Techie IT
शनिबार, असार ७,२०८२

वाणिज्य बैंकको सेयरबाट कसरी लिने लाभ ?


काठमाडौं : बैंकहरूले धमाधम लाभांश प्रस्ताव सार्वजनिक गर्न थालेका छन्। सेयर लगानीकर्तालाई आकर्षण गर्ने यो एउटा महत्त्पूर्ण इन्डिकेटर हो। आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश प्रस्ताव घोषणा सुरु गर्न थालेका हुन्। जसमा एनआईसी एसिया बैंकले ३०, माछापुच्छ्रेले १४, एभरेस्टले २०.५३, सानिमाले १४.७० र सिटिजन्स बैंक इन्टरनेसनले ५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गरिसकेका छन्। यसबाहेकका बैंक पनि पाइप लाइनमा छन्।

वाणिज्य बैंकको सेयरमा लगानी गर्दा आकर्षक लाभांशमात्रै होइन अन्य वित्तिय परिसूचकहरूबारे जानकार भएर कारोबार गर्न जरुरी भएको सेयर जानकारहरू सुझाव दिन्छन्। कम्पनीको वित्तीय स्थिति अर्थात् सम्बन्धित कम्पनीको अधिकृत पूँजी, चुक्ता पूँजी, नेटवर्थ, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी (ईपीएस), रिटर्न अन् इक्विटी (आरओआई), पीई रेसियोलगायतलाई बढी विश्लेषण गरेर सेयर किन्नु उपयुक्त हुन्छ। यससँगै, ऋण व्यवस्थापन, मुनाफाको स्थिति, आम्दानीको स्रोत, खुद नाफा/नोक्सान, प्रतिसेयर आम्दानी, सञ्चित नाफा, जगेडा कोषहरू, वास्तविक सम्पत्ति, खर्च व्यवस्थापन, कर्मचारीको उत्पादकत्वजस्ता विभिन्न वित्तीय परिसूचकबारे जानकारी लिन पनि सेयर जानकार सुझाव दिन्छन्।

सेयर बजार जानकार महेश रिजालका अनुसार  एउटा लगानीकर्ताले दीर्घकालीन रूपमा वाणिज्य बैंकमा लगानी गर्न चाहेमा  विगतका डिभिडेन्टको इतिहास कस्तो छ ?,  निरन्तर बोनस, लाभांश दिएको छ कि छैन ? कुनै वर्ष ३०–४० प्रतिशत दिने कुनै वर्ष दिँदै नदिने त्यस्तो पनि हुनु भएन र बैंकको सुशासन, चुक्ता पूँजी, आरओई, पीई, नेटवर्थलगायतका परिसूचक हेर्नुपर्छ। वाणिज्य बैंकको कारोबारलाई हेर्दा हिजोको दिनमा यसको चुक्ता पुँजी ५० करोड थियो तर बढाएर ८ अर्ब रुपैयाँ अनिवार्य गरियो।

अहिले त हेर्दाहेर्दै एउटै वाणिज्य बैंकको ३५ अर्ब रुपैयाँ हाराहारीको चुक्ता पुँजी पुगिसक्यो। चुक्ता पुँजी अधिक भएको कारणले पनि वाणिज्य बैंकको सेयर कारोबार नफस्टाएको सेयर विज्ञ रिजालले औंल्याए। तथ्यांक हेर्दा पनि चुक्ता पूँजी अत्यधिक छ। ग्लोबल आईएमईकै ३५ अर्ब,  नेपाल इन्भेस्टमेन्ट मेगाको ३४ अर्ब, नबिलको २७ अर्ब, कुमारीको २६ अर्ब प्रभुको २३ अर्ब, हिमालयनकोे २१ अर्ब हाराहारीमा चुक्ता पुँजी पुगिसकेको छ। यसबाहेकका बैंकको २० अर्बभन्दा कम ९ अर्बभन्दा माथि चुक्ता पुँजी छ।

