प्रधानमन्त्री पत्नी भन्छिन्- केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिलाई लिएर पत्नी राधिका शाक्यले सार्वजनिक असन्तुष्टि प्रकट गरेकी छन् । आफूहरूले केही गलत काम नगरेकाले गालीगलौजले केही असर नगर्ने उनले बताइन् ।
शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । केपी ओलीलाई गिज्याउन र गाली गर्न पाएँ भनेर खुशी हुनेहरुको आफ्नै भविष्य अन्धकार हुने उनले चेतावनी दिइन् ।
शाक्यले भनिन्, ‘जोजो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नुभएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नो खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ भन्ने मेरो विश्लेषण छ ।’
पाठकहरूका लागि रुचिकर हुने ठानी अभिव्यक्तिका केही अंश यहाँ पेश गरिएको छः
मसित धेरै समय नै हुँदैन । म धेरै नै बीजी मान्छे हुँ जस्तो पनि लाग्छ । खासगरी, ०४४ सालमा केपी सरसँग मैले बिहे गरेपछि म यति व्यस्त, यति व्यस्त भएँ कि मैले अहिले जागीर छोडेको १०-१२ वर्ष भइसक्दा पनि रिटायर्ड लाइफ बिताउन पाएको छैन । सायद रिटायर्ड कर्मचारीमा सबैभन्दा व्यस्त मै पो हुँ कि जस्तो पनि लाग्छ ।
मेरो समय धेरैभन्दा धेरै त घर व्यवस्थापन र केपी सरको केयरिङमै जान्छ । कहिलेकाहीँ थोरै समय मसित बच्छ । तर, मेरो एउटा स्वभाव के छ भने अलिकति समय बच्यो भने म त्यस्तो धेरै साथीभाइहरु र परिवारका मान्छेहरुसँग चाहिने नचाहिने गफ गरेर समय बिताउँदिन । अलिकति समय भएपछि मन परेका किताब पढ्ने र लेख्ने गर्छु । बाहिरको अवस्था नियाल्दा हिजोको पञ्चायती व्यवस्थामा कस्तो जीवन बिताउनुपर्यो, जनताले कस्तो समस्या र पीडाहरू भोग्नुपर्यो भन्ने सायद आजका नवजवानलाई थाहा छैन । उहाँहरूले देख्नु भएन, भोग्नुभएन । मैले देखेको छु र भोगेको पनि छु ।
०४६ सालमा नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि यसले गरेका राम्रा नराम्रा सबै कामहरूको अनुभव गर्ने अवसर प्राप्त गरेको छु । त्यसपछि ०६२/६३ सालको आन्दोलन भयो, नेपालमा गणतन्त्र स्थापना भयो । अनि त्यसपछिका पनि हरेक गतविधिहरू मैले देख्ने र बुझ्ने अवसर पाएँ । साथसाथै, मरो जीवन एउटा सानो पारिवारिक लाइफमात्रै छैन । कहिलेकाहीँ लाग्छ, सिंगो राष्ट्रको काम नै मैले थामिराखेको छु । यसरी थाम्नु आवश्यक छ कि छैन त्यो पनि म जान्दिनँ । तर, मलाई देशको कुनै ठाउँमा केही त्यस्तो घटना भएको सुनेपछि त्यसबारेमा आफ्नो भावना व्यक्त गर्न मन लाग्छ । अब यो राम्रो बानी हो कि नराम्रो त्यो पनि थाहा छैन ।
यसरी मेरो क्षेत्रहरु धेरै छन् । विविध क्षेत्रका विविध अनुभवहरू मैले आफूमा संगालेकी छु । मैले यसलाई लिपिवद्ध गरेर कुनै एउटा डकुमेन्ट वा बुक निकाल्न सकेको खण्डमा आजका युवाको लागि अथवा भोलिको युवाको लागि राष्ट्रको सम्पत्तिकै रुपमा अर्पण गर्न सक्छु होला भन्ने मलाई मनमा लाग्यो । मसँग धेरै समय त छैन । अलिअलि गर्दै सुरू गरेँ । कहिले एक पन्ना, कहिले चार लाइन लेख्यो । समय भएको बेलामा दुई पन्ना लेख्यो । टुक्राटुक्रा गरेर विभिन्न समयमा आफूलाई लागेका मनका कुराहरु संग्रह गर्दैगर्दै अन्तिममा मैले एउटा किताबको रूप दिएँ ।
मैले दुईवटा विषयमा मास्टर्स गरेको छु । अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने ?’ भन्ने सुनेँ । म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ । तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन । उहाँको सर्टिफिकेट किन भएन तपाईंहरु सबैलाई थाहा छ । जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ । तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो । उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो ।
उहाँले सबैलाई पढ्नुपर्छ भनेर प्रेरणा पनि दिनुहुन्छ । तर, उहाँले प्रमाणपत्र लिने काम किन गर्नुभएन भने प्रमाणपत्र लिएर कुनै संस्थाको हाकिम बनुँला भन्ने थिएन । एउटा त जेलबाट छुटिन्छ कि छुटिन्न भन्ने नै टुंगो थिएन र छुटिहाले पनि हाकिम भएर राम्रो जिन्दगी बाँच्ने कहिले पनि सोच्नुभएन भन्ने लाग्छ । उहाँको दिमागमा जेलमा बस्दा होस् जेलबाट बाहिर आएपछि होस्, जुनसुकै बेलामा पनि देश र जनताबाहेक अरु केही पनि भएको मैले महसुस गरिनँ ।
