एमाले विवाद : नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं, ८ वैशाख । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।
पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधिपद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।
स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।
‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौं ।’
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए ।
पार्टी विधानविपरीत पार्टी र सरकारविरुद्ध अराजक गतिविधि मच्चाएको, अनुशासनहीन क्रियाकलाप गरेको र नयाँ दल गठनमा अगुवाइ गरेको भन्दै ओली समूहले नेपाल समूहका प्रतिनिधि सभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई मंगलबार स्पष्टीकरण सोधेको छ ।
नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधिएपछि मंगलबार नै बानेश्वरको अर्याल होटलमा बसेको सो समूहको आकस्मिक बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेको नेता झपड रावलले बताए ।
छलफलमा स्पष्टीकरणको बेहोराबारे छलफल भएको र पूर्वतयारीका साथ स्पष्टीकरण आएको आफूहरूको ठहर रहेको उनले बताए । तोकिएको समयभित्रै उचित जवाफ दिने आफूहरूको तयारी रहेको रावलले जानकारी दिए ।
महाधिवेशनले चयन गरेको अध्यक्ष ओली भएको भन्दै महाधिवेशनको उद्देश्य, पार्टी र विधानविपरीतको काम आफूहरूले नगरेको तर्क गरे । सर्वोच्चको निर्णयअनुसार एमालेलाई पूर्ववत अवस्थामा फर्काउनुपर्छ भन्दा पार्टी विभाजनतर्फ लागेको भन्ने आरोप लगाउनु तर्कसंगत नभएको रावलले बताए ।
नेपाल समूहका सांसद झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, झपट रावल, योगेश भट्टराई, पवित्रा निरौला, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, हिराचन्द्र केसी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको छ ।
यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल समूहका प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले विवाद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्