Techie IT

विशेष

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?

विवाहमा सयौँ पाहुना बोलाउनु सामान्य हो । केही परिवारले हजारौँ पाहुनालाई निम्तो दिन्छन् । तर भारतको बिहारमा एक सांसदकी छोरीको विवाह यस्तो भव्य हुँदै छ, जहाँ पाहुनाको संख्या चार लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यति ठूलो संख्यामा पाहुनालाई खाना खुवाउन अहिले १४ टोली हलवाई (खाना तथा मिठाई बनाउने कुक) दिनरात खटिएका छन् ।

बिहारका विधानसभा सांसद अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहका लागि पटनाको नदवा गाउँस्थित उनको पुर्ख्यौली घरमा भव्य तयारी भइरहेको छ । नोभेम्बर २५ मा हुने विवाहलाई लिएर गाउँ नै उत्सवमय बनेको छ । घरदेखि गाउँका विभिन्न स्थानसम्म सजावट, पाल निर्माण र खानपानको व्यवस्थापनले अहिले तीव्रता पाएको छ ।

विवाहको तयारी करिब २० दिनअघिदेखि नै सुरु गरिएको थियो । अनन्त सिंहको पुर्ख्यौली घरलाई रंगीचंगी बत्ती र फूलले सजाइएको छ । विवाहअघि मंगलबार शिवांगीको हल्दी समारोहसमेत आयोजना गरिएको थियो ।

कार्यक्रममा अनन्त सिंह, पूर्वविधायक नीलम देवी, उनका तीन छोरा अंकित, अभिषेक र अभिनवसहित परिवारका अन्य सदस्य सहभागी भएका थिए ।

चार लाख पाहुनाका लागि तीन स्थानमा खानाको तयारी

विवाहमा चार लाखभन्दा बढी पाहुना आउने अनुमान गरिएकाले एउटै स्थानमा सबैलाई व्यवस्थापन गर्न सम्भव छैन । त्यसैले गाउँका तीन फरक स्थानमा ठूला पाल टाँगिएका छन् । पाहुनाको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खानपानको व्यवस्था पनि सोहीअनुसार मिलाइएको छ ।

अनन्त सिंहको परिवारका लागि पछिल्लो ३५ वर्षदेखि खानपान व्यवस्थापन गर्दै आएका नीरज कुमारका अनुसार चार लाखभन्दा बढी मानिसका लागि भोजको तयारी गरिएको छ । पाहुनाको संख्या अनुमानभन्दा बढी भए पनि खानाको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको उनले बताएका छन् ।

१४ टोलीलाई मिठाई बनाउन भ्याइनभ्याई

यति ठूलो संख्यामा पाहुनालाई भोज खुवाउनु आफैँमा ठूलो चुनौती हो । त्यसैले मिठाई तथा परिकार बनाउन बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट १४ टोली हलवाई बोलाइएको छ । उनीहरू अहिले दिनरात नभनी विभिन्न परिकार तयार पार्न व्यस्त छन् ।

भोजका लागि लालमोहन, गुलाब जामुन र स्पन्ज रसबरीलगायत मिठाई ठूलो परिमाणमा बनाइँदै छ । आयोजकका अनुसार यी मिठाई शुद्ध घिउ प्रयोग गरेर तयार पारिँदै छन् । मिठाई बनाउन दर्जनौँ परम्परागत माटाका चुला निर्माण गरिएका छन् । ठूला भाँडामा दूध उमाल्ने काम भइरहेको छ भने आवश्यक सामग्रीको व्यवस्थापन पनि तीव्र पारिएको छ ।

दूधका ट्यांकरदेखि आसपासका क्षेत्रबाट ल्याइएका ताजा तरकारीसम्म विवाहस्थलमा भित्र्याइएको छ । पाहुनालाई खाना खुवाउन आवश्यक पर्ने खाद्यान्न र अन्य सामग्रीको जोहोमा आयोजक जुटेका छन् ।

भीआईपी पाहुनाका लागि हेलिप्याडसमेत

भारतको बिहारमा सांसद अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहलाई भव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन । विवाह मण्डप र स्टेजलाई भारतका चर्चित ऐतिहासिक संरचना ताजमहल र लालकिल्लाको झल्को दिने गरी सजाइएको छ । विवाहमा आउने विशिष्ट पाहुनाको सुविधाका लागि हेलिकप्टर अवतरण गर्न छुट्टै हेलिप्याडसमेत निर्माण गरिएको छ ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्