Techie IT

राजनीति

ईपीजी प्रतिवेदन असान्दर्भिक भन्दै भारतको पन्छिने रणनीति, नेपाल सरकार किन मौन ?

ईपीजी प्रतिवेदन असान्दर्भिक भन्दै भारतको पन्छिने रणनीति, नेपाल सरकार किन मौन ?

काठमाडौं । नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा पुनर्परिभाषित गर्ने उद्देश्यले दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले आठ वर्षअघि तयार पारेको प्रतिवेदन भारतले असान्दर्भिक भन्दै पन्छाएको छ। सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि सीमा विवाद, व्यापार, पारवहन र सुरक्षा सम्बन्धसम्मका विषय समेटिएको प्रतिवेदनलाई भारतले अहिलेसम्म औपचारिक रूपमा ग्रहण गर्नसमेत मानेको थिएन। अहिले आएर भारतीय विदेश सचिवले प्रतिवेदनलाई विगतको विषय भन्दै असान्दर्भिक घोषणा गरेपछि यसको भविष्य अन्योलमा परेको छ।

दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको र नेपाल तथा भारतका विज्ञले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनबारे भारतीय विदेश सचिव विक्रम मिस्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारत सम्बन्धको नयाँ खाका तयार पार्दा ईपीजी प्रतिवेदनको भूमिका के हुन्छ भन्ने प्रश्नमा उनले प्रतिवेदनलाई विगतसँग सम्बन्धित विषयका रूपमा व्याख्या गरे।

मिस्रीले भने, ‘म यसलाई विगतको विषय मान्छु। हामी यस विषयमा भविष्यलाई हेर्ने दृष्टिकोणबाट अघि बढिरहेका छौँ। पछाडि फर्केर हेर्ने होइन। त्यसैले मेरो विचारमा तपाईंले उल्लेख गर्नुभएको प्रतिवेदन अब सान्दर्भिक छैन।’

उनले प्रतिवेदन औपचारिक रूपमा खारेज गरिएको वा कार्यान्वयन नगर्ने निर्णय भएको स्पष्ट शब्दमा बताएका छैनन्। तर, दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको संयन्त्रको संयुक्त प्रतिवेदनलाई नै असान्दर्भिक ठहर गर्दै नयाँ प्रक्रियाबाट अघि बढ्ने भारतीय संकेतले यसको कार्यान्वयनको सम्भावना कमजोर बनाएको छ।

नेपालका लागि यो सामान्य कूटनीतिक टिप्पणी मात्र होइन। किनकि ईपीजी प्रतिवेदन नेपाल–भारत सम्बन्धमा लामो समयदेखि रहँदै आएका असमझदारी र विवाद समाधान गर्ने साझा आधारका रूपमा तयार गरिएको थियो। त्यसमा नेपालले वर्षौँदेखि उठाउँदै आएका राष्ट्रिय हित र सार्वभौमिकतासँग सम्बन्धित विषय समेटिएका थिए।

प्रतिवेदन तयार भएको आठ वर्षसम्म भारतले त्यसलाई औपचारिक रूपमा ग्रहण नगर्नु र अहिले असान्दर्भिक भन्नुले नेपालको कूटनीतिक प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रतिवेदनका सुझाव भारतको अपेक्षाअनुकूल नभएकै कारण त्यसलाई स्वीकार गर्न अनिच्छा देखाइएको हो भन्ने आशंका पनि यसअघि उठ्दै आएको थियो। अब भारतको पछिल्लो अभिव्यक्तिपछि नेपालले आफ्नो अडान कसरी अघि बढाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ।

के हो ईपीजी प्रतिवेदन ?

