Techie IT
सोमबार, चैत्र १०,२०८१

दरबारमार्गको फुटपाथमा महंगो ग्रेनाइट किन ? महानगर भन्छ- सम्पन्नताको झल्को दिन


काठमाडौं । काठमाडौंको व्यापारिक हब दरबारमार्ग दुई-तीन दिनयता सामाजिक सञ्जालमा चर्चामा छ । महंगा क्लब र विभिन्न ब्रान्डेड कम्पनीहरुको लागि परिचित दरबारमार्ग क्षेत्र एकाएक चर्चामा आउनुको कारण हो, यहाँ पुनर्निमाण भइरहेको फुटपाथ ।

दरबारमार्गको सडकपेटीमा काठमाडौं महानगरपालिकाले अहिले ‘ग्रेनाइट’ लगाइरहेको छ । मानिसहरु हिँड्ने बाटोमा मंहगो र चिप्लो ग्रेनाइट बिछ्याइएको भन्दै कतिपयले आलोचना गरिरहेका छन् । केहीले चाहीँ दरवारमार्गको सुन्दरता बढ्ने भन्दै समर्थन जनाएका छन् ।

महानगरले सडकपेटीमा ग्रेनाइट लगाउने काम सुरु गरेको हप्ता दिन बढी भयो । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार दरबारमार्गमा पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।

सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको थियो । त्यसभन्दा माथि ब्रिक सोलिङ र पिसीसी ढलान गरिएको छ । सबैभन्दा माथि ग्रेनाइट विछ््याइँदैछ । शाक्यका अनुसार ग्रेनाइट १६ एमएमसम्म मोटो छ ।

२०८० चैत ६ गते ग्रेनाइट राख्नको लागि सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले ५ करोड १५ लाख रुपैयाँ ठेक्का पाएको थियो । ठेक्का पाएको ९ महिनापछि मात्रै काम सुरु भयो । दरबारमार्गमा फुटपाथ विस्तारकै क्रममा ढलान गर्दासम्म खासै चर्चा भएन । जब ढलान गरिएको सडकपेटीमा ग्रेनाइट राख्न थालियो त्यसपछि मात्रै टिकाटिप्पणी सुरु भएको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रदेखि अभियन्ता उज्ववलविक्रम थापासम्मले ग्रेनाइट विछ्याइएकोप्रति असन्तुष्टि जनाएका छन् ।

 

महानगरपालिकाले नारायणहिटी संग्रहालयको अगाडि प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइरहेको छ । सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै ग्रेनाइट बिछ्याउन थालिएको हो । माघ मसान्तभित्रै काम सकिसक्नुपर्ने थियो । तर, भर्खर मात्रै काम सुरु भएकाले हतारमा छन् कामदारहरु ।

काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर, माइतीघर, चाबहिललगायतका सडकमा फुटपाथ मर्मतको काम गरिरहेको छ । अन्य ठाउँमा ढलान नगरी सिमेन्टको ब्लक राखेर फुटपाथ विस्तार भइरहेको छ । दरबारमार्गमा मात्रै ढलान गरेर ग्रेनाइट राखिएको हो । सडक पेटीमा ग्रेनाइट लगाइएको सम्भवत नेपालमा यो नै पहिलो हुन सक्छ ।

आखिर किन सबैको चासोमा पर्यो त दरबारमार्गको फुटपाथ ? त्यसको एउटै कारण हो पदैल यात्रुको सुरक्षा । ग्रेनाइट चिप्लो हुने भएकाले सडकपेटीमा यो लगाउनु व्यवहारिक नहुने भन्दै बहस सुरु भएको छ । खासगरि वर्षातको बेलामा पैदलयात्रुलाई असुविधा हुने र दुर्घटनाहरू निम्तिन सक्ने चिन्ता धेरैले व्यक्त गरिरहेका छन् । भारतबाट आयात हुने फूल प्रतिवन्ध लगाएका मेयरले अहिले महंगो मूल्यको ग्रेनाइट आयात गरेको भनेर समेत आलोचना भएको छ ।

 

सामाजिक सञ्जालमा भएको बहसकै कारण सर्वसाधरण प्रत्यक्ष हेर्न समेत आइरहेका छन् । सो सडक भएर हिँड्ने अहिले जो कोहीले ग्रेनाइटको बारेमा जिज्ञासा राख्ने गरेका छन् । कसैले ग्रेनाइट छोएर हेर्छन् त कसैले फोटो खिच्छन् । कसैले ग्रेनाइट राखिएको ठाउँमा खुट्टा घिसारेर पनि ट्राइ गरिरहेको देखिन्छ ।

चाबहिलबाट आएका ४३ वर्षीय ओम शर्माले दरबारमार्गको फुटपाथमा ग्रेनाइट हालेको खबर आफूले टिकटकबाट थाहा पाएर वास्तविकता बुझ्न आएको बताए ।

