Techie IT
सोमबार, चैत्र १०,२०८१

रेखा शर्माविरुद्ध मुद्दा टार्न खोजिएको भन्दै बालेनको रोष, अदालतले के भनेको थियो ?


काठमाडौं । लुम्बिनीकी प्रदेश सांसद रेखा शर्माविरुद्ध बाल श्रम दुरुपयोगमा मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले रोष पोखेका छन् । उनले बालिकालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेको स्टाटस एकैछिनमा भाइरल बनेको छ ।

एउटा अनलाइनको समाचार शेयर गर्दै बालेनले लेखेका छन्, ‘तिम्रो पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, उनी थप भन्छन्, ‘विभेद र अपराध मास्न तथा कुकर्म गर्नेहरुलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

यस्तो छ विवादको जरो

लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको बसाइ काठमाडौंमा पनि छ । केही समयअघि दाङबाट कालीचरण चौधरी र राजकुमारी चौधरीकी छोरीलाई उनले काठमाडौं ल्याएकी थिइन् ।

परिवारको सल्लाहमै काठमाडौंमा उर्मिलालाई लगेको र विद्यालय भर्ना गरेर पढाइरहेको सांसद शर्माको भनाइ छ ।

गत जेठ १४ गते काठमाडौं महानगरको टोली सांसद शर्माको धुम्बाराहिस्थित घरमा पुग्यो । शर्माको घरमा बाल श्रमिक छन् भन्ने विशेष सूचनाको आधारमा महानगरको टोली उनको घरमा पुगेको थियो ।

शर्माको घरमा काम गर्न बसेकी करिब १४ वर्षीया बालिकालाई महानगरको टोलीले भेटाएपछि उद्धार गरेर बाहिर ल्यायो । आठ वर्षदेखि बालिका शर्माको घरमा बालश्रम गर्दै आइरहेको महानगरको टोलीले बतायो । शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको विषय बाहिर आयो ।

शर्माले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता कामहरू लगाउने गरेको बालिकाले बताएको महानगरका कर्मचारीको भनाइ छ । तर बालिकाले पछि अदालतमा पुगेर त्यो भनाइ राखिनन् ।

याे पनि पढ्नुस्:

महानगरले छोरी अपहरण गरेको भन्दै बालेनविरुद्ध अदालत गएका थिए कालीचरण, सर्वोच्चले के भन्यो ?

महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गर्यो । तर, शर्माको घरबाट उद्धार भएकी बालिकाको बुबाले काठमाडौं महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरे । उनले आफ्नी छोरीलाई महानगरले अपहरण गरेको दाबी गरेका थिए । तर, न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको पूर्ण इजलासले रिट खारेज गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको थियो ।

पूर्ण इजलासबाट महानगरपालिकाले बन्दी बनाएको नदेखिएको तर सन्तान संरक्षणको पहिलो दायित्व जैविक अभिभावकमा रहने ठहर भयो । तर, आफू कोसँग बस्ने विषयमा बालिकाले आफैँ निर्णय गर्न पाउने अदालतको निस्कर्ष थियो ।

सोही बमोजिम आफू महानगरको संरक्षणमा बस्ने भनेपछि बालिकालाई काठमाडौं महानगरले आफ्नो संरक्षणमा राख्यो । परमादेशमा बाबु, आमा वा अभिभावकबाट कुनै दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले परिवारबाट अलग गरिएको भन्ने नदेखिएको बताइएको छ ।

परमादेशमा भनिएको छ- निजले आफ्नो खास आर्थिक सामाजिक परिस्थिति समेतका कारण छोरीलाई पढाउन भनी रेखाकुमारी शर्माको जिम्मा लगाई काठमाडौं पठाएको देखिन्छ । निज रेखाकुमारी अभिभावक बनी मिति २०७५।१।१० मा श्री धुम्रवराह माध्यमिक विद्यालयमा कक्षा दुईमा भर्ना गराई हालसम्म निरन्तर अध्ययन गरिरहेको भन्ने पनि देखिन्छ । निज बालिका बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ को उपदफा १ को खण्ड छ बमोजिमको बाबु, आमा वा अभिभावकबाट कुनै दुव्र्यवहार, हिंसा वा बेवास्ता भएको कारणले परिवारबाट अलग गरिएको भन्ने देखिएन ।

उर्मिलाका बाबु कालीचरणले पनि शर्माले पढाउन भनेर सल्लाहमै छोरीलाई काठमाडौं लगेको बयान अदालतमा दिएका थिए । अदालतको आदेशमा उर्मिलाले काठमाडौंमै बसेर पढ्ने इच्छा देखाएकाले काठमाडौं महानगरले बालिग नहुन्जेल परिवारको सल्लाहमा पढाउनुपर्ने जनाएको छ ।

आदेशमा भनिएको छ, ‘उर्मिलालाई भावनात्मक हिसाबले परिवारसँग पुनःमिलन हुनेगरी बुवाआमाको सल्लाहमा काठमाडौं महानगरले नै पढ्ने व्यवस्था गर्नुपर्ने र यसको नियमित अनुगमन गरी प्रत्येक तीन महिनामा अदालतको अनुगमन शाखामा प्रतिवेदन पठाउन महानगरपालिकाको बालकल्याण अधिकारीलाई आदेश गरिन्छ ।’

हेर्नुस् सर्वाेच्चकाे आदेश:


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अदालतले के भनेको थियो ?, #रेखा शर्माविरुद्ध मुद्दा टार्न खोजिएको भन्दै बालेनको रोष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:01 am6:18 pm +0545