दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै
काठमाडौं, २८ भदौ । हृदयघातबाट निधन भएका नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैँछ ।
बालुवाटारस्थित उनको निवासबाट उनको पार्थिव शरीर राजकीय सम्मानका साथ शव यात्रा गरी बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।
शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमालेले जनाएको छ ।
शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ-आफ्नो अनुकुलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न अनुरोध गरिएको छ ।
७१ वर्षीय नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर र हिजो बुधबार दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको थियो । त्यसपछि हिजो बुधबार दिउँसो बालुवाटारस्थित घरमा लगेर किरात संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
नेम्वाङको निधनमा सरकारले आज सार्वजानिक विदा दिएको छ । सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ ।
विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मिएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
२०५६ सालदेखि उनी इलाम २ बाट निरन्तर सांसद रहँदै आएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रियसभा सांसद भएका नेम्वाङ २०५१ साल गठित एमालेको पहिलो सरकारमा कानून मन्त्री बनेका थिए । २०६३ सालमा पुनस्थापित प्रतिनिधिसभाको सभामुख बनेका नेम्वाङ त्यसपछि गठित अन्तरिम संसदको पनि सभामुख बने ।
पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष समेत बनेका नेम्वाङकै सक्रियतामा २०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो ।
आदर्श स्कुल, इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहेका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गरेका थिए । उनी महेन्द्ररत्न क्याम्पस, इलाममा बीए पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित भएका थिए । नेपाल ल क्याम्पस, काठमाडौंमा बीएल अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताएका थिए ।
विसं २०४६ को संयुक्त जनआन्दोलन, २०६२/६३ मा शान्तिपूर्ण जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा उनी पटक–पटक हिरासतमा परेका थिए । विसं २०३३ असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गरेका उनी २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित भएका थिए ।
नेम्वाङ छैटौँ महाधिवेशन (२०५४) र सातौँ महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दशौँ राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।
विसं २०३६ देखि नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गरेका नेम्वाङले नेपाल बार एसोसिएसन केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३)का रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियशनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्