नेपाल र भारतबीचको सम्बन्ध सन् १९५० को शान्ति तथा मैत्री सन्धि, खुला सीमा, व्यापार, पारवहन, सुरक्षा, जलस्रोत र जनस्तरको सम्बन्धलगायतका विषयमा आधारित छ। तर समयक्रमसँगै यी सम्बन्धका कतिपय प्रावधान र अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने आवाज नेपालमा उठ्दै आएको छ।

विशेषगरी सन् १९५० को सन्धिलाई असमान भन्दै समयानुकूल संशोधन वा पुनर्लेखन गर्नुपर्ने माग लामो समयदेखि हुँदै आएको थियो। यही पृष्ठभूमिमा सन् २०१४ मा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका चार–चार जना विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूह गठन गर्ने निर्णय गरेको थियो।

त्यसपछि सन् २०१६ मा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा आठ सदस्यीय ईपीजी गठन भयो। नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेषबहादुर थापा संयोजक थिए भने सदस्यमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई थिए। भारतका तर्फबाट भगतसिंह कोश्यारी संयोजक तथा जयन्त प्रसाद, प्राध्यापक महेन्द्र पी. लामा र बीसी उप्रेती सदस्य थिए।

ईपीजीलाई नेपाल र भारतबीच भएका सन्धि, सम्झौता तथा समझदारीको समग्र समीक्षा गर्ने जिम्मेवारी दिइएको थियो। त्यसका अतिरिक्त आपसी विश्वास अभिवृद्धि गर्ने, आर्थिक तथा सामाजिक सम्बन्ध विस्तार गर्ने र बदलिँदो राजनीतिक तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार द्विपक्षीय सम्बन्धलाई नयाँ संस्थागत आधार प्रदान गर्ने उपाय सुझाउनु पनि यसको कार्यादेश थियो।

समूहले सन् २०१६ देखि २०१८ सम्म नौवटा बैठक गर्‍यो। लामो छलफल र अध्ययनपछि सन् २०१८ जुलाईमा संयुक्त प्रतिवेदनलाई अन्तिम रूप दिइयो। सहमतिअनुसार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई संयुक्त रूपमा बुझाउनुपर्ने थियो।

तर प्रतिवेदन तयार भएपछि नै यसको कार्यान्वयन प्रक्रिया अवरुद्ध भयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न औपचारिक समय नदिएपछि नेपालका तर्फबाट पटक–पटक गरिएको आग्रहसमेत सफल हुन सकेन। फलस्वरूप प्रतिवेदन दुवै सरकारसमक्ष औपचारिक रूपमा पुग्न सकेन र सार्वजनिकसमेत हुन सकेको छैन।

प्रतिवेदनका विस्तृत सुझाव सार्वजनिक नभए पनि यसमा सन् १९५० को सन्धि, व्यापार तथा पारवहन, सीमा व्यवस्थापन, जलस्रोत, सुरक्षा र जनस्तरको सम्बन्धलगायतका विषय समेटिएका छन्। पुराना सन्धि तथा सम्झौतालाई वर्तमान राजनीतिक, आर्थिक र सामाजिक यथार्थअनुसार पुनरावलोकन गर्नुपर्ने यसको प्रमुख उद्देश्य रहेको बताइन्छ।

१९५० को सन्धि किन विवादित छ ?

ईपीजी गठन हुनुको प्रमुख पृष्ठभूमिमध्ये सन् १९५० को शान्ति तथा मैत्री सन्धि पनि एक हो। सन् १९५० जुलाई ३१ मा काठमाडौंमा हस्ताक्षर भएको यो सन्धिले नेपाल–भारतबीचको विशेष सम्बन्धलाई संस्थागत आधार दिएको थियो।

सन्धिले दुवै देशका नागरिकलाई एकअर्काको भूभागमा आवतजावत, बसोबास, व्यापार तथा आर्थिक गतिविधिमा विभिन्न सुविधा प्रदान गरेको छ। तर यसका कतिपय प्रावधान नेपालको सार्वभौमिकता र राष्ट्रिय हितका दृष्टिले असमान रहेको भन्दै लामो समयदेखि पुनरावलोकनको माग हुँदै आएको छ।

विशेषगरी सन्धिको धारा ५ मा हतियार तथा सैन्य सामग्रीको आपूर्तिसम्बन्धी व्यवस्था छ। धारा ६ र ७ मा एकअर्काका नागरिकलाई औद्योगिक तथा आर्थिक गतिविधिमा समान सुविधा दिने विषय समेटिएको छ। यी प्रावधानलाई नेपालको स्वतन्त्र निर्णय क्षमता र राष्ट्रिय हितसँग जोडेर बहस हुँदै आएको छ।

