Techie IT
सोमबार, चैत्र १०,२०८१

संखुवासभाको भौतिक निर्माणप्रति उर्जामन्त्रीको चासो


संखुवासभाको भौतिक निर्माणप्रति उर्जामन्त्रीको चासो

काठमाडौँ, २ फागुन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको भौतिक निर्माणको प्रगतीबारे चासो राख्नुभएको छ ।

संखुवासभाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज उर्जा मन्त्रालयमा सडक विभागका महानिर्देशक रामहरि पोखरेलको टिमलाई बोलाएर यस विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको हो ।

भेटमा मन्त्री खड्काले जिल्लाका विभिन्न सडकहरु तथा पुलहरु ठेक्का लागेर पनि नबन्ने, निर्माण गएका योजनाहरुपनि अलपत्र छोडेर ठेकेदारहरुले गैरजिम्मेवार काम गरेको र सरकारको सम्बन्धीत निकायले समेत पर्याप्त ध्यान दिन नसकेकोमा महानिर्देशक समेतको टोलीलाई सचेत गराउनुभयो ।

मन्त्री खड्काले आयोजना समयमै सम्पन्न नहुने तथा निर्माणाधीन आयोजनासमेत अलपत्र छोड्नाले स्थानीय जनताले ठूलो सास्ती व्यहोर्नुपरेको हुँदा आयोजना निर्माणमा गम्भीरतापूर्वक कार्य गर्न ध्यानाकर्षण गराउनुभयो ।

जिल्लाका विभिन्न सडक खण्डमा निर्माण गर्नुपर्ने १४ वटा पुल र जिल्लाका विभिन्न पालिकालाई जोड्ने सामरिक महत्वका सडकहरु अविलम्व निर्माण प्रारम्भ गर्न अनुरोध गर्नुहुँदै वजेट अभाव हुने परिस्थिती भएमा आफूले अर्थ मन्त्रालयलगायतका निकायसँग समन्वय गरी वजेट अभाव हुन नदिने घोषणा गर्नुभयो ।

सोही सन्दर्भमा मन्त्री खड्काले जिल्लाको उत्तरी क्षेत्रमा रहेका सडकहरुको भौतिक निर्माणमा वजेट अभाव हुन नदिन नेपाल सरकारका अलावा चीनिया राजदूतावासमार्फत चिन सरकारको सहयोग समेत लिन आफूले आवश्यक पहलकदमी लिने बताउनुभयो ।

संखुवासभाको विकास निर्माणमा गम्भीरतापूर्वक चासो व्यक्त गर्नुभएका मन्त्री खड्काले उक्त छलफलमा खाँदबारी–किमाथांका सडक, हेदाङ्नागढी सडक, सभापोखरी सडकलगायतका सबै पालिकालाई सदरमुकाम खाँदबारीसम्म जोड्ने सडकलाई तत्काल अगाडि बढाउनुपर्ने बताउनुभयो ।

यस्तै, सिलिचोङ जोड्ने पुल, प्रस्तावित चक्रपथलगायतका सडकहरु र पुलहरु तत्काल निर्माण प्रारम्भ गर्ने विषयमा सडक विभागका महानिर्देशकको टोलीलाई आग्रह गर्नुभयो ।

संखुवासभा जिल्लाका महत्वपूर्ण भौतिक संरचना निर्माण गर्ने सन्दर्भमा स्रोत, साधनहरुको अपुग या अन्य कुनै समस्या आएमा आफू स्वयम् ती विषयको निराकरणका लागि सम्बन्धीत निकायमा जाने र समस्याको समाधान गर्ने प्रतिवद्धता मन्त्री खड्काले व्यक्त गर्नुभयो । “मैले संखुवासभाका जनतासँग व्यक्त गरेका सम्पूर्ण प्रतिवद्धताहरु स्मरण गरेको छु र ती प्रतिवद्धताहरु पुरा गर्ने सन्दर्भमा म स्वयम् अहोरात्र लागि पर्नेछु,”– उहाँले भन्नुभयो ।

आफूले जनताहरुसँग गरेको प्रतिवद्धताहरुको स्मरण गर्दै केही प्रतिवद्धताहरु पुरा गरिसकेको, केही पुरा हुने चरणमा रहेको र बाँकी रहेका प्रतिवद्धताहरु पुरा गर्न आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।

“पुल नहुँदा सिलिचोङ गाउँपालिका संखुवासभा जिल्ला नै होइनजस्तो भएको छ, सिलिचोङका जनताले साह्रै दुःख पाएका छन् सिलिचोङ जोड्ने पुल निर्माणलाई तत्काल अगाडि बढाउनुहोस्,”– मन्त्री खड्काले भन्नुभयो ।

भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । महानिर्देशक पोखरेलले आगामी वर्षाद् याममा हिलाम्य सडकमा जनताले हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने मन्त्रीसमक्ष बताउनुभयो । उहाँले हालसम्म खाँदबारीदेखि किमाथांकासम्मको ४९ किलोमिटर सडक कालोपत्रे भइसकेको जानकारी गराउनुभयो ।

महानिर्देशक पोखरेलले संखुवासभाका अन्य सडक तथा पुललाई पनि विभागले समयमै सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गर्नुभयो । भेटमा सडक विभागका महानिर्देशक पोखरेलसँगै सडक विभागका उत्तर दक्षिण आयोजना निर्देशक नवीनमान श्रेष्ठ, खाँदबारी किमाथांका सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङ सहभागी हुनुहुन्थ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #उर्जा मन्त्री दिपक खड्का, #उर्जामन्त्री निर्देशन, #जिल्लाको चासो, #बिकास निर्माण, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
6:01 am6:18 pm +0545