कञ्चनपुरका किसानलाई रासायनिक मल डिएपीको अभाव

कञ्चनपुर, ३ असार । रोपाइँ सुरु हुनै लाग्दा कञ्चनपुरका किसानलाई रासायनिक मल डिएपीको अभाव भएको छ । मलको अभावमै किसान रोपाइँ गर्न थालेका छन् ।
अनुदानको मल नपाएका किसानले विगतदेखि नै भारतबाट आउने मलको प्रयोग गरी रोपाइँ गर्दै आए पनि यस वर्ष प्रहरीले भारतीय मल ल्याउने कार्यमा कडाई गरेपछि किसानले मलविना नै रोपाइँ गर्न थालेका हुन् ।
“भारतबाट ठूलो मात्रामा मल तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्दैन”, स्थानीय किसान भन्छन्, “सीमावर्ती बजार क्षेत्रमा अवैधरुपमा भित्र्याइएको भारतीय मल ठूलो परिमाणमा राखिएको छ । किसानले ती क्षेत्रबाट मल खरिद गरेर ल्याए प्रहरीले नियन्त्रणमा लिइ भन्सारमा बुझाउ छ । तस्करी गर्नेलाई छुट छ ।”
चार दिनअघि मात्रै बेलौरी नगरपालिकाको कलकत्ता क्षेत्रबाट मल ल्याउँदै गरेका पाँच जना किसानको मल प्रहरीले शुक्लाफाँटा–१ बन्साहबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ । किसान भन्छन्, “ नेपाली व्यापारीबाटै खरिद गरेर ल्याएका हौँ भनेर अनुरोध गर्दासमेत मल नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।”
“सरकारले मलको पर्याप्त व्यवस्था गर्नुपर्यो”, किसान विजय चौधरीले भन्नुभयो । विकल्पका रुपमा भारतीय मल प्रयोग गर्न दिनुपर्यो । भारतीय मल ल्याउनै नदिने र अनुदानको मल उपलब्ध गराउनै नसक्ने हो भने धानको उत्पादन बढाउन सकिँदैन ।”
अर्का किसान महादेव चौधरी भन्नुहुन्छ, “सरकारले गुणस्तरीय रासायनिक मलको व्यवस्था गर्नका लागि प्रत्येक प्रदेशमा एक वटा मल कारखाना खोल्नै पर्छ । स्वदेशमै मलको उत्पादन भए बाह्य क्षेत्रमा मुख ताक्नुपर्ने बाध्यता हट्छ ।”
केही दिनअघि मात्रै थोरैमात्रामा अनुदानको डिएपी मल आए पनि त्यो मल सबै किसानले पाउन सकेका छैनन् । थोरै किसानले मात्रै मल पाएका छन । रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटेडिङ कर्पोरेसन लिमिटेडसँगसमेत मलको मौज्दात छैन ।
कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँखेतीका लागि ५४६ मेट्रिकटन र धानखेतीका लागि ५८३ मेट्रिकटन रासायनिक मल डिएपी आपूर्ति हुने क्रममा रहेको छ ।
निर्धारण गरिएको कोटामध्ये थोरै मात्रै डिएपी मल धानखेतीका लागि आपूर्ति भएको छ । मल आइपुग्न अझै एक हप्ता बढी समय किसानले कुर्नुपर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख शाहले भन्नुभयो, “मल अझै आइपुगेको छैन । मौज्दात पनि छैन । मल आइपुग्न असारको दोस्रो हप्ता किसानले कुर्नुपर्ने देखिएको छ ।”
उहाँका अनुसार असारको तेस्रो हप्तापछि मात्रै रासायनिक मल युरिया आइपुग्छ । साल्टटेडिङ कर्पोरेसन लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरसँग समेत मलको मौज्दात छैन ।
कार्यालयका प्रमुख दीपक भट्टका अनुसार रासायनिक मल डिएपी असारको पहिलो हप्तामै आइपुग्नेछ । कर्पोरेसनले ८३३ मेट्रिकटन डिएपी मल आपूर्ति गर्न लागेको छ ।
“हप्ता दिनभित्रै पुरै मल आइपुग्छ”, उहाँले भन्नुभयो, “त्यसपछि वितरणको कार्य हुन्छ ।” कर्पोरेसनसँग सिङ्गल सुपर फास्फेट(एसएसपी) र पोटास मल मात्रै मौज्दातका रुपमा रहेको छ ।
मलको आपूर्ति गर्ने दुवै कम्पनीले सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएका छन् । यहाँ कृषि सामग्री कम्पनीले ७० र कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रासायनिक मल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्