न्यूनतम पारिश्रमिक लागू गराइने : नवनियुक्त अध्यक्ष अर्याल
काठमाडौ ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताउनुभयो ।
उहाँले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरवलोकन आवश्यक रहेको धारणा राख्नुभयो । समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । उहाँले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राख्नुभयो ।
पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।
नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उहाँलाई बधाई दिनुभएको थियो । विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्थ्यो । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिका अध्यक्षमा नियुक्त गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्