सशक्त बन्दै एमाले एकता

काठमाडौं, १ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।
२ जेठकै संरचनामा स्थायी कमिटी बैठक
दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।
तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।
प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।
नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले तीनवटै समूह सहमतिनजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।
प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार छ । ती प्रदेशहरूमा ओली र नेपाल समूह एकजुट छन् । गण्डकी प्रदेशमा एमालेकै सरकार थियो । पछिल्लो समय कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनेको छ । यहाँ एमालेको सरकार जोगाउन ओली र नेपाल समूह एकजुट नै थिए तर सरकार जोगाउन सकेनन् ।
कर्णालीका चार सांसदलाई एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा कारबाही गरिएको थियो । तर, सो कारबाही सर्वोच्चले मान्यता नदिएपछि प्रदेशस्तरबाटै एमाले एकताका लागि दबाब सुरु भएको हो । शीर्ष नेताहरूले समेत अन्य विवादित विषय थाँती राख्दै बैठकबाटै समस्या समाधान गर्न सहमत भएका छन् । यसअघि प्रदेशमा नै असन्तुष्ट बनेका केन्द्रीय तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतसमेत पार्टी एकताको पक्षमा देखिएका छन् । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले एकता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्