पर्यटन मन्त्रीमा असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने भट्टराईको घोषणा
काठमाडौँ, १६ साउन । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् ।
मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्ना लागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।
आज बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न पुगेका मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा असफल हुन्छु, मन्त्री पद त्याग्ने छु ।’
आफू सरकारको आलोचक र कठोर समर्थक भएको बताउँदै उनले केही दिनभित्रै आफूले गर्ने कामसहितको प्रतिबद्धता पत्र र मन्त्रालयका कतिपय विवादास्पद कुराहरु सार्वजनिक गर्ने पनि बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको कामलाई तीव्रता दिने जानकारी मन्त्री भट्टराईले बताए । साथै सबैको सहमति जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि अगाडि बढाउने उनले बताए ।
पर्यटनमन्त्री बनेपछि धेरैले बधाइ दिएको बताउँदै उनले त्यो बधाइलाई आफूले चुनौतीको रुपमा लिएको टिप्पणी गरे । ‘सोसल मिडियामा धेरै ठूलो बधाइ मलाई प्राप्त भएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती होजस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ उनले भने ।
नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए । सम्झौतापछि मन्त्री नियुक्त भएकाले भट्टराईसँग करार सम्झौता हुन बाँकी छ ।
मदननगर बल्खुपछि मन्त्री भट्टराई तत्कालीन माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ता परिवारको स्मरणमा बनाइएको स्तम्भमा माल्यार्पण गरेका थिए ।
मन्त्री भट्टराईले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
दैनिक नेपाल बाट
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्