Techie IT
बुधबार, पुस २,२०८२

बर्दिबास साहित्यको हीरक अङ्कमा हिरा गौतमको अक्षयकोष घोषणा


जीवनराज (बर्दिवास)
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क) बर्दिबासमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बर्दिबास नगरपालिका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमले प्रतिष्ठानको साहित्यिक यात्रालाई प्रशंसनीय ठहर गर्दै संस्थाका लागि वार्षिक एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मिति २०८२ साल मंसिर २७ गते शनिबार सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि गौतमले ७५ अङ्क अंकित दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै २०७४ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य, संस्कृति र सामाजिक चेतनाको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । उनले स्थानीय तहले यस्ता संस्थासँग सहकार्य गर्दै साहित्यिक गतिविधिलाई अझ सशक्त बनाउनु आवश्यक रहेको धारणा राखे ।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा नियमित साहित्यिक शृङ्खला सञ्चालन भयो भने दोस्रो चरणमा बन्दसत्र आयोजना गरियो । प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष जीवनस्पर्शीले स्वागत मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का, बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना प्रमुख निर्मल घिमिरे, जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष मोहमद कामरुदिन नदाफलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कविता, गीत, गजल र मुक्तक वाचनले कार्यक्रमलाई साहित्यिक रूपमा समृद्ध बनाएको थियो । सारङ्गी वादक सुमन सारङ्गीको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो भने समीक्षा परियारको गायनले विशेष उत्साह थपेको थियो । जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताए ।

दोस्रो चरणको बन्दसत्रमा अध्यक्ष रामचन्द्र पौडेलले कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै पुरानो समिति विघटन गरेपछि सर्वसम्मत रूपमा नयाँ समिति गठन गरिएको छ । नवगठित समितिमा अध्यक्ष यशोदा श्रेष्ठ चयन भएकी छन् ।

कार्यक्रमको समापनमा निर्वतमान अध्यक्ष रामचन्द्र पौडेलले प्रमुख अतिथि हिरा गौतमप्रति विशेष आभार व्यक्त गर्दै उनको प्रतिबद्धताले प्रतिष्ठानको भावी यात्रामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्