पहिराको त्रासले गाउँ रित्तियो

पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् ।
विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ ।
“न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्”, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँड्न्भएका राजुले भन्नुभयो, “पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।” बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उहाँले बताउनुभयो ।
कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् ।
“गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन”, उहाँले भन्नुभयो, “गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।” रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु बताउनुहुन्छ । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ ।
टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।
विपत्ले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उहाँले बताउनुभयो । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उहाँको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।
बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पहिराको त्रासले रित्तियो गाउँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्