उनी भन्छन्, ‘सबैजनाले ग्रेनाइटमा मान्छे चिप्लिन्छ भनिराखेका छन् । त्यही भएर म पनि चिप्लिन्छ कि चिप्लिदैन भनेर हेर्न आएको हुँ ।’

घरमा लगाउने ग्रेनाइट भन्दा फरक रहेकाले चिप्लिने सम्भावना कम रहेको विश्लेषण उनले सुनाए ।

 

स्थानीय अभियान्ता समेत रहेका ६० वर्षीय गोपाल श्रेष्ठ पनि गैरीधारादेखि ग्रेनाइट राखेको हेर्नकै लागि दरबारमार्ग पुगेका थिए । उनी भने यो कामप्रति त्यति खुसी भएनन् । दरबारमार्गमा मौलिकतालाई ध्यान नदिई मंहगो मूल्यको ग्रेनाइट राखिनु उचित नभएको उनको तर्क छ । बाहिरी रुपमा चिटिक्क भएर मात्र नपुग्ने, ढल निकासीमा पनि ध्यान दिनुपर्ने उनको जोड छ ।

दरवारमार्गको फुटपाथमा काम गरिरहेका कामदार अमृत राई (५३)ले यहाँ दुई खालको ग्रेनाइट राखिन लागेको बताए । राईका अनुसार भुईंमा राखिने ग्रेनाइट खस्रो खालको छ भने बोटविरुवाको गारोमा भने चिल्लो खालको राख्न लागिएको हो ।

उनले नेपालप्रेससँग भने, ‘अहिले त बिहानदेखि बेलुकासम्ममै यही ग्रेनाइट राखेको हेर्न मात्रै मानिसहरु ओइरिएका छन् । जो पनि आउँछ, यो ग्रेनाइटमा मान्छे चिप्लिदैन ? भन्छ । यो खस्रो खालको हो, पानी परेपनि चिप्लिदैन भनेर भन्छु ।’

जानी–जानी कसले मान्छे लड्ने चिप्लो ग्रेनाइट राख्छ होला त ? भन्दै उनले प्रश्न गरे । उनी आफै मेयर बालेन साहले गरेको कामको तारिफ गर्छन् । भन्छन्, ‘यो एकदमै राम्रो काम हो । यस्तो काम अन्त कतै भएको छैन ।’

अधिकांशको जोड- नेपाली ढुंगामा

मेयर बालेन साहले काठमाडौंलाई मौलिक र सांस्कृतिक सहर बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर, उनैले दरबारमार्गको सडकपेटीमा किन विदेशबाट आयातित ग्रेनाइट राख्न खोजेका हुन् त ? धेरैको जिज्ञासा यो पनि छ ।

ग्रेनाइटको साटो नेपालमै उत्पादित, हेर्दा पनि राम्रो र बढी टिकाउ भक्तपुर नेपाली टेराकोटा टाइलहरू, नेपाली हिमालका ढुङ्गाहरू बिछ्याउँनु उपयुक्त हुने गैरीधाराका सम्पदा अभियान्ता श्रेष्ठ बताउँछन् । नेपाली ढुंगा विछ्याइएको भए पैसा पनि स्वदेशमा नै रहने र चिप्लो पनि नहुने उनको तर्क छ । काठमाडौं सुख्खा बन्दै गइरहेकाले जमिनमुनि रिचार्ज गर्नकै लागि भएपनि ग्रेनाइटको साटो ढुंगा लगाउनुपर्ने उनले सुझाव दिएका छन् ।

उनी भन्छन्, ‘काठमाडौंको ग्राउन्ड वाटर रिचार्ज कम छ । सहर पुरै कंक्रिट्याईंलो बनेको छ । ग्रेनाइट प्रयोग गरेपछि बर्खाको पानी सोस्नमा समस्या हुन्छ । त्यसले गर्दा एक त चिप्लिएर लड्ने जोखिम बढी हुन्छ । सतहको पानी जमिनभित्र छिर्न नपाएपछि जल निकासीको पनि उत्तिकै समस्या हुन्छ । जमल एरिया डुवानमा पर्न सक्छ ।’

 

जलनको उपचारमा सहयोग गर्दै आइरहेका अभियन्ता उज्वल थापा टिकटकको नभएर ठिकठाकको शहर बन्नुपर्ने टिप्पणी गर्छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जलनको काम गर्ने भएको ले लगभग हरेक दिन अस्पताल जाने गर्छु । भिजेको चिप्लो मार्बल र ग्रेनाइटमा चिप्लिएर चोट लागेका अनेकौं केस देखेको छु । धेरै वृद्धहरु यो समस्यामा परेका छन् । दरबार मार्गको फुटपाथ देखेर सम्झिएँ । ठीकठाक शहर बन्नु पर्ने टिकटक शहर बन्दै छ ।’

