अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, वैशाख १९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइने गरेको बताउनुभएको छ ।
श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षामा लाग्न यस दिवसले प्रेरित गरेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“हाम्रो समाजमा श्रमलाई हेयको दृष्टिले हेर्ने पुरातन मान्यता कुनै न कुनै रूपमा अध्यापि कायमै रहेको देखिन्छ । श्रमलाई सम्मान हैन अपमान गर्ने यही पछौटे संस्कृतिका कारण स्वदेशमा रहँदा निश्चित प्रकारका कामहरू गर्न हिच्किचाउने, तर विदेशमा गएर त्यही काम गर्न बाध्य हुनुपर्ने अवस्था आज धेरै नेपालीले भोगिरहेको यथार्थ हो । तसर्थ, सामाजिक प्रतिष्ठाकै कारण देशका युवाहरू विविध कष्टहरू सहेर पनि वैदेशिक रोजगारीमा जाने वर्तमान अवस्थालाई व्यवहारिक रूपमा बदल्न स्वदेशमै रोजगारीको सिर्जना एवम् श्रमिकको सम्मान हुने वातावरण निर्माण गर्नु अपरिहार्य छ”, सन्देशमा पूर्वराष्ट्रपतिले भन्नुभएको छ ।
नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको तथा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हामी सबैको दायित्व भएको उहाँले स्मरण गराउनुभएको छ ।
श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिले आह्वान गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अन्तर्राष्ट्रिय श्रमिक दिवस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्