कहिलेकाहीँ श्रीमती छ भन्ने पनि सम्झना हुन्छ कि हुन्न भनेर सोध्छु । एकोहोरो यसरी देश र जनताका लागि लाग्नु हुन्छ कि मलाई नै अचम्म हुन्छ । तसर्थ उहाँले प्रमाणपत्र लिने जमर्को गर्नुभएन । आज पढेको छु, यसो छु, उसो छु भन्ने मान्छेहरूले उहाँलाई एउटा अनपढ भनेर चित्रण गरेको सुन्दा साँच्चै भन्नुपर्दा चित्त दुख्छ । मैले दुई डिग्री हासिल गर्न सक्नुमा, मैले यो किताब लेख्न सक्नुमा मेरो प्रेरणाको स्रोत भनेको केपी ओली नै हो । लेख्ने पढ्ने गर, सिकाइ भनेको अन्त्य हुँदैन भनेर दिनहुँ भनेजस्तो घच्घच्याइराख्नु हुन्थ्यो । उहाँको त्यो घच्घचाहट टाल्न नसकेर पनि मैले पढ्ने-लेख्ने र केही गर्ने काम गर्छु । धेरैपल्ट भनेपछि त कति नगर्नु ।
मेरो बुवा त बितिसक्नुभयो, ९० वर्षको आमा र ९५ वर्षको ससुराबा हुनुहुन्छ । उहाँहरूको जीवन र भोगाइ नजिकबाट हेरिराखेको छु । मेरो आमाको स्याहारको लागि मैले मेरो भाइलाई अरु कुनै काम गर्न नदिएर ‘तिम्रो काम, तिम्रो जागिर भनेकै अहिलेको लागि आमाको स्याहार गर्नु’ भनेर मैले जिम्मा दिएको छु । यसमा अरु हामीले गर्ने सरसहयोग त छँदैछ । यति हुँदाहुँदै पनि मैले चाहेजस्तो आमालाई केही गर्न सकिनँ कि भन्ने कहिलेकाहीँ मनमा आउँछ ।
यता ससुरा हुनुहुन्छ ९५ वर्षको । आमाको भन्दा बुवाको हेल्थ अलि राम्रैजस्तो लाग्छ मलाई । मेरो आमाले त अहिले त्यति केही बुझ्न पनि नसकेको जस्तो स्थिति छ । ससुराबुवा चनाखै हुनुहुन्छ । तैपनि उमेरले गर्दा कमजोर हुनु त स्वभाविकै हो । अब हामी यति व्यस्त हुन्छौं, बुवा हुनुहुन्छ तर कहिलेकाहीँ धेरै हेर्न पनि भ्याइँदैन । धेरैजसो बुवा झापा बस्नुहुन्थ्यो । अहिले यतै हुनुहुन्छ । हामीले हेर्न नभ्याएको हुनाले कहिले नन्दहरुलाई बोलाएर त कहिले अरु मान्छेहरूलाई राखेर पनि कम्तीमा उहाँहरूको उत्तरार्द्धको जीवन राम्रो होस् भन्ने हिसाबले सकेको व्यवस्थापन गरेका छौं ।
०००
आजको जमानामा सामाजिक सञ्जालले हामीलाई नकारात्मकतातिर डोहोर्याइरहेको अवस्था छ । त्यो डोहोर्याइको करिब-करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन । हामी कति नै बाँच्छौं अब ? हामी भनेको उत्तरार्द्धतिर पुगिसकेका मान्छे हौं । हामीले हिजो पञ्चायतको दमन त सहँदै आएका मान्छे हौं भने अहिले यस्तो खुल्ला वातावरणमा बस्न पाएका छौं । हामीले सहन सक्दैनौं र ? सक्छौं । तर, जो-जो मान्छेले आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन ।
हामीले यस्तो सहँदै आएको आज हो र ? कति भयो कति नि ! हामीले यस्तो भनेपनि यिनीहरुलाई कति टेन्सन हुन्छ भन्ने लाग्ला, तर हामीलाई टेन्सन हुन्न । हामीले कुनै काम बिराएको छैन, देशविरुद्धको काम गरेको छैन भने किन टेन्सन लिने ? जेजति यो नकारात्मकताको असर भनेको अहिलेका युवा पुस्तालाई हुन्छ र त्यही भएर म विनम्रताका साथ सबलाई अनुरोध भन्न चाहन्छु, यसरी आफ्नो भविष्य र सन्तानको भविष्य बिग्रिने कामहरु कम्तीमा हामी अलिकति पढेलेखेका बुद्धिजीवी भन्ने मान्छेहरूले आजैका दिनदेखि छोड्नुहुन अनुरोध गर्न चाहन्छु ।
आज अहिले यति बोलेँ, भरेदेखि अहो, बुढा कस्तो छ बुढी पनि उस्तै रहेछ भनेर मलाई गाली गर्नुसम्मको कमेन्टहरू आउँछन् । थाहा छ मलाई । तर, मैले यहाँ नराम्रो केही कुरा गरेँ ? गरेजस्तो लाग्दैन । मान्छेहरू कति एकोहोरो भएका हुन्, सही के हो, गलत के हो थाहा छैन । हाहा र हुहुमा जीवन बिताइरहेका छन् । यसले त आफ्नै जीवन बर्बाद पार्ने हो । आजका युवाको यो प्रवृतिले भोलि हाम्रो देश कस्तो होला ? कल्पना गरौं न ।
मेरो किताबको विषयमा कुरा गर्दा, अरुलाई लेख्न लगाएको होला भनेर पनि कमेन्ट आएको देख्छु । नकारात्मक सोच्ने मान्छेहरूले यो भन्नु पनि ठूलो कुरा होइन । बरु म यस्तो कमेन्ट गर्ने मान्छेहरुलाई तपाईंहरू पनि लेख्नुस् भनेर अनुरोध गर्न चाहन्छु ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री पत्नी भन्छिन्- केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्