करिब १६ वर्षदेखि पुँजीबजारमा रहेर गरेको अध्ययनबारे अनुभव सुनाउँदै सेयरविज्ञ रिजाल अब भविष्यमा स्टक डिभिडेन्ट दिनेभन्दा नगद लाभांश दिने कम्पनीको सेयर मूल्य धेरै तल नझर्ने देखिएको बताउँछन्। ‘बैंकको पुँजी बढ्दै जाँदा त्यो तहको नाफा कायम गर्न बैंकले कमाइ (अर्निङ पर सेयर) पनि बढाउँदै जानुपर्‍यो। पुँजी बढ्दै गयो, कमाइ नबढे। जस्तै ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी चुक्ता पुँजी ३५ अर्ब रुपैयाँ छ। नाफा ५ अर्ब रुपैयाँ गर्‍यो भने यसले पुँजीलाई भाग लगाउँदा ईपीएस थोरै हुन्छ।’ यसकारण यी कुरालाई पनि ध्यान दिएर दीर्घकालीन लगानी गर्दा उचित हुने उनले सुझाए।

अहिले धेरै बैंकको नेप्से इन्डेक्स ११ सयभन्दा पनि तल्लो रेन्जमा आएको छ। दीर्घकालीन लगानी गर्दा यो हेरियो भने उपयुक्त हुने बारे पनि उनले ध्यानाकर्षण गराए। यद्यपि अहिले अर्थतन्त्र गतिविधिहरू चलायमान छैन। कतिपयले कर्जा नतिर्ने अभियान चलाएकाले बैंक नै डिफल्डमा जाने हो कि भन्ने आशंका छ। बैंकको  निष्क्रिय कर्जा (एनपीएल) पनि कत्तिको बढाउँछ ? नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पहिलो त्रैमासबाट लागू हुनेगरी नयाँ नीतिगत व्यवस्था गरेको छ। यी सबैको प्रभाव कस्तो पर्ला भनेर लगानीकर्ताले ध्यान दिएर दीर्घकालीन लगानी गर्दा भने उपयुक्त हुने सेयर बजार जानकार रिजालले जानकारी दिए।

यस्तै अर्का सेयर बजारसम्बन्धी जानकार कृष्ण गिरी अहिले बैंकको सेयर मूल्य पनि धेरै कम भएर प्रतिसेयर मूल्य डेढ सय, २ सय रुपैयाँसम्म आएकाले प्रतिफलमा आधारित भएर बैंकको सेयरमा लगानी गर्नेे उपयुक्त समय भएको बताउँछन्। उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समग्रमा अर्थतन्त्र क्रमशः लयमा आएको देखिन्छ। बैंकहरूको लगानी क्षमता बढेको छ, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) झरेर औसतमा आएको छ। पहिला प्रवाह भएका बैंकको रिकभरी राम्रो गरे थप व्यवसाय गरेर जान सक्ने स्थिति देखिन्छ।’

धितोपत्र/सेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष

कम्पनीका संस्थापकहरूको स्थिति : जुन कम्पनीको सेयरमा लगानी गर्न चाहेको हो, सो कम्पनीका संस्थापकको शैक्षिक योग्यता, कम्पनी सञ्चालनसम्बन्धी अनुभव, हाल संलग्न पेसा, व्यवसाय र ती व्यवसायको वित्तीय स्थिति, व्यावसायिक छवि, सामाजिक पहिचान, अन्तर्राष्ट्रिय सम्पर्कजस्ता तथ्यबारे जानकारी लिनु पर्दछ।

कम्पनीको वित्तीय स्थिति : कम्पनीको वित्तीय स्थिति अर्थात् सम्बन्धित कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी, ऋण व्यवस्थापन, मुनाफाको स्थिति, आम्दानीको स्रोत, खुद नाफा/नोक्सान, प्रतिसेयर आम्दानी, सञ्चित नाफा, जगेडा कोषहरू, वास्तविक सम्पत्ति, खर्च व्यवस्थापन, कर्मचारीको उत्पादकत्वजस्ता विभिन्न वित्तीय परिसूचकहरूबारे जानकारी लिनु पर्दछ।

व्यवस्थापन समूह : व्यवस्थापन समूहको र कम्पनीमा कार्यरत कर्मचारीको दक्षता र अनुभव, कार्यसम्पादन स्तर, उनीहरूले विगतमा अन्य कुनै निकायको व्यवस्थापनको जिम्मेवारी लिएको भए त्यसको परिणाम, कार्यरत कर्मचारीले कम्पनीको जागिर छोड्ने दरबारे पनि जानकारी
लिनु उपयुक्त हुन्छ।

