कांग्रेस विपरित उम्मेदवार उठेमा उम्मेदवारी दिने चितवनको तयारी

काठमाडौं । स्थानीय तहको चुनावमा कांग्रेसबाट विद्रोह गरेर भरतपुर महानगरमा भूईकटहर चुनाव चिन्हको पक्षमा लागेको समूह गठबन्धनको विपक्षमा उभिएको छ । ३ नम्बर क्षेत्र सहितका चितवनका ३ संघीय क्षेत्र र ६ वटै प्रदेशसभामा उम्मेदवारी दिने अडान लिएको छ । कांग्रेसले गठबन्धनको नाममा उम्मेदवारी नदिएमा ती ठाउँमा उम्मेदवारी दिने जनाइएको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस शुद्धिकरण अभियान नाममा एकिकृत बनेका चितवन कांग्रेसी समूहले गठबन्धन कांग्रेसका लागि घातक रहेको जीकिर गरेका छन् ।
पूर्वसांसद तथा भरतपुर महानगरका मेयर उम्मेदवार जगन्नाथ पौडेलले स्थानीय तहको चुनावभन्दा जनमत बढेकाले गठबन्धन विरुद्ध उम्मेदवारी दिने बताउनुभयो । “चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बन्नेछ, केही राणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्नेछौँ”, उहाँले भन्नुभयो, “गठबन्धनले आघात पु¥याएको छ , हामी रेस्क्यु गर्नेछौँ ।” कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गरेर उम्मेदवार बन्नुभएका पौडेलले भरतपुर महानगरको मेयर पदमा १४ हजार ७ सय २८ मत ल्याउनुभएको थियो । “त्यो बेला १० दिनमात्रैको प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयो”, उहाँले भन्नुभयो, “यसपाली त्यो बेला भूईकटहरमा भोट नहालेका मतदाता सहितका धेरै कांग्रेसी हाम्रो पक्षमा छन् ।”
उहाँले गठबन्धनको बहानामा केन्द्रले पटक पटक चितवन कांग्रेसलाई दमनमा पारेको आरोप लगाउनुभयो । कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहका स्वरहरु आउन थालेको बताउनुभयो । “ चितवनले विद्रोहको नेतृत्व गर्नुपर्ने थियो, चितवन सबैभन्दा बढी दमन परेको छ”, उहाँले भन्नुभयो, “अन्य जिल्लामा समेत विद्रोह भएका छन्, यहाँ जिल्ला नेतृत्व मौन बस्नु लज्जास्पद छ ।” डडेल्धुरा, डोटी, कञ्चनपुर, सिन्धुपाल्चोकले गठबन्धन नमान्ने निर्णय गरिसकेको बताउनुभयो । गठबन्धन नगरी सरकार गठन गर्नै सकिन्न भनेर जनतामा भ्रम छर्न खोजिएको आरोप लगाउनुभयो । विपीको नाम लिने तर सिद्धान्त र विचारनै नमिल्नेसँग म्याच फिक्सिङ गर्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने जीकिर गर्नुभयो ।
कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन ३ नम्बर क्षेत्रबबाट प्रचण्ड विरुद्ध चुनाव लड्न तयार रहेको बताउनुभयो । “कांग्रेस बिग्रेको देखेको छु, थैलीको मुठो बुझाएर टिकट पाउनेहरु छन्”, उहाँले भन्नुभयो, “कोही योग्य फेला परे छोडौला, तर मेरो क्षेत्रमा हसिया हथौडामा भोट हाल्न सकिदैन ।”
उहाँले ६० वर्ष कांग्रेसकै राजनीतिमा लागेको र ५ वर्ष जेल बसेको बताउँदै कांग्रेस सिद्धान्तको विचलनको बाटोमा हिड्न लागेकोमा आरोप लगाउनुभयो । २०१५, २०३६मा कांग्रेसले जित्दा कोहीसँग गठबन्धन गर्न नपरेको बताउँदै कांग्रेस बचाउन कम्युनिष्टसँग मिल्नै पर्ने कुनै कारण नरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्