अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।
अहिले कामपाले कानूनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो । कानूनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकीन गरिरहेको छ कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो ।
नक्सा विपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ उहाँले भन्नुभयो । यो कामलाई अभियानका रुपमा सञ्चालन गरिने र महानगरको ३२सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन, महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नुभयो । संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघि बढाउन कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम सुरु गरिएको हो ।
कहाँकहाँ भत्काइए अवैध संरचना
उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएका छन् । त्यस्तै त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख साहको निर्देशनमा हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीन वटा भर्याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ ।
त्यसैगरी विगत दुई दिनमा कामपाले बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानूनविपरीत निर्माण भएका संरचना भत्काएको छ । आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५०भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५०भन्दा बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्याङ रहेको कामपाको भनाइ छ ।
अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउन ३५ दिने सूचना जारी गरिएको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि ती संरचनामा डोजर चलाउन कामपा बाध्य भएको नगर प्रहरी पाण्डेको भनाइ थियो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानूनी दायरामा ल्याउने तयारी छ ।
कामपाको ध्यान असनका फुटपाथ पसलतर्फ
अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान आज असन र इन्द्रचोकमा अस्तव्यस्तरुपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । अहिले यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । सडक पेटीसम्म राखिएको केही सामग्री आज नै हटाए पनि फुटपाथमा राखेका भाँडाकुँडा, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको उहाँको भनाइ थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अवैध संरचना, #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्