यस्तो छ नेकपा जिल्ला एकीकरण नेतृत्व छान्ने मापदण्डमै विवाद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण अड्किएको छ । प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला एकीकरणसम्बन्धी प्रतिवेदन बुझाएको तीन महिना पुगे पनि केन्द्रीय सचिवालयमा नेतृत्व चयनको मापदण्डमा सहमति नहुँदा जिल्ला एकीकरण अड्किएको हो । तलै सर्वसम्मत भइसकेका थुप्रै जिल्लाको एकीकरणलाई पनि केन्द्रीय सचिवालयले अनुमोदन गरिसकेको छैन ।
यस्तो छ, जिल्लाको मापदण्ड विवाद
महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा जिल्ला अध्यक्ष, सोसरहको जिम्मेवारीमा रहेका व्यक्ति वा त्यसभन्दा माथिल्लो कमिटीमा रहेकामध्येबाट जिल्ला अध्यक्ष वा सचिव बनाउन सकिने गरी मापदण्ड प्रस्तुत गरेका थिए । उनको प्रस्तावलाई अध्यक्ष केपी ओली र सचिवालय सदस्य ईश्वर पोखरेलको समर्थन छ । तत्कालीन माओवादीको भागबन्डामा परेको जिल्ला अध्यक्षमा भने धेरै विवाद नभएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भने ‘रिजर्भ’ बसेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले भने पार्टी एकता दुई कमिटीबीचको एकीकरण भएकाले तत्कालीन एमालेको भागमा परेको नेतृत्वमा जिल्लाका पदाधिकारीमध्ये वरिष्ठताका आधारमा चयन गर्ने गरी मापदण्ड तोक्नुपर्ने अडान राख्दै आएका छन् । जनप्रतिनिधिमा निर्वाचित व्यक्तिलाई पार्टीमा कार्यकारी भूमिका नदिने मापदण्ड बनिसकेकाले उनीहरूको सट्टा सिनियर पदाधिकारीमध्येबाट जिल्ला अध्यक्ष वा सचिव चयन गर्नुपर्नेमा नेपाल र खनालको जोड छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला एकीकरणका काम छिटो टुंगो लगाउन केन्द्रीय सचिवालय र स्थायी समिति बैठकको मिति तय भइनसकेको बताए । ‘छिटो टुंगो लगाउनुपर्ने हो, कार्यदलले आफ्नो गृहकार्य गर्दै होला’ श्रेष्ठले भने, ‘गृहकार्य पूरा नभइसकेकै कारण नेतृत्वले बैठकको आवश्यकता तत्काल महसुस नगरेको हुन सक्छ ।’
नयाँ मापदण्डको खोजी
केन्द्रीय सचिवालयमा जिल्ला नेतृत्व चयनसम्बन्धी प्रस्तावित मापदण्डमै विवाद देखिएपछि सहमतिका लागि सबैलाई चित्तबुझ्ने गरी अर्को मापदण्डको खोजी भइरहेको एक नेताले बताए । ‘हामी जिल्लाको एकीकरण पनि छिटो टुंगो लगाउने तयारीमै छौँ । मिति तोक्दा त्यो समयभित्र भएन भन्ने हुन्छ, पहिले तीन महिनामा सक्ने भनेर तोक्दा प्रदेश एकीकरणमै ६ महिना लाग्यो, त्यसैले अब मिति तोक्नु उपयुक्त हुन्न भन्ने लागिरहेको छ’, सचिवालयका एक सदस्यले भने,‘अबको बैठकमा मापदण्डबारे एउटा टुंगोमा पुग्ने प्रयास गरेर कुनै न कुनै आधारमै टेकेर जिल्ला नेतृत्वको चयन गर्नेछौँ ।’
उच्च स्रोतका अनुसार तत्कालीन एमाले र माओवादीबीच भागबन्डाका आधारमा जिल्ला नेतृत्व सचिवालयबाटै टुंगो लगाएर बाँकी सदस्य छान्ने जिम्मेवारी प्रदेश संगठन कमिटीलाई दिने तयारी छ । एकीकरण कार्यदलबाट प्रस्तावित जिल्ला सदस्यहरूको नाममा खासै विवाद नभएकाले जिल्ला नेतृत्व टुंगो लाग्नेबित्तिक्कै जिल्ला कमिटीको एकीकरण पनि टुंग्याउने तयारी छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा जिल्ला एकीकरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्