Techie IT
शुक्रबार, चैत्र २७,२०८२

निर्वाचनको सुरक्षा अवस्था बुझ्न मुख्यसचिव नेतृत्वको टोली कर्णालीमा


जुम्ला । निर्वाचन सुरक्षाको अवस्था बुझ्न नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगेको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौतीको अवस्था बुझ्न मुख्यसचिव नेतृत्वको सचिव स्तरको टोली कर्णाली पुगेको हो । जस अन्तर्गत आइतबार जुम्लामा हेलिकोप्टर मार्फत अनुगमन गरिएको थियो ।

निर्वाचन अनुगमन तथा सुरक्षाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासिनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देल सहितको टोलीले अनुगमन गरेको हो ।

सचिव स्तरीय उच्च टोलीले निर्वाचनको सुरक्षा अवस्था बुझेर फर्किएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल गरेको बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल गरिएको थियो ।

छलफलमा बाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा प्रस्तुति गर्नुभएको थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा जानकारी दिनुभएको थियो ।

मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन भएकाले स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखहरूलाई समन्वय र सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिनुभएको नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।

उहाँका अनुसार मुख्य सचिव सहितको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुँदै मुगु बस्ने तालिका रहेको छ । सोमवार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम लाग्ने तालिका छ ।

रेडियो नेपाल


क्याटेगोरी : समाचार
ट्याग : #शंकरदास वैरागी


तपाईको कमेन्ट लेख्नुहोस्