सौराहामा होटल खुले, ग्राहक आएनन्
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउनुहुन्छ । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उहाँले जानकारी दिनुभयो । जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भन्नुभयो, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उहाँले बताउनुभयो । घिमिरेले थप्नुभयो, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन ।” आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उहाँले बताउनुभयो । होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन ९रेवान०का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउनुहुन्छ ।
लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उहाँको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उहाँको भनाइ छ । सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । तीमध्ये ५६ रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको सङ्ख्या ११० छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत छन् ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन् ।
क्याटेगोरी : पर्यटन
ट्याग : #सौराहामा होटल खुले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्