सन् १९५० मा हस्ताक्षर भएको सन्धि कार्यान्वयनमा आएको सात दशकभन्दा बढी समय बितिसकेको छ। यसबीच दुवै देशको राजनीतिक व्यवस्था, आर्थिक अवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापक परिवर्तन आएको छ। त्यसैले सन्धिलाई समयानुकूल परिमार्जन गर्नुपर्ने विषय ईपीजीको महत्त्वपूर्ण कार्यसूची बनेको थियो।

तर भारतीय विदेश सचिवले ईपीजी प्रतिवेदनलाई असान्दर्भिक बताए पनि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जारी संयुक्त दृष्टिपत्रमा भने सन् १९५० को सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख छ।

यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको छ– भारतले ईपीजी प्रतिवेदनलाई अस्वीकार गरे पनि त्यसमा उठाइएका विषयलाई नयाँ प्रक्रियाबाट सम्बोधन गर्न चाहेको हो कि पुराना विवादलाई नयाँ सहमतिको आवरणमा ओझेलमा पार्न खोजेको हो ?

ईपीपीबारे नेपाल सरकारको अस्पष्ट अडान

ईपीजी प्रतिवेदनको विषयमा नेपालले विगतमा स्पष्ट रूपमा त्यसलाई ग्रहण गरी कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै आएको थियो। सन् २०२० मे ९ मा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरकारले प्रतिवेदन ग्रहण गर्न तयार रहेको र त्यसका सुझाव कार्यान्वयन गर्नु दुवै देशको हितमा हुने विश्वास व्यक्त गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्मा ईपीजी प्रतिवेदनको विषय उठ्दा भारतसँग नियमित रूपमा छलफल भइरहेको बताएका थिए। सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले नेपाल प्रतिवेदन ग्रहण गर्न तयार भए पनि ईपीजी गठन हुँदाको सहमतिअनुसार पहिले भारतीय प्रधानमन्त्रीलाई बुझाउनुपर्ने भएकाले एकतर्फी रूपमा अघि बढ्न नसकिएको बताएका थिए।

ओलीको भनाइमा दुई वर्षसम्म अध्ययन गरेर तयार पारिएको प्रतिवेदन दुवै देशबीचका समस्या समाधान गर्न र कुनै पनि देशमाथि अन्याय नहुने गरी सम्बन्ध सुधार गर्नका लागि थियो।

तर अहिले परिस्थिति फेरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय विदेश सचिवले प्रतिवेदनलाई नै असान्दर्भिक बताइसकेका छन्। यस्तो अवस्थामा नेपाल सरकारले आफ्नो पुरानो अडान कायम राखेको छ कि नयाँ परिस्थितिअनुसार त्यसलाई परिवर्तन गरेको छ भन्ने स्पष्ट हुन सकेको छैन।

वर्तमान परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले मात्रै औपचारिक रूपमा ग्रहण गर्न सक्ने बताएका थिए। आफूलाई व्यक्तिगत रूपमा प्रतिवेदन स्वीकार गर्ने वा सार्वजनिक गर्ने अधिकार नभएको उनको भनाइ थियो।

मन्त्री खनालले प्रतिवेदनसँग सम्बन्धित जिम्मेवारी र कागजातको साँचोसमेत पूर्वसंयोजक भेषबहादुर थापाबाट बुझेका थिए। यसबाट नेपालले प्रतिवेदनलाई औपचारिक रूपमा त्यागिनसकेको देखिन्छ। तर भारतले त्यसलाई सान्दर्भिक नरहेको बताएपछि सरकारले अब के गर्छ भन्ने विषयमा नयाँ र स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने भएको छ।

ईपीजी प्रतिवेदन सिफारिसमूलक दस्तावेज हो, दुवै सरकारलाई कानुनी रूपमा बाध्यकारी बनाउने सन्धि होइन। त्यसैले यसको कार्यान्वयनका लागि दुवै देशको राजनीतिक सहमति आवश्यक हुन्छ। भारतको सहमतिबिना नेपालले एक्लै प्रतिवेदन कार्यान्वयन गर्न सक्दैन। तर भारतले स्वीकार नगरेकै कारण नेपालले त्यसमा उठाइएका राष्ट्रिय सरोकारका विषय छाड्नुपर्ने पनि होइन।

नेपालसँग के छन् विकल्प ?

