विपन्नका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

२१ मङ्सिर, जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ ।
नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ ।
नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’को योजना ल्याइएको बताए ।
नेपाल सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका, आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनको भनाइ छ ।
मनरा शिसवा नगरपालिकाले ११औं नगरसभाबाट नगरक्षेत्रका इच्छुक, उमेर पुगेका, गरिब तथा विपन्न परिवारका बरबधुलाई सामूहिक विवाह सम्बन्धी योजना नै पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए ।
मङ्सिर महिनाभित्र नगरपालिकाको प्रत्येक (१० वटै) वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन अभियान चलाइएको चौधरीले बताए ।
निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एक्कैचोटी एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए ।
तराई–मधेशमा दाईजो प्रथाले जरो गाडेकाले न्यून आय भएका, आर्थिक रुपमा कमजोर, तथा विपन्न परिवारले छोराछोरीको विवाह गर्न सक्षम नभएको गुनासो आएपछि पालिकाको नगरसभा बैठकबाट सामूहिक विवाहसम्बन्धी योजना पारित गरिएको प्रमुख पाण्डेयको भनाइ थियो ।
उनका अनुसार यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ ।
नगरपालिकाले विवाह गर्ने दुलही (केटी) अनिवार्य रुपमा यही नगरपालिका क्षेत्रभित्रको हुनुपर्ने शर्त राखिएको जनाउँदै विशेष गरी नगरक्षेत्रभित्रका केटीलाई लक्षित गरी यो कार्यक्रममा ल्याइएको नगर प्रमुख पाण्डेयले बताए । उनले पहिलो पटक नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै यसले सकारात्मक सन्देश दिए प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्