‘जिरीको समृद्धिका लागि ‘ग्रीन, क्लिन र अर्ग्यानिक जिरी’ अभियान तीव्र

दोलखा । नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र प्रदेश (क) का उम्मेदवार नरबहादुर श्रेष्ठले नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीलाई विशेषगरी पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् ।
जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै नेतृत्वमा आवश्यक पूर्वाधार विकासको काम अगाडि बढिरहेकाले त्यो काम एमालेकै नेतृत्वमा सम्पन्न गरिने विश्वास उनले व्यक्त गरेका छन् । आगामी कार्यकालमा जिरी विमानस्थल सुचारु गरी जिरीलाई पर्यटकीय हबका रूपमा प्रवर्द्धन गरिने प्रतिबद्धता उनको छ ।
चुनावी अभियानका क्रममा आइतबार जिरी पुगेका उम्मेदवार श्रेष्ठले जिरीमा विमानस्थल सञ्चालन नगरी पर्यटकीय गन्तव्य बनाउन नसकिने धारणा व्यक्त गरेका हुन् । ‘यो कृषि फार्मको रूपमा नापी भएको जग्गालाई एयरपोर्टका लागि ल्याउने प्रण गरौँ, हाम्रो पार्टी नेकपा एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस्, मैले सांसद जितुँ वा नजितुँ जिरी एयरपोर्ट बनाउने प्रण गर्दछु । यो नबनाइकन जिरीको विकास हुँदैहुँदैन । किनभने अहिले भइरहेको हेलिप्याडले मात्रै यहाँको चाप थेग्न सकिरहेको छैन । त्यसैले जिरीको उन्नती र प्रगतिका लागि एयरपोर्ट नबनाइ हुँदैहुँदैन,’ श्रेष्ठले भने ।
पर्यटकीय नगरी जिरीको विकास र समृद्धिका लागि ‘ग्रीन, क्लिन र अर्ग्यानिक जिरी’ अभियानलाई तीव्र पारिने पनि उनले बताएका छन् । जिरीका निवर्तमान मेयर टंक जिरेलले अगाडि सार्नुभएको उक्त अभियानलाई आफूहरू निर्वाचित भएपछि पनि तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता उनको छ ।
उम्मेदवार श्रेष्ठले निवर्तमान मेयर जिरेलले गरेका र अगाडि बढाएका कामहरूको उच्च प्रशंसा गर्दै एमालेको नेतृत्वमा अगाडि बढाइएका विकासका योजना र अभियानलाई एमालेकै नेतृत्वमा निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
‘टंकबहादुर जिरेल पहिलो मेयरका रूपमा जिरीमा रहनुभयो । उहाँले विकासको खाकाहरू कोर्नुभयो र जिरीको विकासका लागि धेरै कामहरू गर्नुभएको छ,’ उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘ग्रीन जिरी, क्लिन जिरी र अर्ग्यानिक जिरी भनेर जुन मुभमेन्ट उहाँले चलाउनुभएको छ । यसलाई अहिलेको मेयरसापले पनि निरन्तरता दिनुपर्छ । हामी संघ र प्रदेश सभामा निर्वाचित भइसकेपछि यसलाई जहिले पनि बढावा दिने प्रण गर्दछौँ । व्यक्तिगत रूपमा पनि यो अभियानलाई सघाउन कुनै कसर बाँकी राख्ने छैन ।’
यस्तै जिरी टेक्निकल स्कुल (जिरी प्राविधिक शिक्षालय) जिरीको अर्को आकर्षणको थलो भएको बताउँदै उनले त्यसलाई शैक्षिक हबका रूपमा विकास गरिने बताएका छन् । जिल्लाबाहिरका विद्यार्थीहरूलाई आकर्षण गर्नेगरी त्यसको विकास गरिने उनको योजना छ ।
‘जिरी टेक्निकल स्कुल जिरीको अर्को आकर्षणको थलो हो । गरिब जनताका छोराछोरीले पढ्ने ठाउँ हो । त्यसकारण यो टेक्निकल स्कुल यहाँको समृद्धिको आन्दोलनलाई टेवा दिने चिज हो । मैले सांसद जितेपछि देशभरीकै आकर्षणको थलो बनाएर जिरीलाई आर्थिक रूपमा समृद्ध पार्नेगरी कामको नेतृत्व गर्ने प्रण गर्दछु, प्रतिबद्धता व्यक्त गर्दछु,’ श्रेष्ठको भनाइ थियो ।
त्यस्तै उनले जिरी अस्पतालको सेवाप्रवाहलाई गुणस्तर र प्रभावकारी बनाउने, जंगल र जडिबुटीको समुचित प्रयोग र सदुपयोग गरिने, सामुदायिक विकास, पर्या–पर्यटन, व्यवस्थित बजार र जनजीवीकाका कुरालाई एमालेले विशेष ध्यान दिएर काम गर्दै आएको र आगामी दिनमा त्यसलाई थप उन्नत बनाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
समग्रमा उनले जिरीलाई एजुकेशन हब, टुरिजम हब र अर्ग्यानिक हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । देखिने र देखाउनेगरी काम गर्ने योजना र प्रतिबद्धतासहित अगाडि बढेको नेकपा एमाले दोलखाका उम्मेदवारहरूले गठबन्धनलाई पराजित गरेरै छोड्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्