

आज मुलुक हरेक क्षेत्रमा असफलतातर्फ अघि बढेको उहाँले बताउनुभयो । अहिले मुलुक आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक सम्बन्ध, युवा परिचालन, जीविकोपार्जन, सामाजिक न्याय, सुशासन, सुरक्षा हरेक क्षेत्रमा असफल भएको पोखरेलको भनाइ छ । यही असफलताको कारण मानिस निराशाको स्थितिमा भएको उहाँले बताउनुभयो । ‘वर्तमान सरकारले जनता र राष्ट्रलाई आशा जगाउन सकेको छैन’, पोखरेलले भन्नुभयो ।

जनतालाई आशा जगाउने काम नेकपा एमाले बाहेक अरू कसैले पनि गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । पोखरेलले भन्नुभयो–‘नेकपा एमालेले मात्र आशा जगाउन सक्छ, अरू कसैले सक्दैन, यो कुरा प्रमाणित भइसकेको छ ।’

गठबन्धन सरकारले एक वर्ष होइन यस अघिको कार्यकाललाई समेत जोड्दा तीन वर्ष पूरा भइसकेको उहाँले बताउनुभयो । तीन वर्षमा गठबन्धनले गरेका सबै काम नकारात्मक भएको उहाँले टिप्पणी गर्नुभयो । गठबन्धनको एउटै धेय एमाले र केपी ओलीलाई विस्थापन गर्ने र देशका निराशा र अस्थिरता फैलाउनु भएको पोखरेलले बताउनुभयो । वर्तमान गठबन्धन सरकार विदेशीले बनाएको र त्यो केवल विदेशीको गोटी बन्ने उहाँले प्रष्ट पार्नुभयो ।

यसलाई थेग्न अब युवा परिचालन नगरी सम्भव नभएको उहाँले बताउनुभयो । त्यसैको लागि नेकपा एमाले काठमाडौंले युवा महोत्सव आयोजना गर्न लागेको पोखरेलले प्रष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा पोखरेलले एमालेका नेता, कार्यकर्ताको पार्टी प्रतिको लगनशीलता, समर्पण, क्रियाशीलता र प्रतिबद्धता बढ्दै गएको बताउनुभयो । एमालेका नेता कार्यकर्ताहरू आ–आफ्नो क्षेत्रमा समर्पण भावका साथ खट्नु भएको बताउनुभयो । यो क्रियाशीलतालाई अझ वृहत् रूपले अघि बढाउनु पर्ने आवश्यकता पोखरेलले औँल्याउनुभयो । त्यसो गर्न नसके मिसन २०८४ पूरा गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।

पार्टीमा युवा परिचालन र युवाको नेतृत्व विकास महत्पूर्ण कुरा भएको बताउँदै पोखरेलले त्यसमा ध्यान दिन पार्टी कमिटीलाई आग्रह गर्नुभयो । ‘युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन आवश्यक छ’, उहाँले भन्नुभयो ।

एमालेले हरेक दिन गर्ने काम ऐतिहासिक काम हुने पोखरेलले बताउनुभयो । एमालेले लिने हरेक निर्णय र एमालेले गर्ने हरेक काम ऐतिहासिक बन्ने उहाँले प्रष्ट पार्नुभयो । ‘हामीले एक दिन गरेको कामले यो मुलुक ब्युँझने छ’, पोखरेलले भन्नुभयो ।

अहिले मानिसलाई कम्युनिष्ट पार्टी र मार्सवाद प्रति विश्वास छैन, एमालेको नीति र कार्यक्रम प्रति तालमेल छैन, एमाले र युवा बिच तालमेल छैन भनि छरिएको भ्रमलाई चिर्न आवश्यक रहेको पोखरेलले बताउनुभयो । जबसम्म पार्टी युवाको बिचमा पुग्दैन तबसम्म त्यो भ्रम चिर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । ‘युवाको बिचमा जानै पर्छ, जहाँ युवा छन्, युवा परिचालन गर्नै पर्छ, जहाँ युवाहरू छन्’, उहाँले भन्नुभयो ।

 

सोही अवसरमा एमाले काठमाडौ जिल्ला कमिटिका अध्यक्ष दीपक निरौललो फागुन ५ गते शिवपुरी स्थीत धाप डुयाम बिशेष कार्यक्रम र माघ २० गते टुँडीखेलमा हुने युवा महोत्सवका बारे बताउनुभएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आनन्द पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545