Techie IT
बिहीबार, साउन २,२०८२

मिठाराम अधिकारी संग कपनवासीको गुहार : नगरसम्म पुग्ने एउटा यातायात व्यवस्था होस् मेयर साब !


काठमाडौं, साउन १। बुढानिलकण्ठ नगरपालिकाको जनशंख्या र मतदातामा  महत्वपूर्ण हिस्सा ओगटेको कपन क्षेत्रका वासिन्दाहरुले निरन्तर रुपमा निकै ठुलो सास्ती  भोग्दै आइरहेका छन।

स्थानीय स्तरमा हुने विकास निर्माण होस् कि व्यक्तिगत कामहोस् त्यसका लागि नगरपालिकाको कार्यालय जानुपर्ने उनीहरुको अनिवार्य आवस्यकता रहेको छ। वडामा सम्पादन हुने बाहेकका काममा वडा नं ८ मा रहेको नगरपालिकाको भवन सम्म पुग्नका लागि अहिले आफ्नो व्यक्तिगत सवारी साधन नभएका नगरवासीहरुले निकै ठुलो सास्ती खेप्दै आएका छन।

साविक कपन रहेको वडा नं १० ,११ र १२ का स्थानीय बासिन्दाहरुले अहिले सार्वजनिक सवारी प्रयोग गरेर नगरपालिकाको भवन सम्म पुग्नका लागि ठुलै युद्ध जितेको झैँ कसरत गर्नु परिरहेको भन्दै स्थानीयहरुले गुनासो गरेको धेरै भैसकेको छ।

कपन क्षेत्रबाट नगरपालिका भवन सम्म पुग्नका लागि अहिले चाबहिल वा सुकेधारा सम्म एउटा सार्वजनिक यातायात प्रयोग गरेर ति स्थानबाट अर्को सवारी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ जसले गर्दा आर्थिक व्यय भार संगै समयको पनि ठुलो नास हुने गरेको स्थानीयहरुले दुखेसो गर्दै आएका छन।

निर्वाचनका दौरान चुनावी प्रतिवद्त्ता पत्रमा सार्वजनिक यातायात वा नगर बस संचालन गर्ने बाचा गरेका राजनीतिक दलहरु पनि यस विषयमा मौन छन वा बेखबर बनेका छन ? यो प्रश्न अहिले कपनका चोक चौराहमा गुन्जिरहेको छ।

चुनावमा उठ्ने नेताहरुको आफ्नो सवारी छदै छ अनि किन जनताको दुख बुझ्नु पर्यो र हैन ? यस विषयमा कुरा गर्दा एक स्थानीयले व्यंग्यात्मक गुनासको व्यक्त गरे। अहिले हिडेर जान पनि घण्टा भन्दा बढी लाग्छ सवारी प्रयोग गर्न त्यो भन्दा बढी सारै सास्ती भयो हो , कम्तिमा तपाइले लेख्दिनु त् पर्यो नि ,कि हैन ? उनले कपन अनलाइनलाई आग्रह सहित प्रश्न गरे।

अहिले बुढानिलकण्ठ नगरपालिकामा धेरै सार्वजनिक यातायातहरु संचालनमा रहेका छन जसले जनतालाई सुविधा दिएका छन तर कपन क्षेत्रबाट नगरपालिका भवन रहेको स्थान सम्म पुग्ने सार्वजनिक यातायात भने संचालनमा छैनन। अहिले भएका सार्वजनिक यातायातलाई नै रुट व्यवस्थापन गर्न सकेपनि जनताले निकै ठुलो राहत महसुस गर्ने देखिन्छ।

कपन क्षेत्रबाट नगरपालिकाको कार्यालय सम्म पुग्ने सार्वजनिक यातायात नहुदा जनतामात्र हैन जनप्रतिनिधि र कर्मचारीहरु  पनि सास्ती खेप्न बाध्य बनेका छन। उहिहरु पनि नगरपालिकामा कुनै कार्यक्रम वा बैठक भएमा पैदल वा दुइ पटक सवारी परिवर्तन गर्दै पुग्नु पर्ने बाध्यता संग जुधिरहेका छन।

त्यसैले अहिले कपनवासी जनताले यहि माटोले जन्माएका नगरप्रमुख मिठाराम अधिकारी संग गुहार माग्दै भनिरहेका छन,  नगरसम्म पुग्ने एउटा यातायात व्यवस्था होस् मेयर साब !

थोरै प्रयासले दिन सक्ने ठुलो राहत : यसमा पनि हुनेछ जनप्रतिनिधि कै हात 

सार्वजनिक यातायात संगै कपन र चुनिखेल क्षेत्रबाट नगरपालिकाको कार्यालय जाने स्थानीयहरुले  मान बहादुर मार्गको प्रवेस बिन्दु स्पेसल चोकको उकालो चढेर मूल सडक हुदै जानुपर्ने बाध्यता रहेको छ। यसले गर्दा कहिलेकाही दुर्घटनाको जोखिम पनि देखिदै आएको छ ।

यसको सरल सामाधानका लागि नगरपालिकाको परिसरभित्र रहेको जग्गामा उचित भर्याङ्गको व्यवसथापन गरेर पार्किंग मिलाउदा सहज रुपमा तल्लो क्षेत्रबाट नै पुग्न सकिने अवस्था रहेको छ।

कपन र चुनिखेलबाट आउने मान बहादुर मार्गको तल्लो भागमा रहेको सार्वजनिक जग्गामा पार्किङ्ग व्यवस्थापन गरेर नगर परिसरको भिरालो जग्गामा भर्याङ्ग व्यवस्थापन गरेमा स्थानीयहरु लामो फन्को र जटिल उकालोको समस्याबाट मुक्त हुने देखिन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मिठाराम अधिकारी संग कपनवासीको गुहार : नगरसम्म पुग्ने एउटा यातायात व्यवस्था होस् मेयर साब !


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:18 am7:01 pm +0545