Techie IT
बिहीबार, असार ५,२०८२

टोखाबाट पहिलोपटक शीर्ष घरेलु लिगमा प्रतिनिधित्व : श्री भगवती क्लब ‘ए’ डिभिजनमा


काठमाडौँ  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार श्री भगवती क्लबले ऐतिहासिक उपलब्धि हासिल गर्दै ‘ए’ डिभिजन लिगमा स्थान बनायो। क्लबका समर्थकहरूले बाजागाजा र उल्लासका साथ यस ऐतिहासिक जितको खुसी मनाए। सबैको एउटै भनाइ थियो – “यत्तिको क्लब त ‘ए’ डिभिजनमै हुनु पर्थ्यो।”

यो जितसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाले पनि अब घरेलु फुटबलको उच्च तहमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ। जब श्री भगवती ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गर्नेछ, क्लबका समर्पित समर्थकहरू मैदानमा झनै जोशका साथ उपस्थिति जनाउनेछन्।

निर्णायक खेल, ऐतिहासिक जित

सहिद स्मारक ‘बी’ डिभिजन लिगको १२औं चरणको अन्तिम खेल श्री भगवती क्लब र ब्वाइज युनियनबीच निर्णायक बन्यो। भगवतीले ब्वाइज युनियनलाई २–१ ले हराउँदै ‘ए’ डिभिजनमा प्रमोसन सुनिश्चित गर्‍यो।

यदि ब्वाइज युनियनले जितेको भए, प्रमोसनको निर्णय अन्तिम चरणसम्म पुग्थ्यो। तर भगवतीले अपराजित यात्रालाई कायम राख्दै दोस्रो स्थानमा रहँदै प्रमोसन हासिल गर्‍यो। यसअघि प्लानिङ ब्वाइजले च्याम्पियन बन्ने साथ ‘ए’ डिभिजनको टिकट कटाइसकेको थियो।

कोच र कप्तानको खुसी

क्लबका प्रशिक्षक महेश श्रेष्ठले सफलताको श्रेय कडा मिहिनेत र समर्थकहरूको निरन्तर साथलाई दिए। “हाम्रो समर्थक १२औं खेलाडी हुन्। उनीहरूको हौसलाले हामी अझ बढी प्रेरित भयौं,” उनले भने।

क्लबका कप्तान उर्केन शेर्पा र प्रमुख खेलाडी शिशिर लेखी पनि प्रमोसनको सफलताप्रति अत्यन्तै खुसी देखिए। शिशिरले भने, “बढुवाको यात्रामा केही उतारचढाव आए तापनि, हामीले निर्णायक खेलमा राम्रो प्रदर्शन गर्दै अपराजित रुपमा ‘ए’ डिभिजनमा उक्लन सक्यौं।”

खेलको विवरण

खेलको छैटौं मिनेटमा शिशिर लेखीले गोल गर्दै टिमलाई अग्रता दिलाए भने, ३८औं मिनेटमा अजित लामाले दोस्रो गोल थपे। ब्वाइज युनियनका लागि सन्जीव लामाले ७९औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे तापनि, त्यो सान्त्वनाभन्दा बढी बन्न सकेन।

यो जितपछि श्री भगवती क्लबको १२ खेलबाट २६ अंक पुगेको छ — ७ जित र ५ बराबरी। क्लबलाई अब तेस्रो स्थानको टिमले उछिन्न सक्दैन।

अन्य खेलको परिणाम

मंगलबारकै अर्को खेलमा अन्नपूर्ण आरसीटी र वीरगन्ज युनाइटेडबीच १–१ को बराबरी भयो। आरसीटीले प्रज्वल गुरुङको गोलमार्फत अग्रता लिए तापनि, वीरगन्जका सागर थारुले बराबरी गोल फर्काए। यस नतिजासँगै आरसीटीले १५ अंक जोड्दै ११औं स्थानमा पुगेर रेलिगेसनबाट जोगियो।

त्यस्तै, टुसाल युवा क्लब रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ। यसअघि नै नयाँबस्ती क्लब ५ अंकमै सीमित हुँदै पुछारमा रहँदै रेलिगेसनको पहिलो शिकार बनिसकेको थियो।

अब बुधबारदेखि १३औं तथा अन्तिम चरणका खेल सुरु हुनेछन्, जसले लिगको अन्तिम वरीयता निर्धारण गर्नेछ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #श्री भगवती क्लब


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain with Thunder
5:06 am7:03 pm +0545