इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने

तेलअभिभ — दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन अझै बाँकी छ । पाँच शवको भने गत आइतबार नै पहिचान खुलेको थियो । ती शव स्वदेश पठाउने प्रक्रिया भने अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने
दूतावासका अनुसार तीन दिनभित्र ती शवहरू नेपाल पठाइनेछ । मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो ।
हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शवको पहिचान गर्न एक जना इजरायली नागरिकलाई खटाइएको छ । ‘पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शव पहिचान गर्न स्थानीय एक जनालाई खटाएका छौं,’ उनले भनिन्, ‘तिनले शवको व्यवस्थापन गर्ने र पहिचान गर्ने निकायसँग समन्वय गरिरहेका छन् ।’ प्रतिनिधिसभाको संसदीय समितिले इजरायलमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
हमासको आक्रमणपछि बेपत्ता बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो । हमासले अपहरण गरी बन्धक बनाइएकाहरू १ सय १९ जना रहेको इजरायली सेनाले बताएको छ । आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । अर्का एक घाइते उपचारपछि डिस्चार्ज भएर नेपाल फर्किसकेका छन् । अर्का एक जनाको भने नेपाली दूतावासले आफ्नै निगरानी तथा हेरचाहमा राखेको छ । सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो ।
त्यस्तै इजरायलबाट थप १८ नेपाली नागरिकको मंगलबार उद्धार गरिएको छ । भारत सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकको पनि उद्धार गरिएको हो ।
इजरायलमा ४ हजार ५ सयभन्दा बढी नेपाली कार्यरत छन् । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । एड्भाइजरी नै जारी गरेर इजरायल भ्रमणमा जान रोक लगाइएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्