Techie IT
सोमबार, वैशाख २२,२०८२

निजामती सेवा दिवसः कर्मचारी सेवाभन्दा प्रक्रियामुखी


निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् ।

सरकारका नीति कार्यान्वयन गराउने तथा सेवाग्राहीको काम गर्ने संस्थाका रुपमा रहेको निजामती प्रशासन सेवा दिनुभन्दा बढी प्रक्रियामुखीमा अल्झेको आरोप लाग्दै आएको छ । कर्मचारीलाई ऊर्जाशिल र व्यावसायिक बनाउने उद्देश्यका साथ दिवसको थालनी गरिएको पूर्वमुख्य सचिव कोइराला बताउनुहुन्छ । “सबैका आ–आफ्ना दिवस हुन्छन् । हाम्रो पनि दिवस मनाऔँ भनेर मेरो पालामा दिवस मनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “जुन उद्देश्यका साथ दिवस मनाउन थालिएको हो । त्यो पूरा भएको छैन । दिवस कर्मकाण्डी मात्र भएको छ ।” कर्मचारी बदनाम हुँदै गएकाले त्यसलाई सुधार गर्नका लागि दिवस मनाउन थालिएको भए पनि कुनै उल्लेखनीय सुधार हुन नसकेको उहाँको भनाइ छ ।

कर्मचारीले आफ्नो सेवा सुविधामा मात्र ध्यान दिएको कोइरालाको आरोप छ । मुलुकको विकास र जनताको सेवासँग सरोकार राख्ने निजामती कर्मचारीले जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उहाँ बताउनुहुन्छ । “कर्मचारीको काम नतिजामुखी भएन । जनताको सधैँ गुनासो रहने गरेको छ ”, कोइरालाले भन्नुभयो, “कर्मचारीले प्रक्रियाभन्दा सेवामुखी हुनुपर्दछ, तर त्यो अहिलेको कर्मचारीमा देखिएको छैन ।” कर्मचारीलाई राजनीतिकबाट मुक्त गराउन सके र उत्प्रेरणा, दण्ड तथा पुरस्कारको व्यवस्था गर्नसके कर्मचारीलाई सुधार गर्न सकिने कोइरालको धारणा छ ।

निजामती दिवस मनाइरहँदा सङ्घीय निजामती ऐन पनि संसद्मा विचाराधीन छ । पूर्वसचिव गोपीनाथ मैनाली कर्मचारीभित्र बिग्रँदै गएको प्रणालीलाई सुधार गर्न, व्यावसायिक सदाचारिता सुधार्न र कर्मचारीको गरिमा बढाउनका लागि वर्षेनी दिवस मनाउने गरिए पनि त्यसो हुन नसकेको बताउनुहुन्छ ।

दिवसलाई कर्मचारी, सरकार र सेवाग्राहीबीच ‘सेवा मेला’का रुपमा चिनाउनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीले नयाँ खोज अनुसन्धानभन्दा पनि आफ्नो व्यक्तित्व विकासमा ध्यान दिने गरेको पाइएको उहाँले बताउनुभयो । “कर्मचारीको जागिरे मानसिकता भयो । उनीहरु जनताको सेवा गर्नेभन्दा पनि चाकडी गर्ने र जागिरमुखी भए”, उहाँले भन्नुभयो, “सेवाग्राहीले भनेको बेला सेवा दिन सकेका छैनन् । आफ्नो फाइदामा मात्र कर्मचारी लागेका छन् ।

एउटा कर्मचारीको सेवा प्रवेशसँगै पढेर कसरी माथिल्लो तहमा बढुवा हुने ध्येय हुन्छ ।” कर्मचारी सेवामुखीभन्दा नी प्रक्रियामुखी भएकोसमेत उहाँको आरोप छ । पूर्वसचिव मैनालीले कर्मचारीले प्रशासन सेवालाई एकाधिकार बनाएकोसमेत बताउनुभयो । “मैले नगरे काम हुँदैन भन्ने मानसिकता कर्मचारीमा छ । मैले सेवा दिने हो किन चाँडो गर्ने भन्ने छ”, उहाँले भन्नुभयो, “समयमा सेवाग्राहीका काम हुन सकेका छैन ।

प्रक्रियामुखी भई नजिता रोक्नका लागि सहयोगी भूमिका कर्मचारीको रहेको छ । सेवाग्राहीको मन र विश्वास जित्न सकेका छैनन् ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीले सोचेजस्तो सेवा दिन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले दिवस मनाउँदा कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी र जिम्मेवार बनाउने भने पनि अहिले अनौपचारिकतामा सीमित रहेको बताउनुभयो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले नेतृत्वका कारण निजामती सेवा सुधार हुन नसकेको बताउनुभयो । बदलिँदो परिस्थितिअनुसार निजामती कर्मचारीको क्षमता विकास गर्न नसक्दा सेवा सोचेको जस्तो हुन नसकेको पोखरेलले बताउनुभयो ।

कानून, निर्देशिका र मापदण्डले छिटोछरितो तथा प्रभावकारी सेवा सञ्चालन गर्न बाधक रहेकाले त्यसलाई संशोधन गरेर सेवा प्रभावकारी बनाउपर्ने उहाँ बताउनुहुन्छ । कर्मचारीलाई रचनात्मक ढङ्गले परिचालन गर्नुको साटो जमघट गराउने थलोका रुपमा मात्र दिवस हुने गरको पोखरेलको आरोप छ ।

“कर्मचारीको मनोबल उठाएर मात्र सेवामुखी दिलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “दिवसमा कर्मचारीलाई मनोबल बढाउन खालका कार्यक्रम ल्याइनुपर्दछ ।”


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निजामती सेवा दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545