भारतले ईपीजी प्रतिवेदनलाई असान्दर्भिक बताइसकेको अवस्थामा नेपालसँग कम्तीमा तीनवटा कूटनीतिक विकल्प छन्।

पहिलो, नेपालले भारतसँग औपचारिक रूपमा प्रतिवेदन ग्रहण गर्न र त्यसका विषयमा छलफल गर्न आग्रह गर्न सक्छ। दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको संयन्त्रले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनलाई एउटा पक्षले मात्रै अप्रासंगिक घोषणा गर्नुले यसको राजनीतिक र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउँछ। त्यसैले नेपालले आफ्नो पुरानो अडानलाई निरन्तरता दिनुपर्छ।

दोस्रो, भारतले ईपीजी प्रतिवेदन स्वीकार नगर्ने हो भने त्यसमा समेटिएका विषयलाई छुट्टाछुट्टै द्विपक्षीय वार्ताको एजेन्डा बनाउन सकिन्छ। सन् १९५० को सन्धि पुनरावलोकन, सीमा व्यवस्थापन, व्यापार तथा पारवहन, सुरक्षा र जलस्रोतका विषयमा औपचारिक वार्ता अघि बढाउन नेपालले पहल गर्न सक्छ। प्रतिवेदन स्वीकार नभए पनि त्यसले उठाएका विषयलाई बेवास्ता गर्न मिल्दैन।

तेस्रो, प्रतिवेदन सार्वजनिक गर्ने विषयमा नेपालले संस्थागत र कूटनीतिक धारणा बनाउन सक्छ। दुवै पक्षबीच भएको गोपनीयता र औपचारिक रूपमा बुझाउने प्रक्रियासम्बन्धी सहमतिलाई ध्यानमा राख्दै यसको कानुनी तथा कूटनीतिक पक्षको अध्ययन गर्न आवश्यक छ। तर प्रतिवेदनलाई वर्षौँसम्म अनिश्चित अवस्थामा राखिरहनु पनि उचित हुँदैन।

अहिलेको मुख्य प्रश्न सरकारले यीमध्ये कुन बाटो रोज्छ भन्ने हो। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिपत्रमा दुई देशबीचको साझेदारीलाई समयानुकूल कानुनी आधारमा अघि बढाउने उल्लेख छ।

भारतले यही दृष्टिपत्रलाई अघि सार्दै ईपीजी प्रतिवेदनलाई पुरानो र असान्दर्भिक बताएको देखिन्छ। प्रतिवेदनका सिफारिसलाई आधार बनाएर अघि बढ्नुभन्दा नयाँ प्रक्रियाबाट सम्बन्ध पुनरावलोकन गर्ने भारतको चाहना देखिएको छ।

भारतीय विदेश सचिवले नयाँ प्रक्रियाको कार्यविधिसमेत अहिलेसम्म तय नभइसकेको बताएका छन्। दुवै देशका परराष्ट्र सचिवस्तरीय छलफल र संयुक्त आयोगजस्ता विद्यमान संयन्त्रलाई प्रयोग गर्न सकिने उनको भनाइ छ।

यसको अर्थ नेपालले अब आफ्नो प्राथमिकता स्पष्ट पारेर नयाँ वार्ताको एजेन्डा तय गर्नुपर्नेछ। ईपीजी प्रतिवेदनलाई नै मुख्य कूटनीतिक उपलब्धिका रूपमा जोगाउने कि त्यसमा समेटिएका विषयलाई नयाँ वार्ताको आधार बनाउने भन्ने निर्णय नेपालको हो। तर जुनसुकै प्रक्रिया अपनाए पनि प्रतिवेदनले उठाएका राष्ट्रिय सरोकारका विषय ओझेलमा पर्नु हुँदैन।