तर, सडक सुरक्षा विज्ञ् आशिष गजुरेलले ग्रेनाइट राख्दा रोइकराइ गर्नुपर्ने अवस्था नभएको बताए ।

उनी भन्छन्, ‘हामी सँधै कमसल अथवा धुलो फुटपाथमा हिँड्नुपर्छ भन्ने छैन । ग्रेनाइट राख्नुहुँदैन, रंगीचंगी बनाउनु हुँदैन भन्ने कतै लेखेको छैन । नियम अनुसारले गर्न मिल्छ । लगानी कहाँ कसरी गर्ने भन्ने कुरा अलिकति अध्ययन चाहीँ गर्दा राम्रो हो ।’

के खस्रो ग्रेनाइट लगाउँदा चिप्लिदैन ?

विज्ञहरुका अनुसार शहरी सुन्दरताको लागि ग्रेनाइट उपयुक्त हुन सक्छ तर, सुरक्षा र मर्मत भएन भने बेफाइदा धेरै छन् । ग्रेनाइट जति खस्रो भए पनि चिप्लिने मार्वल व्यवसायीहरु बताउँछन् । खासगरि पानी परेको बेला खतरनाक सक्ने उनीहरुको भनाइ छ ।

‘पानी परेको बेला ग्रेनाइट ढिला सक्छ, जसले गर्दा चिप्लिएर दुर्घटना हुने जोखिम हुन्छ,’ १० वर्षदेखि मार्वल व्यवसाय गर्दै आएका ओमकार श्रेष्ठले बताए ।

त्यति मात्र होइन राम्रोसँग फिटिङ नहुँदा छिटै क्र्याक आउने र अर्को खर्च हुन सक्ने उनको भनाइ छ ।

उनले थपे, ‘ग्रेनाइट फुटेमा वा भाँच्चिएमा मर्मत गर्न महंगो पर्छ । गर्मी मौसममा ग्रेनाइट बढी ताप सोस्ने भएको हिँड्न असहज पनि हुन्छ । साथै, ग्रेनाइट चाँडै फोहोर पनि हुन्छ ।’

के भन्छ महानगर ?

सामाजिक सञ्जालमा गुनासो आएपछि सोमबार उपमेयर सुनिता डंगोलले ग्रेनाइट सेटिङको निरीक्षण गरिन् । निरीक्षणकै क्रममा उनले फुटपाथ पैदलयात्रामैत्री हुनुपर्ने बताएकी थिइन् ।

काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।

उनले नेपालप्रेससँग भने, ‘म योजना आयोगमा आउनु अघिकै निर्णय रहेछ । अहिले कार्यान्वयन मात्र गराएका हौं । बाहिर चर्चा आएजस्तो चिप्लो छैन ।’

महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य दरबारमार्गलाई भव्य बनाउनको लागि ग्रेनाइट हालिएको बताउँछन् ।

उनी भन्छन्, ‘समयअनुसार परिवर्तन हुँदै जाने हो । ग्रेनाइट राख्दा फुटपाथ चिटिक्कको देखिन्छ । राम्रो पनि भयो, सम्पन्नता जस्तो पनि भयो । त्यही भएर ‘लक्जरियस’ देखाउन राखेको हौं । ग्रेनाइट राख्यो भने चिटिक्क हुन्छ, युनिफर्म हुन्छ भन्ने हिसाबले राखिएको हो ।’

अहिले राखेको ग्रेनाइट नचिप्लिने खालको भएको श्रेष्ठले बताए । सिमेन्टको ब्लक राख्दा र ग्रेनाइट राख्दा १ करोड ५ लाखको मात्रै फरक पर्नेसमेत उनको दावी छ ।

‘अरु भन्दा बलियो हुन्छ र खुइलिँदैन । पछि समस्या नआओस् भनेर त्यस क्षेत्रको ढल, खानेपानी, विजुली लगायतका सबै समस्या समाधान गरेर मात्रै फुटपाथको काम सुरु गरिएको हो,’ उनले भने, ‘केबलहरु अण्डरग्राउण्ड भइसकेको छ । अबको २० औं वर्षसम्म केही गर्न पर्दैन ।’

बैशाख १ गते नयाँ वर्षमा कार्यक्रम हुने भएकाले चैत मसान्तसम्म सम्पन्न गरिसक्न भनिएको छ ।

चिप्लो ग्रेनाइट राखिएको भनेर चिन्ता गर्नेलाई एकपटक फिल्डमै गएर हेर्न उनी अनुरोध गर्छन् ।

‘तपाईंहरु एकपटक फिल्डमा गएर हेर्नुस् । त्यहाँ दुई किसिमको ग्रेनाइट राखिएको छ । एउटा चिप्लो र अर्को खस्रो छ,’ उनी भन्छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दरबारमार्गको फुटपाथमा महंगो ग्रेनाइट किन ? महानगर भन्छ- सम्पन्नताको झल्को दिन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545