Techie IT
शुक्रबार, असार ६,२०८२

जनआन्दोलन २०४६ का कमान्डर कांग्रेस नेता घिमिरेको निधन


पाल्पा । २०४६ सालको जनआन्दोलनका कमाण्डरको रुपमा परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको गए राती  ५४ वर्षको उमेरमा निधन भएको छ । जनआन्दोलन २०४६ का जिउँदा सहिदको रुपमा परिचित घिमिरे लामो समयदेखि आन्द्राको क्यान्सर बाट पीडित हुनुहुन्थ्यो । घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको परिवारले जनाएको छ  ।

उहाँ पाल्पाको विकासको लागि सक्रिय, निडर, स्पष्ट व्यक्तिको रुपमा चिनिनुहुन्थ्यो । जनआन्दोलन देखि हरेक राजनैतिक सङ्घर्षमा सँगै सहयात्रा गर्नु भएका नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कल्प पौडेलका अनुसार क्यान्सर सँगै लडिरहनु भएका उहाँलाई स्वास्थ्यमा थप समस्या देखिए पछि १४ दिन अघि अस्पताल भर्ना गरिएको थियो । २०७४ को निर्वाचन पछि आन्द्रामा क्यान्सर देखियो । त्यस पश्चात् निरन्तर उपचारमा हुनुहुन्थ्यो । पछिल्लो समय फोक्सोमा समेत समस्या देखिए पछि थप समस्या उत्पन्न भएको थियो ।

सदा स्पष्ट कुरा राख्ने, निडर, सदा लोकतन्त्रको लागि लागिरहनु हुने व्यक्तिको निधनले अपूरणीय क्षति पुगेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । पञ्चायती शासकहरू विरुद्ध निडर भएर लाग्नु भएका घिमिरेलाई २०४६ साल फागुन ७ गते बाट सुरु भएको जनआन्दोलनको क्रम प्रहरीले मुख्य निशाना बनाएको थियो । प्रजातन्त्र पुर्न बहालीको लागि उहाँ नेतृत्वदायी भूमिका होमिनु भएको थियो । फागुन ७ कै दिन रामपुर बेझाँड बजार बाट जुलुस निकाल्ने क्रममा प्रहरीले गोली चलाउँदा उहाँको सहोदर दाजु सूर्य घिमिरेको निधन भएको थियो । जिल्लाको राजनीतिमा उच्च स्थान बनाउनु भएका घिमिरे विभिन्न तहमा सङ्घर्ष गर्दै २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट प्रतिस्पर्धा गर्नु भएको थियो ।

नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले प्रजातन्त्र स्थापनाका योद्धा, कठोर सङ्घर्ष गर्नु भएका शाहसी, निडर, विचारमा स्पष्ट, समाज र पार्टीको लागि निष्ठापूर्वक लागि पर्ने व्यक्तित्वको निधनले स्तब्ध बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०४६ सालको आन्दोलनमा रामपुरमा कमाण्डरको भूमिका निर्वाह गर्नु भएको उहाँ आदर्शको पर्याय हुनुहुन्थ्यो । उहाँको निधनले कांग्रेस पाल्पालाई मात्र नभै सिङ्गो पाल्पालीलाई स्तब्ध बनाएको छ ।” केन्द्रसँग जिल्लाको विकासलाई जोड्नको लागि महत्त्वपूर्ण भूमिका निभाउनुका साथै कांग्रेस भित्र शान्त र सादगी नेताको छवि बनाउनु भएका घिमिरेको निधनले अतुलनीय क्षति पुगेको विभिन्न राजनैतिक एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूले बताएका छन् । सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरिरहेका छन् ।

घिमिरेको पार्थिव शरीरलाई शुक्रबार दिउँसो १ बजे अन्तिम श्रद्धाञ्जली पश्चात् पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । घिमिरेको श्रीमती सहित दुई छोरा र १ छोरी हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #विजयराज घिमिरे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545