बनावटी समाचार प्रेषित गरेर भ्रम छर्ने मिडिया कारबाहीको भागिदार : अध्यक्ष बालकृष्ण बस्नेत

काठमाडौं । गलत ढङ्गबाट बनावटी समाचार प्रेषित गरेर भ्रम छर्ने जुनसुकै मिडिया कारबाहीको भागिदार बन्ने प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ । काउन्सिल मुख्यालयमा आइतबार पदबहाली गर्दैै अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्न कसैलाई छुट नभएको बताउनु भयो ।
काउन्सिल कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्ने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुने स्पष्ट पार्नुभयो । केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन गाह्रो भैरहेको तथा अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै उहाँले अब अनुगमन कडाइसाथ गर्ने जानकारी दिनु भयो ।
उहाँले मुलुकमा बढ्दै गएको छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको सुनाउँदै उहाँले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
‘काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्छु’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ ।’ पत्रकारितामा विकृति विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले त्यसलाई हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । केही गैरजिम्मेवार व्यक्तिका कारण समाजले सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै गएको उहाँको भनाइ थियो ।
“पत्रकारितालाई बदनाम गराउने व्यक्तिहरुका कारण सक्रिय पत्रकार आजित छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय वास्तविक पत्रकारलाई काम गर्न मुस्किल भएको छ, अब काउन्सिल यसमा गम्भीर भएर लाग्छ ।” केहीले अनलाइन र युट्युवका नाममा समग्र पत्रकारितालाई नै बदनाम गर्ने काम गरिएको भन्दै अध्यक्ष बस्नेतले काउन्सिलले त्यस्ता व्यक्ति र संस्थामाथि निगरानी गर्ने स्पष्ट गर्नुभयो । कसले कहाँबाट के कसरी अनलाइन र युट्युव सञ्चालन गरिरहेका छन् रु कुनै अत्तोपत्तो नै नभएको सुनाउँदै उहाँले ती सबैलाई वैधानिक र मर्यादितरुपमा सञ्चालन गराउन काउन्सिलले कदम चाल्ने बताउनुभयो ।
वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने आफ्नो सोच रहेको उहाँको भनाइ थियो । लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा राज्यबाट बढीभन्दा बढी सुविधा दिलाउन काउन्सिलले पहल गर्ने अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो । पछिल्लो समय सञ्चारकर्मीको ध्यान सधैँ नकारात्मक समाचारमा बढी ध्यान केन्द्रित हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “आचारसंहितालाई लत्याउँदै समाजमा अफवाह फैलाउने कार्य बन्द गर्नुपर्छ, काउन्सिल यसमा गम्भीर छ, अटेर गर्नेलाई ऐन अनुसार दण्डको भागिदार बनाउँछौँ ।
सञ्चारमाध्यमको प्रवद्र्धन आवश्यक भएको सुनाउँदै अध्यक्ष बस्नेतले वैज्ञानिक वर्गीकरण गरी बढीभन्दा बढी सेवा सुविधा दिलाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । सरकारले काउन्सिलको महत्व बुझेर नै समयमै अध्यक्ष पदमा नियुक्ति गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पार्नुभयो ।
कोभिड–१९ को महामारीका कारण सञ्चारकर्मीले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि काउन्सिलले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । कोभिड–१९ का कारण ज्यान गुमाउने सञ्चारकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले कोरोनाबाट सङ्क्रमित भइ उपचार गराइरहेकाको श्वास्थ्यलाभको कामना गर्नुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्यसचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिइ सिङ्गो टिम संस्थाको भलाइका लागि लाग्ने बतानुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका बस्नेत मन्त्रिपरिषद्को बैठकले गत बिहीबार काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँलाई शुक्रबार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अध्यक्षमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँ प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १(क) बमोजिम चार वर्षका लागि नियुक्त हुनुभएको हो ।
खुलानेपाल डटकमको सल्लाहकार सम्पादक बस्नेत विसं २०५२ सालमा ‘छलफल’ साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँले २०५७ सालमा ‘कान्तिपुर दैनिक’मा आवद्ध भई सो पब्लिकेशन्सको विभिन्न महत्वपूर्ण जिम्मेवारी संहाल्नु भएको थियो । अध्यक्ष बस्नेतले आमसञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक तह उत्तिर्ण गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्