सरकारको अभिव्यक्तिले झन् बढायो आशंका

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनालले ईपीजीमा उठाउने भनिएका विषय संयुक्त दृष्टिपत्रमा सम्बोधन भएको दाबी गरेका छन्।

भारतबाट फर्केपछि पत्रकारहरूसँग उनले भने, ‘नेपाल–भारतबीच भएका १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि–सम्झौताहरूलाई पुनरावलोकन गर्न तयार छ भनेर स्पष्टसँग बोलिसकेपछि ईपीजीभित्र भएका कन्टेन्टहरूलाई पनि सम्बोधन गर्ने गरेर अहिलेको भिजन डकुमेन्ट आएको छ।’

तर मन्त्रीको यो अभिव्यक्तिले सरकारको अडानमाथि थप प्रश्न उठाएको छ। ईपीजी प्रतिवेदनलाई भारतले असान्दर्भिक बताइरहँदा नेपाल सरकारले त्यसलाई नयाँ दृष्टिपत्रले प्रतिस्थापन गरेको जस्तो गरी व्याख्या गर्नु उचित देखिँदैन। किनकि सन्धि तथा सम्झौता पुनरावलोकन गर्न सकिने सामान्य सहमति र ईपीजीले वर्षौँ लगाएर तयार पारेको विस्तृत प्रतिवेदनलाई स्वीकार गरी त्यसका सुझाव कार्यान्वयन गर्ने विषय एउटै होइनन्।

संयुक्त दृष्टिपत्रमा सन्धि पुनरावलोकनको विषय उल्लेख हुनु सकारात्मक हुन सक्छ। तर त्यसले ईपीजी प्रतिवेदनमा उठाइएका सबै विषय समेटेको छ भन्ने सुनिश्चितता छैन। कुन विषय कसरी सम्बोधन गरिएको छ, त्यसका लागि कस्तो समयसीमा र कार्यविधि तय भएको छ भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्छ।

भारतले प्रतिवेदनलाई असान्दर्भिक भनेको अवस्थामा नेपाल सरकारले आफ्नो पुरानो अडान छाडेको हो वा त्यसमा उठाइएका विषयलाई नयाँ वार्तामार्फत अघि बढाउन खोजेको हो भन्नेबारे जनतालाई जानकारी दिन आवश्यक छ। अन्यथा सरकारको पछिल्लो अभिव्यक्तिले भारतको अस्वीकारलाई सहज रूपमा स्वीकार गरेको सन्देश जाने जोखिम रहन्छ।

नेपाल–भारत सम्बन्धमा आर्थिक सहायता, विकास परियोजना, व्यापार र पूर्वाधारका विषय महत्त्वपूर्ण छन्। तर ती विषयमा सहमति हुँदैमा राष्ट्रिय हित, सार्वभौमिकता, सीमा र असमान भनिएका सन्धिसँग सम्बन्धित पुराना मुद्दा ओझेलमा पर्नु हुँदैन।

आठ वर्षअघि दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको संयन्त्रले तयार पारेको प्रतिवेदनलाई भारतले असान्दर्भिक भन्दै पन्छाउँदा नेपाल सरकारले त्यसको स्पष्ट प्रतिवाद गर्न सकेको छैन। न त नयाँ वार्ताको ठोस खाका नै सार्वजनिक गर्न सकेको छ।

नेपालले भारतसँग सम्बन्ध सुधार गर्न चाहनु स्वाभाविक हो। तर सम्बन्ध सुधारको अर्थ आफ्नो राष्ट्रिय सरोकार र पुराना कूटनीतिक अडानबाट पछि हट्नु होइन। त्यसैले सरकारले ईपीजी प्रतिवेदनबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै त्यसमा समेटिएका विषयलाई कुन प्रक्रियाबाट अघि बढाउने हो भन्ने स्पष्ट पार्नुपर्छ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्