Techie IT
शनिबार, असार ७,२०८२

मन्त्री र सचिवका कारण थपियो मेलम्चीमा साढे २ अर्ब भार


काठमाडौं, २४ वैशाख । मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी गर्नुपरेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अघिल्ला खानेपानी सचिव गजेन्द्र ठाकुरले मेलम्ची ठेकेदार सीएमसीलाई दिनुपर्ने ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएका थिए। सीएमसी नफर्किने छाँट देखेपछि खानेपानी मन्त्रालयले नयाँ ठेक्का गर्नुपर्ने भएको हो। यसका लागि मेलम्ची खानेपानी बोर्डले बाँकी कामका लागि दुई अर्ब ५२ करोड रुपैयाँको लागत अनुमान गरेको छ।

लागत अनुमान तय भइसकेको र मेलम्ची बोर्डले निर्णय गरी मन्त्रिपरिषद्बाट पारित गराउने तयारी भइरहेको खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताए। ‘आठदस दिनभित्र हामी (सरकार) मेलम्चीको बाँकी कामको ठेक्का गर्दै र्छाैं’, सचिव शर्माले अन्नपूर्णसित भने।

एक वर्षभित्र मेलम्चीका सम्पूर्ण काम (यांग्री र लार्के मेलम्चीमा मिसाउनेबाहेक) पूरा गरी उपत्यकामा पानी ल्याउने योजना रहेको उनको भनाइ छ। यसका लागि दस वटा भिन्नभिन्न प्याकेज बनाई ठेक्कापट्टा हुने र अनुमानित लागतभन्दा बढी रकम भुक्तानी नपाउने ग्यारेन्टी गरिने उनले बताए।

अघिल्ला सचिव ठाकुरले भगाएको सीएमसीलाई फर्काउने सरकारको प्रयत्न सफल हुन नसकेपछि नयाँ ठेक्का हुन लागेको हो। ठेकेदार सीएमसीले ९७ प्रतिशत काम पूरा गरिसकेको थियो। उसले गत माघ २७ गते उपत्यकामा मेलम्चीको पानी ल्याउने औपचारिक मिति तय गरेको थियो। २४ किलोमिटर सुरुङ र मुहान निर्माणसमेतका लागि सीएमसीले साढे सात अर्ब रुपैयाँमा ठेक्का लिएको थियो। ऊ नआएपछि सुरुङका लागि सरकारले थप रकम खर्च गर्नुपरेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेलम्ची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545