राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा किनेर बसालेको एकीकृत बस्ती नै जोखिममा
चौतारा । विनासकारी भूकम्पको कारण आफ्नो पुर्खौंली थातथलो छोडेर अन्यत्र जान बाध्य भएका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा खरिद गरेर बसालेको सामूहिक बस्ती नै जोखिममा परेको छ । इन्द्रावती गाउँपालिका वडा नं. ४ भेडिचौर भन्ने ठाउँको २४ घर र बाह्रबिसे नगरपालिका वडा नं. ५ गातीको १२ घर जोखिममा परेको हो । उक्त स्थानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले ०७४ फागुनमा प्रति व्यक्ति दुई लाखको दरले बस्ती विकासको लागि दिएको थियो । अहिले ती बस्ती कतै भाँसिएको, कतै पहिरो गएको, कतै पानीको मुल फुटेको कारण बस्न अयोग्य बनेको छ । जग्गा खोजी गर्नेदेखि अनुदान दिने निकायसम्मले आर्थिक घोटला गरेको आशंका धेरैले गरेका छन् ।
भूकम्पपीडितले आफूहरुले चाहेको ठाउँमा बस्न नदिएर त्यही कमसल ठाउँमा जबर्जस्ती राखेको बताएका छन् । स्थानीय केही व्यक्तिले “हामीले भनेको ठाउँमा नबसे अनुदान नै राक्दिने, भूकम्पपीडितले पाउने रकम नै रोकिदिने” सम्मको धम्कीको कारण आफूहरु असुरक्षित स्थानमा बस्न परेको पीडितले बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक घर बराबर ६ आना जग्गा न्यूनतम हुनुपर्ने भनिए पनि भेडिचौरका विस्थापितहरुले ४ आनाभन्दा बढी जग्गा नपाएको गुनासो गरेका छन् ।
भूकम्पपीडितको नाममा सुरक्षित जग्गा नभएको खण्डमा सुरक्षित जग्गा खरिदको लागि बढीमा दुई लाखसम्म दिने नीति भए पनि सबैले दुई लाख नै पाएको देखाइएको छ । गाउँको सडकसम्म नपुगेको जग्गाको मूल्य प्रति रोपनी एक–डेढ लाख हुने भए पनि ७–८ लाख मूल्यांकन गराएर ठूलो मात्रामा आर्थिक घोटला गरेको आशंका धेरैले गरेका छन् । जुन–जुन ठाउँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान दिएको छ । ती सबै ठाउँमा २ लाखकै दरले भुक्तानी गरिएको देखाइएको छ । सिन्धुपाल्चोकको सबै ठाउँको मूल्य एउटै छ? जान्ने बुझ्नेहरुले प्रश्न गरेका छन् । इन्द्रावती गाउँपालिका वडा नं. १ सिम्पाल काभ्रेबाट विस्थापित भएर वडा ४ को भेडिचौरमा आएका चन्द्रमान तामाङले आफूलाई स्थानीय केही व्यक्तिले विभिन्न आश्वासन दिएर उक्त जग्गा किनाएको बताएका हुन् ।
त्यसैगरी अर्का पीडित नदिएर एकीकृत सामूहिक बस्तीमा जबर्जस्ती ल्याएको बताएका छन् । उनले आफैले राम्रो जग्गा खोजेर बस्न आफूलाई नदिएर त्यो असुरक्षित ठाउँमा ल्याएको गुनासो गरे । पीडित मध्येकी सुकुमाया बम्जनले डेढ लाखमा ६ आना जग्गा आफूले खोजेको तर स्थानीय केही टाठाबाठाले किन्न नदिएको बताएकी हुन् । हाम्ले भनेको ठाउँको जग्गा नकिने आउने सबै पैसा बन्द गर्दिने बताएको गुनासो उनले गरिन् । पानी, बत्ती, सडक केही पनि नभएको गुनासो विस्थापितहरुको छ ।
सिम्पाल काभ्रेबाट विस्थापित भएकाहरुको अवस्थाको बारेमा इन्द्रावती १ का वडाध्यक्ष श्री लामाले भेडिचौरको बस्तीमा क्षति पुग्ने सम्भावना भएको, केही घरहरु समस्यामा रहेको तर त्यो जग्गा खरिदमा आफूहरुबाट कुनै दबाब नदिएको, पुनर्निर्माण प्राधिकरणकै हाकिम र इन्जिनियरसँग बसेर हेरेको जग्गालाई भूगभ विभागका इन्जिनियरले सम्म हेरेको बताए । विस्थापित भएर जाने भनेपछि उक्त स्थानमा जान सिफारिससम्म दिएको र अहिले परेको समस्या समाधान गर्न सक्दो सहयोग गर्ने बताए । त्यसैगरी इन्द्रावती गाउँपालिका ४ का वडाध्यक्ष जगतमान ताल्चाभडेलले विस्थापितहरु आएर बसेको बस्ती, जोखिममा परेको, सुनेको मात्रै तर आफ्नो व्यक्तिगत समस्याको कारण त्यहाँ पुग्न नसकेको बताए ।
जग्गा खोज्ने, दिलाउने, हेर्ने बेलामा आफ्नो उपस्थित नरहेको बताए । विस्थापितले जग्गा खोजे पनि अहिले घरहरु बनाउन लागेको जग्गाभन्दा राम्रो जग्गा आफ्नै भएको र विस्थापितलाई किन्नु पनि भनेको बताए । “मैले चलनचल्तीकै मूल्यमा दिन्छु भनेको थिएँ, उनीहरुले पनि मन पराएका थिए तर पछि किन किनेनन् थाहा भएन” भने । जग्गा खरिदबिक्रीमा अनियमितता भएको भन्ने कुरा आफूले पनि सुनेको उनले बताए । वडाध्यक्ष ताल्चाभडेलले रोडमै छोएको जग्गा नै त्यो मूल्यमा आफू दिन तयार भए पनि त्यो जालोबाट भूकम्पपीडित विस्थापित परिवार उम्कन नसकेको उनले बताए ।
भेडिचौरमा मात्रै होइन बाह्रबिसे नगरपालिका वडा नं. ५ को गातीमा पनि १२ घर जोखिममा परेका छन् । त्यो पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्थापितको लागि किनिदिएको जग्गामा बनेको सामूहिक बस्ती हो । भेडिचौर र गाती मात्रै होइन जिल्लाका विभिन्न ठाउँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खरिद गरिदिएको जग्गा कमसल र अति नै महँगो रहेको कुरा जानकारहरु बताउँछन् । त्यस सम्बन्धमा केही पहिले कुरा उठेको भए पनि अहिले सेलाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चौतारा
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्