वस्तु तथा सेवा : कम्पनीले उपलब्ध गराउने वस्तु तथा सेवा र बजारमा तिनको माग तथा आपूर्तिको अवस्था, बिक्री वितरणको स्थिति, दीर्घकालीन माग र बिक्री वितरणको सम्भावना, नयाँ वस्तु तथा सेवा विकासको सम्भावना, सम्भाव्य आर्थिक तथा व्यावसायिक परिवर्तन तथा आर्थिक चक्रमा आफ्नो अस्तित्व बचाई राख्न सक्ने क्षमताका साथै भावी रणनीतिबारे पनि जानकारी लिनु मनासिब हुन्छ।

प्रतिसेयर आम्दानी (ईपीएस) करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिसेयर आम्दानी भन्ने गरिन्छ। कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ। प्रतिसेयर आम्दानी सेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्पूर्ण आधार हो। प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ। कम्पनीको कुल चुक्ता पुँजीले कम्पनीको खुद मुनाफालाई भाग गर्दा आउने भागफल ईपीएस हो। ईपीएस भनेको एक कित्ता सेयर बराबर कति रुपैयाँ कमाइ भयो भनेर हेर्नै परिसूचक हो। कम्पनीको ईपीएस जति बढि भयो त्यति राम्रो हो।

उच्च प्रतिफल दिने कम्पनीको सेयरमा प्रायः लगानीकर्ता आकर्षित हुन्छन्। कम्पनीले गर्ने कुल नाफाभन्दा प्रतिसेयर आम्दानी हेरेर लगानी गर्नु बढी लाभदायक हुन्छ। बढी प्रतिसेयर आम्दानी भएको कम्पनीमा लगानी गर्नु बढी प्रतिफलमूलक हुने गर्छ।

रिटर्न अन् इक्विटी (आरओई) 

अंग्रेजी भाषाबाट अनुवाद गरिएको–इक्विटीमा प्रतिफल भनेको यसको इक्विटीको सम्बन्धमा व्यवसायको नाफाको मापन हो। शुद्ध आय/औसत सेयरधारकहरूको इक्विटी आरओई हुन आउछ। यो आर्थिक वर्षको शुद्ध आम्दानी बराबर हुन्छ। कुल इक्विटीले भाग गर्दा प्रतिशतको रूपमा व्यक्त गरिन्छ। जुन बैंकको आरओई बढी छ त्यसमा लगानी गर्न राम्रो हुन्छ।

नेटवर्थ भनेको के हो ?

कम्पनीको कुल सम्पत्तिबाट दायित्व घटाउँदा बाँकी रहेको सम्पत्तिबारे यसले जानकारी दिन्छ। कम्पनी कत्तिको बलियो र कमजोर छ भन्ने नेटवर्थ हेरेर थाहा हुन्छ। जति बढि नेटवर्थ बढी हुन्छ त्यो कम्पनी लगानीका लागि राम्रो हो।

कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरूको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो। कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ। नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने सेषका रूपमा पनि बुझ्न सकिन्छ। दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको सेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्नु राम्रो मानिन्छ।

पीई रेसियो 

कम्पनीको मूल्यलाई प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गर्दा आउने भागफल पीई रेसियो हो। जस्तै एक रुपैयाँ मूल्य पर्ने कम्पनीलाई कति मूल्य बढी हालिएको छ भन्ने हो। लगानी गर्न कम्पनीको पीई रेसियो कम भएको राम्रो हो।

क्यापिटल एडिक्विसी रेसियो

बैंकले बोनस सेयर, नगद लाभांश केके दिन्छ भन्ने कुरा क्यापिटल एडिक्विसी रेसियो हेरेर थाहा हुन्छ। सो रेसियो ११ को नजिक छ भने कम्पनीले बोनस सेयर दिनुपर्छ।

कोर क्यापिटल

बैंकको कोर क्यापिटलको स्थिति के छ  भनेर हेर्न सकिन्छ। यो थोरै छ वा धेरै। यो  ८.५ प्रतिशतबाट कति टाढा छ ? यसको आधारमा डिभिडेन्ट दिन योग्य छ भने बोनस सेयरमा दिन्छ नगद लाभांशमा दिन मिल्दैन।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545