Techie IT
सोमबार, वैशाख २२,२०८२

चक्रवर्ती कलेज अनिश्चितकालका लागि बन्द


काठमाडौं । शूल्क विवादका कारण उत्पन्न तनावपछि चक्रवर्ती ल कलेज अनिश्चितकालका लागि बन्द गरिएको छ । कलेज व्यवस्थापनले कुनै कारण नखुलाई कलेज बन्द गरिएको सूचना टाँसेको हो ।

पाँच वर्षे बीए एलएलबीको शुल्क एकैपटक झण्डै चार लाख रुपैयाँ बढाएपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए । कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनले चार दिनअघि कलेजमा तालाबन्दी गरेपछि पठनपाठन हुन सकेको थिएन । हिजो कलेज प्रशासनले जबरजस्ती ताला फुटाएपछि तनाव उत्पन्न भएको थियो ।

आक्रोशित विद्यार्थीहरुले कलेजमा तोडफोड गरेका थिए । त्यसपछि प्रहरी आएर स्थिति नियन्त्रणमा लियो । यस क्रममा प्रहरीको कुटपिटबाट केही विद्यार्थी घाइते भएका छन् । एक विद्यार्थीका टाउको फुटेको छ । यस्तै एकजनाको हात र अर्काको खुट्टा भाँच्चिएको कलेजमा अध्ययनरत अनेरास्ववियूकी केन्द्रीय सदस्य जस्मिन ओझाले जानकारी दिइन् ।

स्थिति नियन्त्रणमा आइसकेपछि कलेजले अनिश्चितकालीन बन्दको सूचना टाँसेको हो । कलेजको शुल्क घटाएर तत्काल पठनपाठन सूचारु गराउन माग गर्दै आजबाट विद्यार्थी संगठनहरु धर्नामा बसेका छन् । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीका विद्यार्थी संयुक्त रुपमा धर्नामा बसेका हुन् । कलेजका प्रतिनिधि भने अनुपस्थित छन् ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको चक्रवर्ती ल कलेजमा शैक्षिक सत्र २०७९ को भर्ना प्रक्रिया सुरु हुँदा अस्वाभाविक रुपमा शुल्क वृद्धि गरिएको थियो । जसअनुसार बीए एलएलबीको शूल्क ७ लाख १६ हजार ४०० रुपैयाँबाट १० लाख ७० हजार रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै एलएलएमको शुल्क ३ लाख २३ हजार २०० बाट ५ लाख ४८ हजार पुर्‍याइएको छ । सोमबार भएको वार्तामा कलेज व्यवस्थापनले शुल्क बढीमा ५० हजार रुपैयाँमात्रै घटाउन सकिने बताएको थियो । विद्यार्थी संगठनहरु त्यसमा असहमत भएका थिए ।

हिजो भएको आन्दोलन दबाउन कलेजले प्रहरीमात्र नभएर बाउन्सरसमेत प्रयोग गरेको आरोप विद्यार्थीले लगाएका छन् । एक विद्यार्थीलाई लाइब्रेरीभित्र थुनेर कुटपिट गरिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #], #breaking, #चक्रवर्ती कलेज अनिश्चितकालका लागि बन्द


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545