Techie IT
सोमबार, वैशाख २२,२०८२

राम्रो गर्ने, राम्रो बाहेक नगर्ने वर्तमान सरकारकाे नीति हो : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउनुहुँदै गर्न चाहे हुने रहेछ भन्ने आभास जनतामा दिलाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘’दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोक मार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन्।”

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकासका कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उहाँको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्नुहुँदै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताउनुभयो । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545