यस्तो छ एमालेको गण्डकी प्रदेश समृद्ध प्रदेश बनाउने योजना

कास्की। ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै प्रदेशलाई समृद्ध बनाउने उद्घोषसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ भन्ने नाराका साथ एमालेले २४ पेजको प्रतिबद्धतापत्र आइतबार पोखरामा सार्वजनिक गरेको हो ।
एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने स्पष्ट योजना एमालेसँग भएको बताए । उनले करको दर नभई दायरा बढाएर राजस्व वृद्धि गरी प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने बताए ।
प्रतिबद्धतापत्रमा पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद निर्माण गर्ने र यसका लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्नुका साथै वितरण प्रणालीमा आम जनताको पहुँच स्थापित गर्ने उल्लेख गरिएको छ । अबको २५ वर्षमा समृद्ध प्रदेश र सुखी नागरिक निर्माण गर्दै समाजवाद उन्मुख हुने पार्टीको दीर्घकालीन दृष्टिकोण रहेको र प्रदेशका नागरिकलाई सक्षम बनाउँदै समावेशी समाज र सबल अर्थतन्त्र भएको प्रदेश निर्माण गरिने जनाइएको छ ।
पहिलो ३ वर्ष सरकारमा रहेर प्रदेशको संस्थागत विकास र सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हाँसिल गरेको एमालेले जनाएको छ । पर्यटकीय शहरलाई दृष्टिगत गरी सांस्कृतिक, प्राकृतिक र साहसिक
पर्यटनको सम्भावनाको आधारमा प्रदेशमा रहेका पालिकालाई पर्यटकीय पहिचान प्रदान गरी प्रवद्र्धन गरिने जनाइएको छ ।
भूमिको वैज्ञानिक व्यवस्थापन र आधुनिक कृषि विकासका लागि सङ्घीय सरकार र स्थानीय तहसँगको सहकार्यमा भूमि बैंक स्थापना र सञ्चालन गरी व्यावसायिक कृषि आयोजना विकासलाई सहज बनाइने प्रतिबद्धतापत्र उल्लेख गरिएको छ । पोखरा मुग्लिङ सडकखण्डमा फुट पाथ र साइकल लेनको विकास, पोखरालगायत प्रदेशका मुख्य शहरमा वायु प्रदूषण अनुगमन केन्द्र स्थापनाका साथै ताल तथा जलाधार क्षेत्रका उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षण र उपभोगमा स्थानीय समुदायलाई उत्प्रेरित गर्ने र बाँदरको समस्या समाधानका लागि विशेष योजना निर्माण गरी स्थानीय तहसँग सहकार्य गरिने उल्लेख गरिएको छ ।
आधारभूत खानेपानी सेवामा शतप्रतिशत नागरिकको पहुँच स्थापित गराइने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा गण्डकी प्रदेश उज्यालो प्रदेशको सङ्कल्प पूरा गरिने, अल्पसङ्ख्यक, दलित र घरबारविहीन सबै गरिब परिवारलाई आवासको व्यवस्था गरी गरिब घर परिवारको जीवनस्तर उकास्न रोजगारीका लागि सीप प्रदान गरिने बताइएको छ । प्रत्येक वडामा कम्तीमा १ प्राथमिक स्वास्थ्य केन्द्र र प्रत्येक पालिकामा १ अस्पताल निर्माण गरी स्वास्थ्य सेवाका प्राविधिक जनशक्ति व्यवस्थापनसहित सेवा प्रवाहलाई प्रभावकारी बनाइने एमालेले जनाएको छ ।
युवालाई ‘पढाइ कमाइ र दबाइ’का लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिन उत्प्रेरित गरिने, अपाङ्गता भएका व्यक्तिका लागि विशेषशिक्षाको व्यवस्था गर्न विशेष विद्यालय सञ्चालन गरिने, प्रदेशलाई अपुग जनशक्ति व्यवस्थापन गरी सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
एमालेले ‘एक घर, एक रोजगार’ अभियानमार्फत रोजगार नभएको परिवारमा त्यसको व्यवस्था गर्ने घोषणा गरेको छ । एमालेले अब बन्ने प्रदेश सरकारमा प्रदेश प्रहरी ऐन पूर्ण कार्यान्वयनमा ल्याउने, प्रदेशका अन्नपूर्ण, मनास्लुजस्ता संरक्षण क्षेत्रबाट प्राप्त हुने राजस्वको २५ प्रतिशत प्रदेश सरकारले पाउने व्यवस्था गर्ने एमालेको घोषणा छ । त्यसबाहेकको २५ प्रतिशत स्थानीय पालिका र बाँकी सङ्घ सरकारलाई दिने योजना एमालेले बनाएको छ ।
विगतका अभ्यासलाई हेर्दै नागरिकका आवश्यकता र चाहनालाई प्राथमिकतमा राखेर योजना तय भएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए । उनले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका जनाउँदै उनीहरूको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि र प्रदेशसभा निर्वाचन, #यस्तो छ एमालेको गण्डकी प्रदेश समृद्ध प्रदेश बनाउने योजना, #समृद्ध प्रदेश बनाउने एमाले गण्डकी प्रदेशको योजना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्